दुबईमा पाँच वर्ष बिताएका प्रेमले गाउँमै सुरु गरे उद्योग

हिमाल प्रेस १९ माघ २०७९ १४:५३
280
SHARES
दुबईमा पाँच वर्ष बिताएका प्रेमले गाउँमै सुरु गरे उद्योग

पर्वत– श्रमिकका रूपमा पाँच वर्ष दुबईमा बिताएपछि पर्वत पैँयू गाउँपालिका-६ साधनेका प्रेमचन्द्र भारतीले यतिबेला गाउँमै उद्यम सुरु गरेका छन्। गाउँमै केही गरौँ भन्ने उद्देश्यले उनले २५ लाख रुपैयाँ लगानीमा स्थानीयस्तरमै उत्पादित कृषिउपज तथा मसलाजन्य वस्तुको प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ सुरु गरेका हुन्।

दुबईमा काम गर्दा सोचे जस्तो कमाइ नभएपछि स्वदेश फर्किएर उद्यमी बनेको उनको भनाइ छ। उनले आगामी दुई वर्षमा यहाँ उत्पादित वस्तुलाई विदेशसम्म पुर्‍याउने योजनाका साथ काम अघि बढाइएको बताए। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न, उत्पादनको बजारीकरण गर्नका लागि अर्गानिक खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योगको स्थापना गरिएको उनको भनाइ छ।

उनले कोदो, मकै, बोडी, सिलाम, राज्मा, गुन्द्रुक, मस्यौरा, टीमुर, लोकल चामल, घिउलगायतका उत्पादनलाई संकलन, प्रशोधन तथा प्याकेजिङ गर्दै आएका छन्। उद्योगले हाल ‘गाउँले’ ब्राण्डमा फागुन १ देखि बजारमा पठाउने गरी तयारी गरेको गरेको उनको भनाइ छ।

‘स्थानीयतहमा उत्पादन भएका खाद्यान्न बजारसम्म नपुग्दा खेर जाने अवस्था थियो, बिक्री भएका उत्पादनले पनि उचित मूल्य नपाउने अवस्थालाई ध्यानमा राख्दै उद्योग स्थापना गरिएको हो,’ भारतीले भने।

स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको भनाइ छ। भारतीले सुरु गरेको उद्योगमा आवश्यक मेसिनरी उपकरण खरिदका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता ठकुरीले गरेका छन्। ‘पालिकाभित्र उद्योग सञ्चालन गरी व्यवसायी र आत्मनिर्भर बन्न चाहेमा सहयोग गर्छौ,’ उनले भने। -रासस

प्रकाशित: १९ माघ २०७९ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =