युरोपेली संघको टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको निरीक्षण

हिमाल प्रेस २४ माघ २०७९ १६:५९
4
SHARES
युरोपेली संघको टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको निरीक्षण

काठमाडौँ– युरोपेली संघको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली आयोजनाको स्थलगत निरीक्षण गरेको छ। निर्माणाधीन २२० केभी क्षमताको प्रसारण लाइन आयोजना संघको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो।

टोलीले त्रिशूली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो। टोलीले नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायतका विषयमा छलफलसमेत गर्‍यो।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीमा २२०-१३२-३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन्। त्यस्तै चिलिमे हबदेखि त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटरको २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।

आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत छ। त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमशः ७१ र ७० प्रतिशत छ। प्रसारण लाइन र सबस्टेसनको निर्माण आगामी चैतभित्र सक्ने लक्ष्य छ।

३ करोड ९० लाख अमेरिकी डलर लागतमा बन्ने आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंकको अनुदान सहयोग छ। त्यस्तै आयोजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण छ।

युरोपेली लगानी बैंकले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लामा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ। जर्मन विकास बैंकले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ।

प्रकाशित: २४ माघ २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =