स्वास्थ्य सेवा नपाएर बिरामीले ज्यान गुमाउनु नपरोस् : मुख्यमन्त्री अधिकारी

हिमाल प्रेस २१ माघ २०७९ २०:०९
4
SHARES
स्वास्थ्य सेवा नपाएर बिरामीले ज्यान गुमाउनु नपरोस् : मुख्यमन्त्री अधिकारी

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। बागलुङस्थित धवलागिरि अस्पतालले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्ने साथै दूरदराजका नागरिकलाई पनि स्वास्थ्यको सहज पहुँचसँग जोड्न गण्डकी प्रदेश सरकारले गाउँ-गाउँमा स्वास्थ्य संस्था स्थापना गर्ने तथा आवश्यक उपकरण, औषधिको व्यवस्थापन गर्ने उनले उल्लेख गरे।

‘समयको सही प्रयोग गरी बिरामीलाई कत्ति पनि दुःख नहुने गरी सेवा दिनुपर्छ, ढिलासुस्तीले कसैको ज्यान जान सक्छ, यस्तो नहोस्,’ उनले भने, ‘कयौँ अस्पतालमा जनशक्ति नपुगेको गुनासो छ, त्यसको व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लाग्छ, अस्पतालमा आउने कोही पनि बिरामी उपचारबिना नफर्कियोस्।’

धवलागिरि अस्पतालमा आफू स्वास्थ्यमन्त्री हुँदा जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य बीमा लागू गरेको स्मरण गर्दै उनले यहाँको निर्माणाधीन नयाँ भवनलाई तत्काल सम्पन्न गरी थप व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने जानकारी गराए। जनशक्ति व्यवस्थापन, हरि खड्का ट्रमा सेन्टर सञ्चालनलगायतका अन्य काम गर्नका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =