‘भारत जोडो यात्रा’ अन्त्य भएपछि उठेको प्रश्न : कता जाला राहुल गान्धीको राजनीति?

हिमाल प्रेस १९ माघ २०७९ २२:११
34
SHARES
‘भारत जोडो यात्रा’ अन्त्य भएपछि उठेको प्रश्न : कता जाला राहुल गान्धीको राजनीति?

काठमाडौँ- ‘भारत जोडो यात्रा मेरा लागि सबैभन्दा सुन्दर र गहिरो अनुभव रह्यो। यो अन्त्य होइन बरु सुरुवात हो,’ भारतीय कंग्रेसका नेता राहुल गान्धीले गत मंगलबार सामाजिक सञ्जालमा ट्विटरमा यस्तो लेखे। ‘भारत जोडो यात्रा’ अभियान श्रीनगरमा पुगेर अन्त्य भएको भोलिपल्ट राहुलले यस्तो लेखेका हुन्।

राुहलको पार्टी र कार्यकर्तालाई पनि आशा छ, यो केवल सुरुवात हो। सुरुवात पार्टीको पुनः उत्थानको। त्यो पनि आम निर्वाचन आउन धेरै समय बाँकी नरहँदा। भारतीय राजनीतिमा भारतीय जनता पार्टी (भाजपा) को जगजगी कायम भएको धेरै भयो।

यसकारण कंग्रेसका कार्यकता चाहन्छन्, आफ्नो पार्टी भाजपाविरुद्ध दह्रो खुट्टा टेकोस्। तब त उनीहरूलाई लागेका छ, ‘भारत जोडो यात्रा’ ले भाजपासँग लड्ने बलियो धरातल खडा गरेको छ।

‘भारत जोडो यात्रा’ सेप्टेम्बर ७ बाट सुरु भएको थियो। ३ हजार ५ सय ७० किलोमिटर लामो यो यात्राको पहिलो बिन्दू तामिलनाडुको कन्याकुमारीलाई बनाइयो। र टुंगियो काश्मिरको श्रीनगरमा। यात्राले भारतीय सञ्चारमाध्यममा राम्रो स्थान पायो। सामाजिक सञ्जाल राहुल र उनका सहकर्मीका फोटाले भरिए। ठाउँठाउँमा भएका स्वागतले कंग्रेसलाई प्रफुल्लित त बनायो नै।

यात्राले समग्रमा सकारात्मक ‘भाइब’ ल्याएको मान्नैपर्छ। तर यतिबेला स्वीकार गर्नुपर्ने अर्को महत्त्वपूर्ण तथ्य हो, राहुल र उनको पार्टीको वास्तविक परीक्षा भने अब सुरु भएको छ।

कुनै पनि पार्टीले आयोजना गरेको ‘यात्रा’ अराजनीतिक हुन सक्दैन। अनि नतिजा ल्याउन सकेन यस्तो ‘यात्रा’ लाई बिर्सन धेरै समय लाग्दैन। हो, ‘भारत जोडो यात्रा’ ले राहुलको छवि मजबुत बनाएको छ। तर यत्तिले मात्र उनको राजनीतिक भविष्य सुनिश्चित हुन सक्दैन।

‘भारत जोडो यात्रा’ ले सिर्जना गरेको वातावरणको आयु अर्को वर्ष हुने लोसभाको निर्वाचनसम्मका लागि मात्र हो। त्यसपछि त जे गर्छ नतिजाले गर्छ। फेरि एकपटक कंग्रेसले खराब नतिजा ल्याए, राहुलका लागि पुनरागमनको सम्भावना कठिन हुनेछ।

तत्काल सामना गर्नुपर्ने परीक्षा
यो वर्ष भारतका केही राज्यमा विधान सभाको निर्वाचन हुँदैछ। यही फेब्रुअरी महिनामा नागाल्यान्ड, मेघालय र त्रिपुराले निर्वाचन गर्दैछन्। यी तीन राज्यमा कंग्रेस पहिलो पार्टी बन्नसक्ने सम्भावना छैन। तर मे महिनामा कर्नाटक्कामा हुने निर्वाचनमा भने कंग्रेसले भाजपालाई पर्छानै पर्ने हुन्छ। यसो किन पनि भनिएको हो भने हाल कर्नाटक्कामा भाजपा सरकारको छवि बिग्रिरहेको छ।

दक्षिण भारतको यो राज्यका लागि कंग्रेसको तयारीमा राहुलको भूमिका महत्त्वपूर्ण हुनेछ। उसै पनि ‘भारत जोडो यात्रा’ का कयौँ दिन कर्नाटक्कामा बितेका थिए। जसको उद्देश्य यही थियो, आगामी निर्वाचनका लागि कंग्रेसको पक्षमा माहोल सिर्जना गर्ने। फेरि यो राज्यमा कंग्रेसको उपस्थिति कमजोर छैन। पार्टीका कयौँ लोकप्रिय नेता यही राज्यबाट उदाएका हुन्। अरु त अरु पार्टी सभापतिकै गृह राज्य हो कर्नाटक्का।

कठिन चुनौती

सन् २०२३ को उत्तराद्र्धमा भारतका तीन ठूला राज्यमा निर्वाचन हुने तालिका छ। तीमध्ये छत्तिसगढ र राजस्थानमा कंग्रेसको सरकार छ। मध्यप्रदेशमा भने कंग्रेसको सरकार दुई वर्ष मात्र टिक्न सक्यो। यी तीन राज्य कंग्रेसका लागि स्वाभाविक रुपमा महत्त्वपूर्ण छन्।

मार्च, २०२० मा २२ सासंद्ले पार्टी छाडेपछि सरकार ढलेका कारण कंग्रेस मध्यप्रदेशमा जसरी हुन्छ पहिलो पार्टी बन्न चाहन्छ। ताकि पार्टी एक ढिक्का रहेको सन्देश दिन सकियोस्।

कंग्रेसका लागि छत्तिसगढ अरु दुईभन्दा सहज हुने अनुमान गरिएको छ। उता राजस्थान भने कंग्रेसका लागि टाउको दुखाइ बन्न सक्छ। किनभने त्यहाँ मुख्यमन्त्रीको दाबेदार दुई ठूला नेता छन्, अशोक जेलोट र सचिन पाइलट।

हालका मुख्यमन्त्री जेलोट फेरि एकल्टि राज्य हाँक्न चाहन्छन् भने पाइलट आफ्नो दाबी छाड्ने पक्षमा छैनन्। यो लडाइँ मिलाउन राहुलका लागि सजिलो हुने छैन। साँच्चैभन्दा पार्टीको आन्तरिक द्वन्द्व राहुलको नेतृत्व क्षमता जाँच्ने परीक्षा हो।

प्रश्न राहुलमाथि नै
भारतीय कंग्रेस हाल मल्लिकाअर्जुन खड्गेको नेतृत्वमा भए पनि सबैले मानेको मुख्य नेता राहुल नै हुन्। फेरि अहिले ‘भारत जोडो यात्रा’ का कारण राहुलको कद केही हदसम्म बढेको पनि छ। उनलाई के लागेको छ भने, कंग्रेसका कार्यकर्ता मात्र होइन, भाजपालाई मन नपराउने सम्पूर्ण पंक्ति उनको पक्षमा उभिएको छ।

यस्तोमा राहुल आगामी निर्वाचनमा कंग्रेसको ‘पोस्टर ब्वाई’ का रुपमा खडा हुनेछन्। जित वा हार, नतिजा जस्तो आए पनि यसको जस वा अपजस राहुलले पाउनेछन्।

‘भारत जोडो यात्रा’ ले के देखाएको छ भने राहुल पार्टीको नीति अनुसार अनवरत रुपमा खटिन सक्छन्। लगभग पाँच महिना चलेको ‘भारत जोडो यात्रा’ ले राहुल ‘पार्ट टाइम’ नेता हुन् भन्नेहरुलाई झापड हानेको छ।

तर यहाँ के बुझ्न आवश्यक छ भने पार्टीको कुनै एक अभियान सफलतापूर्वक सम्पन्न गर्नु र निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउनु दुई फरक कुरा हुन्। राहुल पहिलो पक्षमा खरो उत्रिएका छन्। तर दोस्रो पक्षमा राहुल फेरि कमजोर साबित हुनसक्ने संशय अन्त्य भएको छैन।

यो संशय कम गर्ने एउटै तरिका छ, तीन ठूला राज्यमा सम्मानजनक परिणाम ल्याउने र कर्नाटक्कामा फेरि सरकार बनाउने। यदि यी दुई लक्ष्यमा असफल भए सन् २०२४ को लोकसभा निर्वाचन कंग्रेसका लागि बिर्सनलायकको हुने विशलेषकहरू बताउँछन्। त्यसोभए राहुलले आफूलाई ‘भारत जोडो यात्रा’ अघिकै स्थितिमा पाउनेछन्। उनका लागि यो स्थिति घुमीफिरी रुम्जाटार भने झैँ हुनेछ।

टाइम्स अफ इन्डियाको सहयोगमा

प्रकाशित: १९ माघ २०७९ २२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =