अझै सल्टिएन मादी गाउँपालिका केन्द्रको विवाद

विजय नेपाल २६ माघ २०७९ १६:०२
10
SHARES
अझै सल्टिएन मादी गाउँपालिका केन्द्रको विवाद

पोखरा- मादी गाउँपालिकाको केन्द्र कहाँ हुने भन्ने विवाद पेचिलो बन्दै गएको छ। कास्कीको उत्तर पूर्वी मादीको हाल गाउँपालिका केन्द्र वडा नम्बर ३ याङ्जाकोटबाट सञ्चालन हुँदै आएको छ।

सो गाउँपालिकाको केन्द्र दुर्गम भएकाले पायक पर्ने ठाउँमा सार्नुपर्ने माग हुँदै आएको छ। ३ वर्षअघि गाउँपालिकासभाको निर्णयले ४ विकल्पसहित केन्द्र सार्न गण्डकी प्रदेश सरकारसमक्ष सिफारिस गरेको थियो।

२०७७ माघ ५ मा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले याङ्जाकोटबाट मादी-४ स्थित साझा बेतेनीमा सार्न संघीय सरकारलाई सिफारिससमेत गरेको थियो।

तर, सो निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिकाको केन्द्र याङ्जाकोट नै हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे। गत साता सर्वोच्चले सो रिट बदरभागी भएको भन्दै खारेज गरिदिएको छ। २०७७ माघ २३ मा मादी गाउँपालिकाका अर्जुन गुरुङसमेतले ८ जनाले दायर गरेको रिटमा माघ १६ मा न्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो।

वडा ४ बेतेनीमा गाउँपालिका केन्द्र सार्ने भन्ने विषय अहिले संघीय सरकारको मन्त्रिपरिषद्मा पुगिसकेको र सर्वोच्चको फैसलासँगै बेतेनी केन्द्र बन्ने भएको छ। तर यो फैसला तत्काल कार्यान्वयनमा जानेमा भने शंका छ।

मादी गाउँपालिका वडा १ अध्यक्ष देवीजंग गुरुङले फैसला कार्यान्वयनमा चुनौती रहेको बताए। रिट निवेदकमध्येका एक देवीजंगले राज्यको विकेन्द्रीकरणको सिद्धान्त होस् वा संघीय संरचना होस् यसको कार्यान्वयनमा हाल सञ्चालित केन्द्र नै उपयुक्त भएको दाबी गर्छन्। उनले कतिपय संरचना यहाँ बनिसकेको र अब कायम हुने भनिएको बेतेनीमा आवश्यक भौतिक संरचना, पानी, बिजुलीलगायत आवश्यक पर्ने हुँदा तत्काल कार्यान्वयन नहुने उनको भनाइ छ।

त्यसबेला राजनीतिक सहमति र स्थानीय सरकार सञ्चालन ऐनविपरीत, गाउँसभाको निर्णय तोडमोड गरी तत्कालीन गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले प्रदेश सरकारमा सिफारिस गरेको आरोप रिट निवेदकहरूको थियो।

असन्तुष्ट पक्षले विगतमा पनि मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। स्थानीय स्वायत्त शासन ऐन र राजनीतिक सहमतिविपरीत मादीको केन्द्र सार्ने निर्णय गरेको भन्दै स्थानीय कांग्रेस नेता तथा स्थानीय संघर्ष समिति संयोजक नारायण गुरुङको नेतृत्वको समूहले गाउँपालिकामा तालाबन्दीसमेत गरिदिएका थिए। खासगरी केन्द्र सार्ने पक्षमा एमाले र माओवादी केन्द्र लागिपरेका छन्। कांग्रेस विपक्षमा छ।

गाउँपालिकाले चार विकल्पसहित गरेको सिफारिसमा वडा ४ को बेतेनी, वडा ३ को देउराली र त्यसको १ किलोमिटर आसपासको क्षेत्र, वडा ४ को माझाडिही वा त्यस आसपासको क्षेत्र र वडा ३ स्थित हाल सञ्चालित केन्द्र याङ्जाकोट थियो। हाल याङ्जाकोटमा सञ्चालित गाउँपालिका केन्द्रको कार्यालय तत्कालीन थुमाकोडाँडा गाविसको वडा कार्यालय हो। अब सार्ने भनिएको बेतेनी र हाल कायम याङ्जाकोटसम्म जान गाडीमा आधा घण्टा लाग्छ।

गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले गाउँपालिका केन्द्रको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने विषय भएको बताए। उनले भने, ‘हालै मात्रै सर्वोच्चले रिट निवेदन खारेज गरिदिएको छ। पूर्णपाठ पनि आउन बाँकी छ। संघीय राज्यले निर्णय गर्ने कुरा हो।’

मादी गाउँपालिकामा कुल १२ वटा वडा छन्। गुरुङ जातिको बाहुल्य रहेको मादी गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ६५ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

यो बजेट गत आर्थिक वर्षको तुलनामा तीन करोड रुपैयाँले बढी हो। कास्कीमा पोखरा महानगपालिकासहित ५ पालिका छन्। गाउँपालिकाहरूम माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिका हुन्।

प्रकाशित: २६ माघ २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =