एनओसी वितरणलाई सजिलो बनाउँदै शिक्षा मन्त्रालय

हिमाल प्रेस २५ माघ २०७९ १९:१९
8
SHARES
एनओसी वितरणलाई सजिलो बनाउँदै शिक्षा मन्त्रालय शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखामा विदेश अध्ययनका लागि अनुमति लिन लाम लागेका विद्यार्थी। तस्बिर : हिमाल प्रेस

काठमाडौँ–  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) वितरण प्रक्रिया सहज बनाउने भएको छ। मन्त्रालयले प्रक्रियालाई  प्रविधिमैत्री बनाउने उद्देश्यले वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका, २०७९ तयार गरेको हो। विदेश अध्ययनमा जानुपूर्व विद्यार्थीले एनओसी लिनुपर्छ।

निवर्तमान शिक्षामन्त्री शिशिर खनालको पहलमा एनओसी विद्यार्थीले सहज रूपमा बनाउन सक्ने प्रक्रियालाई सहजीकरण गर्न प्रविधिको विज्ञ टोली नै बनाएर सफ्टवेयर निर्माण प्रक्रियालाई अघि बढाएका थिए।

प्राविधिक विज्ञ टोलीका सदस्य कैलाश बडुले आवश्यक प्रक्रिया र कागजात पूरा अपलोड गरेका विद्यार्थीले एनओसी आफैँ प्रिन्ट गर्न सक्ने व्यवस्थासहितको सिस्टम विकास गर्ने तयारी हुँदै गर्दा मन्त्रीले राजीनामा दिए पनि मन्त्रालयले यस विषयलाई अघि बढाउन सक्ने बताए।

‘हामीले विकास गर्ने नयाँ प्रविधिले विद्यार्थीलाई एनओसी आफैँ प्रिन्ट गर्ने व्यवस्था मिलाउन सकिन्छ। शिक्षा मन्त्रालयले सक्रियता देखाए हामीले त्यसलाई सहजीकरण गर्छौँ’, उनले भने। छात्रवृत्तिसम्बन्धी ऐन २०२१ ले पहिलोपटक विदेशमा अध्ययन गर्ने विद्यार्थीले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको थियो।

एनओसी निर्देशिका तयार गरी प्रमाणित भएर सफ्टवेयर निर्माण प्रक्रिया अघि बढे आवेदकले प्रविष्ट गरेका कागजातको आफैँ प्रमाणीकरण गर्ने सफ्टवेयर विकास गर्ने योजनासहित काम अघि बढाइने शिक्षा मन्त्रालय एनओसी शाखाका प्रमुख वासुदेव अवस्थीले बताए।

‘एनओसी लिने प्रक्रियालाई क्यासलेस, फेसलेस र पेपरलेस गर्ने उद्देश्य छ। ६० प्रतिशत काम अघि बढाउने तयारीमा छौँ। यसलाई शतप्रतिशत सुधार गरेर विद्यार्थीले अपलोड गरेको काजगाज अनलाइन भेरिफिकेसन गराएर अनलाइनबाट प्रिन्ट गर्ने व्यवस्था मिलाउँछौँ’, उनले भने।

 राष्ट्रिय परीक्षा बोर्ड र त्रिभुवन विश्वविद्यालयको सफ्टव्यर इन्टिग्रेट गरेको खण्डमा भने यसलाई सहज बनाउन सकिने उनको भनाइ छ।

शाखाले अहिले विश्वविद्यालय, परिचय पत्र, राहदानी विभाग, मेडिकल काउन्सिल, भेटरीनरी काउन्सिल, पाठ्यक्रम विकास केन्द्रका तथ्यांक प्रविष्ट गर्ने काम सुरु गरिसकेको छ। अहिले दैनिक ४ सय १२ जना विद्यार्थीले एनओसी लिने गरेका छन्। उनीहरूलाई टाइमकार्ड इस्यू गरिएको शाखाले जनाएको छ।

गएको साउनयता पुस मसान्तसम्ममा ४५ हजार ९ सय १२ विद्यार्थीले एनओसी लिएको शाखाले जनाएको छ। यीमध्ये १५ हजार १०३ जना विद्यार्थीले अष्ट्रेलिया अध्ययनमा जान एनओसी लिएका छन्।

निर्देशिका उच्च शिक्षा महाशाखामा पेस गरिसकेको शाखाले जनाएको छ। सरकारले निर्देशिकामार्फत कुन देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी जारी गर्ने भन्ने व्यवस्था पनि गर्नेछ। निर्देशिका जारी भए विभिन्न मुलुकका विश्वविद्यालयमा अध्ययनका लागि एकै पटक एनओसी लिन पाउँदैनन्।

प्रकाशित: २५ माघ २०७९ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =