धरमरमा सुदूरपश्‍चिम प्रदेश सरकार

हिमाल प्रेस २६ माघ २०७९ ७:४०
2
SHARE
धरमरमा सुदूरपश्‍चिम प्रदेश सरकार

काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभा बैठक बिहीबार (आज) पनि बस्दैछ। बुधबार (हिजो) को बैठक स्थगित भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाका कारण आज उनको अन्तिम दिन हो।

नेकपा एमालेका सांसद रावल गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । हिजो तोकिएको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने तयारी गरेका थिए । रावलले विश्वासको मत नपाउने देखिएपछि अन्य दलसँग छलफलका लागि बैठक सारिएको थियो।

रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार उनी १ महिनाभित्रै अर्थात माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ। तर उनी बहुमत सदस्यको विश्वासको मत लिने परिस्थिति अझै बन्न सकेको छैन।

उन्मुक्ति फकाउन सकस

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए सरकार ढल्न सक्छ। एमालेका नेताहरू उन्मुक्तिलाई फकाइरहेका छन्। तर बन्दी रिहा नभएसम्म आफूहरूले सरकारमा नजाने बताएको छ। ‘रेशम चौधरीलगायतका टिकापुर हत्याकाण्डका अभियुक्त भनिएका व्यक्ति रिहा नभएसम्म विश्वासको मत दिन सक्दैनौँ,’ उन्मुक्तिका एक नेता भन्छन्,‘सरकारले हाम्रा कार्यकर्ता छुटाउन विश्वास दिलाओस्।’

५३ जना प्रदेश सभा सदस्य रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्दछ। यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ। नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

नागरिक उन्मुक्ति पार्टीका सांसदहरू छलफलका लागि काठमाडौँमै रहेकाले बैठक बस्न नसकेको बताइएको थियो। आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाउने नपाउने विषय टुंगो लागिसकेको छैन। यद्यपि सत्तासाझेदार दलले उन्मुक्तिका सांसदहरूलाई फकाउने प्रयास जारी राखेका छन्।

प्रकाशित: २६ माघ २०७९ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =