अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने सम्मेलनमा प्रचण्डलाई निम्तो

हिमाल प्रेस २५ माघ २०७९ २१:१५
12
SHARES
अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने सम्मेलनमा प्रचण्डलाई निम्तो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का प्रशासक समन्था पावर। तस्बिर: रासस

काठमाडौँ– अमेरिकी सहयोग नियोग (यूएसएआईडी)की प्रमुख समान्था पावरले अमेरिकी सरकारले आयोजना गर्ने एक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिएको बताएकी छन्।

दुई दिने नेपाल भ्रमण सम्पन्न गरेर फर्कनुअघि बुधबार उनले आगामी महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘डेमोक्रेटिक समिट’मा सहभागी हुन प्रचण्डलाई निमन्त्रणा गरेकी हुन्।

उनलाई भौतिक या भर्चुअल कुन रूपमा सहभागी हुन निमन्त्रणा गरिएको हो भन्ने स्पष्ट भने पारिनन्। यसअघि आयोजना भएको सम्मेलनमा नेपालका तर्फबाट भर्चुअल्ली रूपमा नै सहभागिता हुने गरेको थियो। नेपालमा निर्वाचनपछि बनेको सरकारको नेतृत्वलाई लोकतन्त्रबारे अमेरिकामा हुन लागेको सम्मेलनमा निमन्त्रणा दिइएको हो।  सो सम्मेलनमा लोकतन्त्रप्रति प्रतिबद्ध सबै मुलुकहरू सहभागी हुने हुनाले आफूलाई खुसी लागेको उनले बताइन्।

उक्त कार्यक्रमको पहिलो श्रृंखलामा जस्तै अहिले पनि भर्चुअल बढी हुने भन्दै नेपालका यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनसहित नयाँ प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने अवसर हुने बताइन्।

यसअघि गरिएका प्रतिबद्धता, सुशासनका पाटा, लोकतन्त्रको सुदृढीकरण, कानुनी शासन, लोकतान्त्रिक धरोहरको सशक्तीकरणलगायत विषयमा नयाँ प्रधानमन्त्रीले धारणा राख्न सक्ने उनले बताइन्। ‘लोकतन्त्रको सुदृढीकरण अहिलेको आवश्यकता हो। त्यसमा हामी सबै एक भएर लाग्नुपर्छ,’ गत सम्मेलनमा भएको प्रतिबद्धता कार्यान्वयनका लागि नागरिक समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले भनिन्।

अमेरिकी राष्ट्रपति बाइडनले वासिङ्टन डीसीमा आयोजना गर्ने सम्मेलनमा प्रधानमन्त्री प्रचण्डलाई निम्तो भए नभएको जिज्ञासामा उनले राजदूत डिन थम्प्सनसँग सोधेर निम्ता दिएको जानकारी दिएकी हुन्। उनले विश्वमा विकासको लागि हातोमालो गर्नुपर्ने भन्दै लोकतान्त्रिक मूल्य र मान्यतामा अढेर त्यसमा अघि बढ्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: २५ माघ २०७९ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =