सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक नै स्थगित

हिमाल प्रेस २५ माघ २०७९ १२:५३
24
SHARES
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक नै स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक नागरिक उन्मुक्ति पार्टीका सांसदहरू नै सहभागी नहुने भएपछि स्थगित भएको हो।

नगरिक उन्मुक्ति पार्टीले आफ्ना मागबारे प्रदेश सरकारले नजरअन्दाज गरेको भन्दै विश्वासको मत नदिने बताएको छ। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसदहरू काठमाडौँ छन्। उनीहरू उक्त पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गर्न काठमाडौँ आएका हुन्।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले भोली दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो। तर सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन।

उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरू पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गर्न मंगलबार काठमाडौं गएका थिए तर उनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन्।

नियुक्ति लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही प्रावधानअनुसार ३० दिनको समय भोलि सकिँदैछ । भोली पनि विश्वासको मत नलिए रावलको सरकार स्वतः ढल्नेछ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। त्यहाँ नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन्।

एमाले नेता रावल माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। विश्वासको मत नपाएर रावलको सरकार ढलेमा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बन्नेछ।

प्रकाशित: २५ माघ २०७९ १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =