नारायणगढ-बुटवल खण्ड : ४ वर्षमा २५ प्रतिशत काम

हिमाल प्रेस २५ माघ २०७९ १६:०६
6
SHARES
नारायणगढ-बुटवल खण्ड : ४ वर्षमा २५ प्रतिशत काम निर्माणाधीन नारायणगढ-बुटवल सडक खण्ड। तस्बिर-रासस

नवलपरासी– नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ४ वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै सकिएको छ। ०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति न्यून देखिएको हो।

गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले ३८६ दिन म्याद थप गराएको छ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार अहिले कल्भर्ट निर्माण, साना तथा ठूला पुल निर्माणलगायत काम भइरहेको छ।

‘गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब १ किलोमिटर क्षेत्रमा कालोपत्रेको काम सकिएको छ,’ उनले भने, ‘१४ किलोमिटर एकतर्फी कालेपत्रे गरिएको छ।’ सडकमा पहिलो चरणको ६ सेन्टिमिटर र दोस्रो चरणमा ४ सेन्टिमिटरको कालोपत्रे गर्नुपर्छ।

उनका अनुसार सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ वटाबाहेक सम्पूर्ण रुख कटान सकिएको छ। सडक विस्तारका लागि कुल ३६ हजार २३२ रुख काटिँदैछन्। बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको छ। खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाका अनुसार पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको र ४८ वटा कल्भर्ट निर्माणको काम भइरहेको छ। यसका साथै पूर्वीखण्डमा २२ वटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ वटाको निर्माण सम्पन्न भइसकेको छ। १२ मेजर ब्रिज (ठूला पुल) निर्माणको काम सुरु भएको छ।

हालसम्म सडक विस्तारका क्रममा नारायणगढ-दाउन्ने खण्डमा मात्रै १ अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ। यस खण्डको कूल बजेट ९ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडीबी)ले उपलब्ध गराएको छ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका व्यवस्थापक राजेश झाले प्रतिमहिना ३ प्रतिशतभन्दा बढीका दरले प्रगति भेट्ने गरी काम गरिरहेको बताए। ‘अहिले दैनिक १ हजार बढी कामदारले काम गरिरहेका छन्,’ उनले भने, ‘यो आर्थिक वर्षमा आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी काम भइरहेको छ।’

नारायणगढ-बुटवल खण्डको ११५ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ। यस खण्डको सहरी क्षेत्रमा चार लेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =