टर्की भूकम्पमा मृतकको संख्या ७८ सय नाघ्यो, चिसोले उद्धारमा कठिनाइ ; युद्धग्रस्त सिरियामा स्थिति झन् भयावह

हिमाल प्रेस २५ माघ २०७९ ११:४९
4
SHARES
टर्की भूकम्पमा मृतकको संख्या ७८ सय नाघ्यो, चिसोले उद्धारमा कठिनाइ ; युद्धग्रस्त सिरियामा स्थिति झन् भयावह भूकम्प प्रभावित सिरियाको एलेप्पो सहरको दृश्य

काठमाडौँ- भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या बुधबार ७ हजार ८ सय नाघेको छ। भत्किएका भवनका भग्नावशेषबाट स्थानीयको उद्धार गर्ने क्रम चलिरहँदा मृतकको संख्या पनि बढिरहेको छ।

टर्कीमा मात्र ५ हजार ८ सय ९४ ले ज्यान गुमाएको तथ्यांक आएको छ। सिरियामा मृतकको संख्या १ हजार ९ सय ३२ रहेका त्यहाँको सरकार र उद्धारमा खटिएका संस्थाहरूले जनाएका छन्। करिब २० हजार ४ सय २६ जना घाइते भएको र ५ हजार ७ सय ७५ भवन भत्किएको टर्की सरकारले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार उद्धारकर्तालाई अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भइरहेको छ। यस्तोमा टर्की र संयुक्त राष्ट्रसंघका अधिकारीहरूले मृतकको संख्या अझ बढ्ने अनुमान गरेका छन्। स्थिति कतिसम्म भयावह छ भने मृतक बालबालिकाको संख्या नै हजारौँ रहेको बताइएको छ।

टर्कीका राष्ट्रपति तायिप एर्दोगनले देशका १० प्रान्तमा संकटकालको घोषणा गरेका छन्। सरकारले संकटकालको घोषणा गरिरहँदा भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली र राहत सामग्री ढिलोगरी पुगिरहेकाे स्थानीयकाे गुनासाे छ।

‘उद्धारका लागि यहाँ कोही आइपुगेको छैन। हाम्रो घर भत्किएको छ। हाल हिउँमुनि बस्न बाध्य छौँ। खाद्यान्नको अभाव छ। हामी के गर्ने? कता जाने?’ भूकम्प प्रभावित माटाल्या सहरकी मुराट आलिनाकले रोयटर्ससँग भनेकी छन्।

टर्कीमा सन् १९९९ यताकै शक्तिशाली भूकम्प आएको हो। सोमबार ७.८ म्याग्निच्युडको भूकम्पले टर्की र छिमेकी सिरिया हल्लाएको थियो। त्यसलगत्तै ध्वसांत्मक पराकम्पन गएको थियो। यसरी शक्तिशाली भूकम्प र पराकम्पन गएपछि दक्षिणी टर्की र उत्तरी सिरियामा अस्पताल, अर्पाटमेन्ट, विद्यालयका हजारौँ भवन ढलेका छन्।

भत्किएका सडक, खराब मौसम र ‘हेभी इक्यिुपमेन्ट’ को अभावमा उद्धार अझै प्रभावकारी हुन नसकिरहेको गुनासा आइरहेका छन्। कतिपय क्षेत्रमा स्थानीय आफैँले आवश्यक उकपरणबिना नै भग्नावशेष पन्छाइरहेको रोयटर्सले जनाएको छ।

उद्धारमा टर्कीले १२ हजारभन्दा बढी उद्धारकर्ता र ९ हजारभन्दा बढी सुरक्षाकर्मी खटाएको छ। करिब ७० देशले उद्धारमा सहयोग गर्ने बाचा गरेका छन्। राहत सामग्री पठाउने भनेका छन्। सयौँ विदेशी उद्धारकर्ताले त स्थानीय टर्कीस र सिरियाली उद्धारकर्तासँग मिलेर उद्धारकार्य सुरु गरिसकेको बताइएको छ।

तर भत्किएका सडक, खराब मौसम र ‘हेभी इक्यिुपमेन्ट’ को अभावमा उद्धार अझै प्रभावकारी हुन नसकिरहेको गुनासा आइरहेका छन्। कतिपय क्षेत्रमा स्थानीय आफैँले आवश्यक उकपरणबिना नै भग्नावशेष पन्छाइरहेको रोयटर्सले जनाएको छ।

राष्ट्रपति एर्दोगनले जारी गरेको संकटकालका आधारमा १० प्रान्तमा तीन महिनासम्म नयाँ कानुन जारी गर्न सकिनेछ। सरकारले स्थिति सम्हाल्न कतिपय अधिकार कटौती गर्नसक्ने बताइएको छ। एर्दोगन सरकारले एन्टाल्यामा नयाँ होटल स्थापना गरेर भूकम्प प्रभावित नागरिकलाई राख्ने बताएको छ।

‘अन्तर्राष्ट्रिय पयर्टनका लागि प्रख्यात एन्टाल्यामा भूकम्प प्रभावित स्थानीयलाई अस्थायी रुपमा राख्ने योजना बनाइएको छ। यस्तो योजना तत्कालै लागू हुनेछ,’ तीन महिनापछि आमनिर्वाचन गर्न लागेको टर्कीका राष्ट्रपति एर्दोगनले भनेका छन्।

टर्किस सहर एडानामा भूकम्पका कारण क्षतिग्रस्त अपार्टमेन्ट

दक्षिणी टर्कीको गाजियान्टेपलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले करिब एक करोड ३५ लाखलाई घरविहीन बनाएको प्रारम्भिक अनुमान छ। टर्कीभित्र करिब ४ चार ५० किलोमिटर क्षेत्रलाई सबैभन्दा बढी प्रभावित मानिएकाे छ। पूर्वमा डियाराबाकिर, पश्चिममा एडाना, उत्तरमा हटाय र दक्षिणमा मालाटाय क्षेत्रसम्मका क्षेत्रमा बढी क्षति भएको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

१२ वर्षदेखि गृहयुद्धमा फसेको सिरियामा अवस्था अझ चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय दाता संस्थाका अधिकारीहरूले बताएका छन्। सिरियामा सबैभन्दा बढी मृतक रहेको क्षेत्र हमा हो। जुन भूकम्पको केन्द्रविन्दूबाट करिब २ सय ५० किलोमिटर टाढा छ।

सिरियाको उत्तरपश्चिम क्षेत्र अत्यधिक प्रभावित भएको बताइएको छ। यो त्यही क्षेत्र हो, जहाँ युद्धका कारण विस्थापित भएका सिरियाली आश्रय लिएर बसिरहेका छन्। त्यहाँको हमा सहरमा कयौँ परिवारले आफ्ना मृतक सदस्यहरूले अन्त्येष्टि गरिरहेको रोयटर्सले प्रत्यदक्र्षीलाई उदृत गर्दै लेखेको छ।

‘यहाँ चारैतिर डरलाग्दो दृश्य देखिँदैछ। मैले आजसम्म यस्तो भयावह स्थिति देखेको थिइनँ। युद्ध भन्दा पनि भयावह,’ हमाबाट अब्दल्लाह अल डाहानले रोयटर्ससँग टेलिफोनमा भनेका छन्। हमाका स्थानीय मस्जिदहरूमा भूकम्प प्रभावितलाई बस्ने व्यवस्था मिलाइएको छ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले ८ सयभन्दा बढीले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गरेको छ। तर यो संख्या बसर अल असाद नेतृत्वको सरकार नियन्त्रित प्रान्त एलेप्पो, लाटाकिया, हमा र टार्टुस प्रान्तबाट मात्र सकंलन गरिएको हो।

विद्रोहीले कब्जा गरेका प्रान्तहरूमा कम्तीमा १ हजार १ सय २० ले ज्यान गुमाएका छन्। उद्धारमा खटिएको ह्वाइट हेल्मेट्स समूहले ती प्रान्तहरूमा मृतकको संख्या निकै धेरै हुनसक्ने अनुमान गरेको छ। ‘प्रभावित स्थानहरूमा उद्धार जारी छ। मृतक र क्षतिको यकिन विवरण आउनै बाँकी छ। किनभने यति धेरै भवन भत्किएका छन् कि ती सबैमा उद्धार टोली पु¥याउनै सकिएको छैन,’ ह्वाइट हेल्मेट्सका प्रमुख राइद अल सालहेले भनेका छन्।

संयुक्त राष्ट्रसंघका प्रतिनिधि एल मुस्ताफा बेन्लामलिहले सिरियामा जारी उद्धारमा मौसमले दुःख दिइरहेको बताएका छन्। त्यसमाथि पेट्रोलियम पदार्थको अभावका कारण झनै अप्ठ्यारो रहेको उनको भनाइ थियो।

प्रकाशित: २५ माघ २०७९ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =