मोरङको लोहन्द्रा केराबारी वन कार्यालयमा महिनौंदेखि ताला

हिमाल प्रेस १९ माघ २०७९ २०:२९
4
SHARES
मोरङको लोहन्द्रा केराबारी वन कार्यालयमा महिनौंदेखि ताला

विराटनगर– मोरङको सुन्दरहरैँचा नगरपालिका- १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत १ महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन।

वन समितिको मिलेमतोमा रु ३० करोडभन्दा बढी आर्थिक अनियमितता भएको आरोप लागेको हो। उपभोक्ता मित्रसेन योञ्जनले ३० देखि ३५ करोड रुपैयाँ संस्थाका अध्यक्ष दीपनारायण खाँ र सदस्यसचिव सवडिभिजन वन कार्यालय सलकपुरका प्रमुख लाल माझीलगायतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाउँदै ताला लगाएको बताए।

वन कार्यालयको भवन निर्माणमा समेत भ्रष्टाचार भएको योञ्जनले बताए। ‘साझेदारी वन भए पनि विधान दर्ताबिनै काम भएर वन ऐनको निर्देशिकाविपरीत धेरै मात्रामा सालको काठ काटी भ्रष्टाचार गरिएको छ,’ उनले भने।

योञ्जनले वन ऐनअन्तर्गत साझेदारी वनको रूपमा दर्ता भएर सबैसामु नियमानुसार हिसाब पारदर्शीरूपमा सार्वजनिक भएपछि मात्र वन कार्यालयको ताला खुल्ने जानकारी दिए। योञ्जन सोही साझेदारी वनमा खाँसँग अध्यक्ष पदमा पराजित हुन्।

गत मंसिर १७ गते भएको वनको साधारणसभामा पनि पारदर्शिता नभएको, षड्यन्त्रपूर्ण ढंगले साधारणसभा गराएर पुरानै अध्यक्षलाई विजयी बनाएको स्थानीय उपभोक्ता गीतामणि दाहालले बताए। साझेदारी वनमा व्यापक अनियमितता हुने गरेको, सार्वसाधारण उपभोक्ताले प्रयोग गर्न नपाएर काठ कुहिएर त्यसै खेर गएको तथा आफूखुसी बिक्री वितरण भएको स्थानीय मिलन बस्नेतको भनाइ छ।

लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष खाँले वन व्यवस्थापन समूहका लागि भएको निर्वाचनमा हार स्वीकार गर्न नसकेर वन कार्यलयमा ताला लगाउने काम भएको बताए।

उनले आफू निर्वाचित भएर पनि अहिलेसम्म शपथ खान नपाएको गुनासो गरे। ‘निर्वाचित भएर पनि शपथ खान पाएको छैन, यो कहाँसम्मको न्याय हो,’ खाँले भने, ‘शपथ खाए त्यसबारेमा बोल्नेछु र सत्यतथ्य बाहिर ल्याउने छु, आफू अध्यक्ष भएर पनि काम गर्न पाएको छैन।’

साझेदारी वनका सदस्यसचिव तथा सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख माझीले लोहन्द्रा केराबारी साझेदारी वनमा कुनै पनि किसिमको भ्रष्टाचार नभएको उल्लेख गरे। उनले साझेदारी वन नियम तथा विधानअनुसार नै अघि बढेर काम भएको बताए।

साझेदारी वनमा व्यापक भ्रष्टचार भएको भन्दै स्थानीय उपभोक्ताले अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीमा उजुरीसमेत दिएका छन्। आयोग इटहरीका सूचना अधिकृत निरोज देवले साझेदारी वनमा भएको भ्रष्टाचारबारे अहिले छानबिन भइरहेको उल्लेख गरे।

लामो समयदेखि वन कार्यालयमा ताला लाग्दा केही स्थानीय उपभोक्ता अहिले मर्कामा परेका छन्। लोहन्द्रा केराबारी साझेदारी वनमा ३२ हजार घरधुरी संख्या तथा २ लाख ५० हजारभन्दा बढी उपभोक्ता रहेका छन्। यसको कार्यक्षेत्र ३२ वडाअन्तर्गत सुन्दरहरैँचा, बेलबारी नगरपालिका, विराटनगर महानगरपालिका, केराबारी, ग्रामथान, जदाहा, कटहरी गाउँपालिका रहेको छ। -राससको सहयोगमा

प्रकाशित: १९ माघ २०७९ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =