आज सकिँदै दुई दिनको चेतावनीसहितको समय, सरकारबाट बाहिरिएला रास्वपा?

हिमाल प्रेस २१ माघ २०७९ ९:१०
26
SHARES
आज सकिँदै दुई दिनको चेतावनीसहितको समय, सरकारबाट बाहिरिएला रास्वपा? फाइल तस्बिर।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहने अन्तिम निर्णय लिनभन्दै बिहीबार साँझ केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेको थियो। तर, उक्त बैठकले खोसिएको गृहमन्त्रालयको विषयमा सरकारले केही जानकारी नदिएको भन्दै अझै दुई दिन कुर्ने निर्णय गर्‍यो। सरकारलाई दिएको समर्थन फिर्ता गर्ने या नगर्ने निर्णय गर्न चेतावनीसहितको दुई दिन आज शनिबार सकिँदैछ।

बिहीबारको बैठकबाटै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय लिने आकलन गरिएको थियो। नेताहरूले पनि सोही आशयको अभिव्यक्ति दिएका थिए। तर, बैठक सुरु हुनुअघि र सुरु भइसकेपछि सो पार्टीका सभापति रवि लामिछानेसँग प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कुरा गरेका थिए।

नेताहरूसँग कुरा भएको र उनीहरूले नै पर्खन भनेपछि दुई दिन पर्खिने निर्णय लिइएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

‘राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय लिऔँ भनेर प्रस्ताव आएको हो। राजनीतिक इमानदारिताका लागि पनि दुई दिन कुर्ने निर्णय लिएका हौँ’ उनले बिहीबार बैठकपछि सञ्चारकर्मीसँग भनेका थिए।

ढकालले भने जस्तो राजनीतिक संयन्त्रको बैठक नै बसेको छैन। आज पनि बैठक बस्ने कार्यसूची अहिलेसम्म तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेपछि सर्वोच्च अदालतले लामिछानेको मन्त्री र सभापति पद खारेज हुने फैसला सुनायो। उनले सर्वोच्चको फैसला अनुसार नै नागरिकता पुन:प्राप्तिको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिए र लिई पनि सके। उनी आइतबार नै पुन: पार्टी सभापति पनि भइसके।
लामिछाने गुमाएको गृहमन्त्रालयमा आफू नै दोहोरिने इच्छासहित शीर्ष नेता कहाँ दौडधुप गरिरहेका छन्।

उनलाई गृह दिन एमाले तयार छ तर, माओवादीले दिन नसकिने बताइरहेको छ। रविको लामिछानेको नागरिकता विवाद सकिए पनि राहदानीको विषय भने अनुसन्धानको विषय बनेको छ। त्यसैले उनले उक्ता अनुसन्धानलाई पछाडि धकेल्न र मुद्दा प्रभावित पार्न गृहमा दोहोरिन खोजेको आरोप पनि लगाइएको छ।

प्रकाशित: २१ माघ २०७९ ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =