भूकम्पका कारण टर्कीमा तीन हजारभन्दा बढीको मृत्यु, युद्धग्रस्त सिरियामा उद्धार गर्नै कठिन

हिमाल प्रेस २४ माघ २०७९ १३:३०
10
SHARES
भूकम्पका कारण टर्कीमा तीन हजारभन्दा बढीको मृत्यु, युद्धग्रस्त सिरियामा उद्धार गर्नै कठिन

काठमाडौँ- भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनको संख्या चार हजारभन्दा बढी पुगेको छ। टर्कीको गाजियान्टेप सहर छेउकै क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। नौ घण्टापछि कहरामनमरासमा ७.५ म्याग्च्यिुडको परकम्प भएको थियो। यी क्षेत्रबीच ९६ किलोमिटरको दूरी रहेको बताइएको छ।

लगातारका दुई शक्तिशाली धक्काले टर्कीमा मात्र होइन छिमेकी सिरियाको उत्तरी क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा तीन हजार र सिरियामा कम्तीमा १४ सयले ज्यान गुमाएका छन्। भूकम्पका कारण ढलेका भवनका अवशेषबाट घाइतेलाई उद्धार गर्ने कार्य जारी छ।

भत्किएका चार हजार सात सय ५८ भवनबाट करिब आठ हजारको उद्धार भएको रोयटर्सको रिपोर्टमा उल्लेख छ। टर्कीको ‘डिजाजस्टर एन्ड एमरजेन्सी म्यानेजमेन्ट एथोरिटी (एफएएडी)’ का ले पछिल्लो पटक सार्वजनिक गरेको जानकारीअनुसार २९ सय २१ ले ज्यान गुमाएका छन्।

युरोपेलको भूकम्प मापन केन्द्र ईएमएससीका अनुसार टर्कीमा परकम्प हुने क्रम जारी छ। लगातारको परकम्प र अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भइरहेको छ।

टर्कीमा गएको भूकम्प अगस्ट २०२१ यताकै सबैभन्दा शक्तिशाली भूकम्प हो। टर्कीमा चाहिँ सन् १९९९ पछिको सर्वाधिक शक्तिशाली हो। २४ वर्षअघि गएको त्यो भूकम्पमा परी करिब १७ हजारले ज्यान गुमाएका थिए।

भूकम्प प्रभावित टर्की र सिरियामा विभिन्न देशले उद्धार टोली र सहयोग पठाउन सुरु गरेका छन्। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले ६० सदस्यीय उद्धार टोली टर्की पठाउन लागेको जानकारी दिएका छन्। पाकिस्तान सरकारले ५० सदस्यीय उद्धार टोलीसँगै खाद्यान्न तथा राहत सामग्री बोकेको हवाईजहाज टर्कीतर्फ पठाइसकेको छ।

आउँदो बुधबारबाट भने टर्की मात्र नभई सिरियातर्फ पनि खाद्यान्न बोकेको जहाज प्रत्येक दिन पठाउने उद्घोष पाकिस्तान सरकारले गरेको छ। भारतले पनि स्वास्थ्यकर्मी, औषधि, तालिमप्राप्त कुकुरसहितका दुई टोली उद्धारका लागि टर्की पठाउने भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले टर्किस समकक्षी एर्दोगनलाई टेलिफोन गर्दै आफ्नो देशले ‘सर्च एन्ड रेस्क्यु टिम’ पठाउन लागेको जानकारी दिएका छन्।

समस्यामा सिरिया

सिरियाली सरकारका अनुसार त्यहाँको उत्तरपश्चिमी क्षेत्रमा १४ सय ४४ को मृत्यु भएको छ। विपक्षी लडाकु समूहहरूको कब्जामा रहेको त्यस क्षेत्रमा सडक पूर्वाधार कमजोर छ भने इन्टरनेट पनि राम्रोसँग नचल्ने हुँदा क्षतिको विवरण आउन बाँकी छ।

सिरियामा बसर अल असाद नेतृत्वको सरकार र विभिन्न समूह युद्धमा छन्। भूकम्पका कारण प्रभावित हुने कतिपय क्षेत्र विद्रोहीको नियन्त्रणमा छन्। ती क्षेत्रमा उद्धार टोली र राहत सामग्री सजिलै पुग्नसक्ने अवस्था छैन।

वर्षौँदेखि युद्धका कारण ग्रसित सिरियाका लाखौँ नागरिक हाल टर्कीमा शरणार्थी जीवन बिताइरहेका छन्। भूकम्प गएका कतिपय सिरियाली क्षेत्रमा पनि आन्तरिक शरणार्थी बसोबास गरिरहेका छन्। युद्ध चलिरहँदा थप लाखौँ सिरियाली पहिलेबाटै आधाआधी भत्किएका घरभित्र बस्न बाध्य छन्। त्यस्ता घर अहिले आएको भूकम्पका कारण भत्किएको र हजारौँ नागरिक थिचिएको हुनसक्ने अनुमान छ।

असाद नेतृत्वको सरकारसँग भिडिरहेको ‘सिरियन सिभिल डिफेन्स’ नाम गरेको समूहले भूकम्पका कारण भयावह परिस्थिति सिर्जना भएको बताएको छ। यो समूहको नियन्त्रणमा रहेको इड्लिबसहितका केही प्रान्त खाद्यान्न, औषधिका लागि  टर्किस सरकारको भर पर्ने गरेको छ।

यी क्षेत्रमा करिब दुई सय ४४ भवन पूर्ण रूपमा ध्वस्त भएको र तीन सय २५ भवनमा आंशिक क्षति पुगेको बताइएको छ। पहिलेबाटै अस्तव्यस्त रहेको सिरियाली स्वास्थ्य संरचनाले भूकम्पमा परी घाइते हुनेको उपचार गर्न नसकिरहेको अमेरिकी समाचार एजेन्सी एपीको रिपोर्टमा उल्लेख छ। यसकारण सिरियामा मृतकको संख्या निकै बढ्ने अनुमान छ।

प्रकाशित: २४ माघ २०७९ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =