८४ वर्षअघि टर्कीमा भूकम्प जाँदा नेपालले पठाएको त्यो सन्देश

हिमाल प्रेस २४ माघ २०७९ १७:५८
1.6k
SHARES
८४ वर्षअघि टर्कीमा भूकम्प जाँदा नेपालले पठाएको त्यो सन्देश २०७२ सालमा नुवाकोटका भूकम्पपीडितलाई टर्कीबाट प्राप्त राहत सामग्री वितरण गरिँदै। टर्कीमा सोमबार गएको भूकम्पबाट भत्किएका भवन र डेली मेलमा छापिएको सन् १९३९ मा टर्कीमा गएको भूकम्पसम्बन्धी समाचार।

टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको भूकम्प गयो। त्यसको केही घण्टामै दिउँसो गोजियन्तेप क्षेत्रमा अर्को शक्तिशाली भूकम्प गएको थियो। त्यसबीचमा सयौँ पटक परकम्प भइरहेका छन्। भूकम्पमा परी टर्की र सिरियमा गरी चार हजारभन्दा बढीको ज्यान गइसकेको छ। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

सोमबार बिहानको भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको रोयटर्सले जनाएको छ। भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस गरिएको थियो।

टर्की भूकम्प जोखिमयुक्त क्षेत्रका रूपमा संसारकै सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक हो। टर्कीमा यसअघि १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजारको मृत्यु भएको थियो। यसअघि पनि त्यहाँ भूकम्पले ठूलो मानवीय क्षति पुर्‍याएको थियो।

त्यहाँ अहिले उद्धार तथा राहत वितरण कार्य जारी छ। भूकम्पका कारण ठूलो मानवीय क्षति भएपछि टर्कीले संकटकाल घोषणा गरी अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ। विभिन्न देशले सहयोगको बाचा पनि गरेका छन्। कतिपय देशबाट खोज उद्धार र राहतका लागि सहयोग परिचालन गरिएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले टर्कीमा विनाशकारी भूकम्पमा परी जनधनको क्षति भएको विषयमा दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पमा भएको मानवीय एवम् भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन्।

नेपालमा १९९० साल (सन् १९३४) मा विनाशकारी महाभूकम्पबाट ठूलो धनजनको क्षति भएको थियो। त्यसको करिब पाँच वर्षपछि सन् १९३९ डिसेम्बरमा टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। सोही २७ डिसेम्बरमा गएको भूकम्पमा परी ३० हजारभन्दा बढीको ज्यान गएको थियो। यहाँ सोही भूकम्पको उद्धार र राहतमा नेपालले देखाएको चासोको चर्चा गरिएको छ।

नेपालले सन् १९३४ मा बेलायतको लन्डनमा आवासीय राजदूत नियुक्त गरी विश्वमञ्चमा आफूलाई प्रस्तुत गरेको हो। सन् १९३९ ताका लन्डनमा नेपाली राजदूत लेफ्टिनेन्ट जनरल सिंहशमशेर जंगबहादुर राणा थिए। दूतावास स्थापना भएर राजदूत बस्न थालेपछि लन्डनमा दूतावास रहेका विश्वका विभिन्न मुलुकसँग नेपालको सम्बन्ध विस्तार भयो।

विभिन्न मुलुकका दूतावासका कार्यक्रममा नेपालको प्रतिनिधित्व र नेपाली दूतावासका कार्यक्रममा पनि सम्बन्धित देशका कूटनीतिज्ञलाई निम्त्याउने काम हुन्थ्यो।

बाढीपहिरो, आगलागी, भूकम्पजस्ता आपतविपतमा नेपालका तर्फबाट नेपाली राजदूतले सन्देश पठाउँथे। कुनै मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुख फेरिँदा र ती देशको स्वतन्त्रता समारोहमा पनि राजदूतले शुभकामना सन्देश जारी गर्दथे।

टर्कीमा सन् १९३९ डिसेम्बर २७ मा भूकम्प आएको दुई दिनपछि राजदूत जबराले लन्डनस्थित टर्किस राजदूतलाई समवेदना सन्देश पठाएका थिए। दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखागारमा रहेका ब्रिटिसकालीन अभिलेखअनुसार २९ डिसेम्बर १९३९ मा लन्डनस्थित टर्किस राजदूत डा. टेवभिक रस्तुक आरसलाई सम्बोधन गर्दै पठाएको उक्त समवेदना सन्देशमा राजदूत जबराले लेखेका थिए–

‘यसै साता हजुरको देशमा आएको भूकम्पले गम्भीर क्षति पुर्‍याएको दुःखद खबर पाएँ। नेपालसमेत सन् १९३४ मा भूकम्पको यस्तै किसिमको अवस्थाबाट गुज्रिएको थियो। यस्तो अवस्थामा देश र देशका पीडित जनताको अवस्था कस्तो हुन्छ भनेर हामीले बुझ्न सक्छौँ। यस्तो समयमा म तपाईँलाई मेरो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु। त्यस्तै ईश्वरले यसबाट पीडितहरुको पीडालाई कम गर्ने शक्ति प्रदान गरून् भन्ने म विश्वास व्यक्त गर्दछु।’

नेपाल र टर्कीबीच सन् १९६२ मा दौत्य सम्बन्ध स्थापना भएको हो। अहिले टर्कीमा नेपाली दूतावास छैन। पाकिस्तानस्थित नेपाली दूतावासले नै टर्की समेत हेर्ने गर्छ। टर्कीको भूकम्पमा नेपाली पनि फसेका हुन सक्छन्। उनीहरूको अवस्थाबारे पनि नेपाल सरकार र पाकिस्तानस्थित नेपाली दूतावास चनाखो हुनुपर्छ।

नेपालमा २०७२ सालमा भूकम्प जाँदा संसारभरका अन्य मुलुकहरूसँगसँगै टर्कीले समेत उद्धार टोली र राहत पठाएको थियो। नेपालमा भूकम्प गएको चौथो दिनमा टर्कीबाट राहत र उद्धारका लागि टोली नेपाल आएको थियो।

भूकम्पले क्षति पुर्‍याएका दुवै मुलुकलाई यतिबेला उद्धार र राहतको खाँचो छ। त्यसैले नेपालका तर्फबाट पनि राहत र उद्धारका लागि सक्दो सहयोग गर्नुपर्छ।

प्रकाशित: २४ माघ २०७९ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =