कांग्रेसले राष्ट्रपति पाउनेमा प्रधानमन्त्री सकारात्मक : रमेश लेखक

सत्तागठबन्धन संकटमा परेकाले एमाले विचलित

हिमाल प्रेस २३ माघ २०७९ १९:२४
कांग्रेसले राष्ट्रपति पाउनेमा प्रधानमन्त्री सकारात्मक : रमेश लेखक फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धन ठूलो संकटमा रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सत्तागठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको बताउँदै उनले सरकारको सैद्धान्तिक धरातलसमेत कमजोर र विरोधाभाषपूर्ण रहेको जिकिर गरे।

सत्तारुढ दलहरूमध्ये नेकपा एमाले सबैभन्दा विचलित भएको उनले दाबी गरे। उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे।

‘यो सरकार जुन ढंगले अगाडि बढिराखेको छ। सरकार जसरी गठन भएको छ यसको सैद्धान्तिक धरातल कमजोर र विरोधाभाषपूर्ण छ। गठबन्धन संकटमा परेकाले एमाले सबैभन्दा बढी विचलित छ। हिजो मैले संसदभित्र जुन रूप देखेँ। एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भीर भएको छु,’ उनले भने।

कांग्रेसले सत्तासमीकरण परिवर्तन गरेर अर्को समीकरण बनाउन नखोजेको स्पष्ट पारे। आफूहरूले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति कांग्रेसकै लागि होला भन्ने आफूहरूको बुझाइ रहेको बताए।

‘सत्तासमीकरण परिवर्तन गर्ने पक्षमा हामी छैनौं। राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलाई हामीले विशेष ढंगले प्राथमिकताका साथ हेरिराखेका छौं,’ लेखकले भने, ‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ। राष्ट्रपति कांग्रेसले पाउनुपर्छ भन्नेमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ भन्ने हाम्रो बुझाइ छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति कांग्रेसकै लागि हो भन्ने बुझेका छौं।’

प्रकाशित: २३ माघ २०७९ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =