त्रिशूली जलविद्युत् केन्द्र आधुनिकीकरण गर्न ७५ करोड खर्चिँदै प्राधिकरण

हिमाल प्रेस २६ माघ २०७९ १५:२३
18
SHARES
त्रिशूली जलविद्युत् केन्द्र आधुनिकीकरण गर्न ७५ करोड खर्चिँदै प्राधिकरण

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका-९ मा रहेको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण गरिरहेको छ।

०२३ सालदेखि सञ्चालनमा रहेको विद्युत् गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र जलाशयमा माटो, बालुवा भरिन थालेपछि आयोजनाको जीर्णोद्धार तथा आधुनिकीकरण गर्न थालिएको हो।

७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत् विद्युत् गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणलाई आधुनिक तथा स्वचालितसमेत बनाइने छ।

नहर सञ्चालनमा रहेकोले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिएको माटो, बालुवा निकाल्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। फागुनभित्रमा जलाशयको पुनर्स्थापना सक्ने लक्ष्यका साथ काम भइरहेको छ। विद्युत् गृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले बिहीबार पुनःस्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ।

जलाशयको पुनःस्थापना भएपछि विद्युत्‌को माग बढी हुने समयमा दैनिक ४ घण्टा चलाउने प्राधिकरणले योजना बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =