योजनाबद्ध रूपमा सनातन धर्म मास्‍न खोजियो : कमल थापा

हिमाल प्रेस २५ माघ २०७९ १५:३६
76
SHARES
योजनाबद्ध रूपमा सनातन धर्म मास्‍न खोजियो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रूपमा कमजोर बनाउन खोजिएको आरोप लगाएका छन्। बुधबार भक्तपुर जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा उनले अब परम्परा र पहिचानको संरक्षणका लागि जनसंघर्ष गर्नुपर्ने बताएका हुन्।

थापाले योजनाबद्ध र संगठित रूपमा लोभलालच, भ्रम र डरत्रास देखाएर धर्म परिवर्तन गरिएकोमा आक्रोश पोखे। ‘किराँत धर्म अल्पमतमा परेको छ, अब बिस्तारै बुद्ध धर्म मान्नेहरू अल्पमतमा पर्नेछन्, यो सामान्य विषय होइन,’ उनले भने।

यही रफ्तारमा धर्म परिवर्तनको डढेलो बढ्दै गए संस्कृति र पहिचान नष्ट हुने उनको भनाइ छ। ‘हाम्रो कुनै धर्मप्रति वैमनश्यता, घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ,’ उनले भने, ‘तर संगठित र योजनाबद्ध रूपमा भइरहेको धर्म परिवर्तनप्रति हाम्रो आपत्ति छ।’

कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ, राजाराम बर्तौला, बागमती प्रदेश अध्यक्ष माधव खत्री, भक्तपुर जिल्ला अध्यक्ष श्यामप्रसाद नेपाललगायतले राप्रपा नेपाललाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानअन्तर्गत भक्तपुरको ३८ वडामा फागुन महिनाभित्र वडा कमिटी पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ।

प्रकाशित: २५ माघ २०७९ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =