रविलाई गृहमन्त्री बनाउन नसकिने माओवादी निर्णय

हिमाल प्रेस २१ माघ २०७९ १९:२७
58
SHARES
रविलाई गृहमन्त्री बनाउन नसकिने माओवादी निर्णय फाइल तस्बिर

काठमाडौँ–  नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल गृह मन्त्रालयको जिम्मेवारी नदिने निर्णय गरेको छ। पार्टीको शनिबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

समसामयिक राजनीतिक अवस्था र सत्ता गठबन्धनमा देखिएको समस्यामाथि विश्लेषण गर्दै यस्तो निर्णय लिइएको माओवादीका एक पदाधिकारीले बैठकपछि जानकारी दिए।

उनले भने, ‘लामिछानेको नागरिकता र राहदानीको विवाद अझै नसुल्झिएका कारण कुनै कोणबाट पनि मन्त्री बनाउन नसकिने निर्णय भएको छ।’  ती नेताका अनुसार माओवादीले रास्वपासँग यसबारे छलफल गर्ने भएको छ।

लामछिानेले सरकारमा आफूलाई पुरानै जिम्मेवारी दिन अडान राख्दै दुई दिनभित्र यो विषय टुंग्याउन दिएको समयसीमा शनिबार सकिँदैछ। उक्त समयसीमा सकिँदै गर्दा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बसेको बैठकले  गृहको जिम्मेवारी नदिने निर्णय गरेको हो।

पुस १० गते सत्ता गठबन्धन निर्माण हुँदा भएको सहमतिअनुसार गृह मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिइएको थियो। नागरिकता विवाद प्रकरणमा लामिछानेको पद गुमेपछि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले राखेका थिए। नागरिकता पुनः प्राप्त गरेपछि लामिछानेले मन्त्रालय आफैँले पाउनुपर्ने अडान राखेका छन्। सोही विषयमा निर्णय गर्न बिहीबार बसेको रास्वपा बैठकले सरकारलाई दुईदिने अल्टिमेटम दिएको थियो।

माओवादीको बैठकमा अधिकांश नेताले गृह मन्त्रालय अन्य पार्टीलाई दिँदा सरकारको कार्यसम्पादनमा आफ्नो पार्टीको भूमिका नदेखिने बताएका थिए।

ती नेताले भने, ‘सबैजसो नेताको एउटै धारणा छ, त्यो भनेको गृह मन्त्रालय आफैँले राख्ने हो।’ तर रास्वपालाई गृहको विकल्पमा कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ।  सत्ता गठबन्धनको अर्को दल नेकपा एमाले भने लामिछानेलाई गृहमन्त्री दिनुपर्ने पक्षमा छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै रास्वपालाई गृह मन्त्रालय नदिने कुनै कारण नरहेको बताउँदै आएका छन्।

माओवादी बैठकले राष्ट्रपतिका सम्बन्धमा राष्ट्रिय सहमति हुनपर्ने निर्णय गरेको छ। राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र सहमति नभए सरकारलाई समर्थन गरेको नेपाली कांग्रेससहित विचार, दृष्टिकोण, उद्देश्य मिल्ने दलहरूसँग सहमति गरेर अघि बढ्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बैठकपछि जानकारी दिए।

प्रकाशित: २१ माघ २०७९ १९:२७

प्रतिक्रिया

One thought on “रविलाई गृहमन्त्री बनाउन नसकिने माओवादी निर्णय

  1. रबि आफैँ नक्कली पीडित खडा गर्ने, आफैँ वकिल, आफैँ न्यायाधीश र पुलिसको शैलीमा अर्ती दिदै चलाइएको टिभी सोबाट उनले जनसाधारणका स्तरमा समर्थक र अकुत कमाए तर समाजको मध्यम र माथिल्लो वर्गभित्र ठूलो संख्यामा शत्रुता पनि बढाए । आसुको ब्यापार गरेर अकुत कमाए, ३ वटा घर ४-५ करोडको गाडी, ५ तारे होटेलमा उठबस, जग्गा जोडे बहुबिबाह पनि गर्न भ्याए, मामुली पत्रकारको स्ट्रिङ्ग ब्यापारको आम्दानिको स्रोत खोजीएन, अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट दुरुपयोग गरे, घुमे भिखमाग्दै तर्साउदै ठग्दै हिंडे । तैपनि फितलो कानुनको कारण कारबाही भएन, यदी निमुखा जनता भएको भए उहिले नै ५ बर्षको लागि जेल गईसक्थे । अब उसलाई दोहोरो नगरिकता र पासपोर्ट दुरुपयोग कसुरमा कानुनी कारबाही हुनैपर्दछ ।
    रबी आदर्श छाट्ने व्यबहार उल्टो गर्ने हिपुक्रेट, नेपाली चार्ल्स शोभराज हुन ।
    पक्राउ पर्ने डरले सरकार छाड्ने छैनन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =