पक्राउ पर्दैमा सांसदहरूलाई निलम्बन गर्न हुँदैन : ज्ञानेन्द्र शाही

हिमाल प्रेस २७ माघ २०७९ १३:२०
16
SHARES
पक्राउ पर्दैमा सांसदहरूलाई निलम्बन गर्न हुँदैन : ज्ञानेन्द्र शाही फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न नहुने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने बताएका हुन्।

‘जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउन पाइँदैन, यो गर्नै हुँदैन,’ उनले भने, ‘पक्राउ गर्ने र हिरासतमा राख्ने बित्तिकै सबै अधिकार खोसिने हो भने जनताबाट जितेको के महत्त्व भयो? यो त सरकार पक्ष र बलियो पक्षले कुनै पनि बेला यसलाई हतियारको रूपमा प्रयोग गर्न सक्छ।’

शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने बताए।

‘अदालतले फैसला गरी दोषी प्रमाणित भएपछि उसको पद पनि जाने भयो। ऊ निलम्बनमा पर्ने भयो, खारेज नै हुने भयो। त्यो न्यायसंगत छ।,’ उनले भने, ‘यहाँ त संवैधानिक अधिकारको कुरा रह्यो नि। भोलि राष्ट्रपतिमा भोट हाल्ने कुरामा एक जनालाई पक्राउ गर भन्छ। त्यत्तिकै हिरासतमा हाल्दिहाल्छ। भोट हाल्न पनि पाउँदैन।’

उनले अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्बनमा पर्ने कुरा संविधानविपरीत हुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =