यी हुन् मधेश प्रदेशमा शुक्रबार नियुक्त भएका मन्त्रीहरू

नेहा झा २० माघ २०७९ २२:१०
16
SHARES
यी हुन् मधेश प्रदेशमा शुक्रबार नियुक्त भएका मन्त्रीहरू

जनकपुरधाम– मधेस प्रदेश सरकार गठन भएको करिब ३ सातापछि शुक्रबार मन्त्रीपरिषद् विस्तार भएको छ। जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले नेतृत्व गरिरहेको प्रदेश सरकार गठनमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादीसहितका दलहरूको सहभागिता रहेको छ।

तर मन्त्रालय भागबन्डाको विषयमा कुरा नमिल्दा शुक्रबार भएको मन्त्रीमण्डल विस्तार प्रक्रियामा नेकपा माओवादीबाट कुनै पनि प्रदेशसभा सदस्यको उपस्थिति देखिएन। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा नवनियुक्त मन्त्रीहरूको रुपमा जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास मन्त्रालय र सिंगासन सा कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

साह महोत्तरी २ (ख) बाट निर्वाचित भएकी हुन् भने कलबार पर्सा ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। यस्तै सप्तरी १ (क) बाट नेकपा एमालेबाट निर्वाचित भएका राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने शत्रुधन सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ। सिंह सिरहा २ ‘ख’ बाट निर्वाचित हुन्।

यस्तै रौतहट २ (क) बाट निर्वचित मो. जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनाइएको छ।

जनमत पार्टीबाट संसदीय दलका नेतासमेत रहेका महेश यादवलाई शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी सप्तरी २ को (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुन्।

यस्तै राज्यमन्त्रीहरूमा जसपाबाट समाजिक विकास राज्यमन्त्री बनेका शेख अबुकलाम आजाद रौतहट ४ (ख) बाट निर्वाचित हुन्। आज मात्र नेकपा एमाले प्रवेश गरेका केशव राय चौधरी गृह तथा सञ्चार राज्यमन्त्रीमा नियुक्त भएका छन्।

चौधरी रौतहट निर्वाचन ३ को (क) बाट निर्वाचित भएका थिए। यस्तै जनमत पार्टीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेका सञ्‍जयकुमार यादव सिराहा निर्वाचन २ को (क)बाट निर्वाचित हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =