उद्योगीहरू प्रतिकूल समय र समस्यासँग जुध्‍न सक्नुपर्छ : ओली

हिमाल प्रेस १९ माघ २०७९ १९:३१
6
SHARES
उद्योगीहरू प्रतिकूल समय र समस्यासँग जुध्‍न सक्नुपर्छ : ओली फाइल तस्बिर।

विराटनगर– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवम् व्यवसायीले स्वस्थ ढंगले व्यापार अगाडि बढाउनुपर्ने बताएका छन्। सिएनआइ कोसी एक्स्पो-२०७९ को बिहीबार यहाँ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उद्योग, व्यापार र राजनीतिक सबै क्षेत्रमा विराटनगर पुरानो सहर भए पनि यसले पहिलो स्थान हासिल गर्न नसकेको भन्दै उनले कारण खोज्न आग्रह गरे। सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमले उद्योगी र व्यापारीको समस्या समाधान हुने उनले उल्लेख गरे।

व्यवसायी, उद्योगीहरूले प्रतिकूल समयमा निरास भएर आत्महत्या गर्नु राम्रो होइन भन्दै अध्यक्ष ओलीले समस्यासँग लड्न सक्नुपर्ने र समस्याको समाधान खोज्नुपर्ने बताए।

विराटनगरबाटै उद्योग, उद्योगी र व्यापार एवम् व्यवसाय सुरु भएको भन्दै अध्यक्ष ओलीले उद्योगको विकास गर्न सरकारले सहयोग गर्ने आश्वासन दिए। उद्योगी एवम् व्यवसायीले संगठनात्मक प्रतिस्पर्धा गर्नुभन्दा काम र उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ।

‘कुराले चिउरा नभिज्ने, सरकारले उद्योगी र व्यापारीको समस्या समाधान गर्न ठोस कदम चाल्नु पर्छ,’ उनले भने। गएको एक महिनादेखि देशको अर्थतन्त्रमा सुधार आएको भन्दै अध्यक्ष ओलीले आम्दानी कम र खर्च बढी हुने कारणले बजेट घाटा रहेको स्मरण गराए।

उनले नेपालको सबैभन्दा होचो भू-भाग केचनाकवलबाट सबैभन्दा अग्लो सगरमाथाबीचको विविधतालाई पहिचान गरी औषधि उत्पादन हुने उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गरे।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संघीय सरकार उद्योग प्रवर्द्धन र सहजीकरण गर्न तयार रहेको बताए। उनले उद्योग र उद्योगीका निम्ति सरकारले ल्याएको नीतिबाट निर्यात बढ्ने र अर्थतन्त्रमा सुधार आउने दाबी गरे।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले भर्खर पाँच वर्ष भएको प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठ्नु हतारमा बोलिएको हो भन्दै प्रदेश सरकारको काम हेरेर समीक्षा गर्नुपर्ने कुरामा जोड दिए।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले औद्योगिक मेलाले उपभोक्ता र उत्पादकबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्ने उल्लेख गरे। महानगरपालिकाको शंकरपुरमा लागेको सो मेला माघ २८ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १९ माघ २०७९ १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =