वाम एकता पहलसहित महाधिवेशन तयारीमा जुट्यो नेकपा एस

हिमाल प्रेस २२ माघ २०७९ २१:०३
वाम एकता पहलसहित महाधिवेशन तयारीमा जुट्यो नेकपा एस फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले वाम एकताको पहल गर्दै राष्ट्रिय महाधिवेशनको तयारी गर्ने निर्णय गरेको छ।

पार्टीको आइतबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकले आगामी ०८० साल फागुन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र वामपन्थी दलसँग एकताको पहल गर्ने निर्णय गरेको छ।

बैठकले सोही वर्ष जेठमा पार्टीको स्थानीय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण काम सम्पन्न गर्ने, राष्ट्रको स्वाधीनता रक्षा गर्दै संविधान र लोकतन्त्रलाई थप सबल बनाउनका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ।

बैठकपछि सञ्चार माध्यमसँग कुरा गर्दै पार्टी उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउने दिशामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढ्ने र पार्टीलाई अझ बढी शक्तिशाली र जनताको आकर्षणको केन्द्र बनाउने बताए।

आगामी ४ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा बैठकका सहभागिले जोड दिएको उनले जानकारी दिए। यसका साथै बैठकले तत्काल सरकारमा नगई प्रतिपक्षमा बसेर जनताका दैनन्दिनका समस्यामाथि सरकारलाई प्रश्न गर्ने भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =