ललितपुरको कालेश्‍वर मन्दिर : जहाँ ‘कालले पनि तपस्या गरेको थियो’

हिमाल प्रेस १८ माघ २०७९ १८:३५
684
SHARES
ललितपुरको कालेश्‍वर मन्दिर : जहाँ ‘कालले पनि तपस्या गरेको थियो’

ललितपुर– ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो। यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन्। विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव

प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगमा महांकाल र दक्षिण-पश्चिम भेगमा बागमती गाउँपालिका पर्दछ।

महांकाल गाउँपालिका-२ गोटीखेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ कालेश्वर महादेव। कालेश्वर महादेव ललितपुर जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य हो, एक महत्त्वपूर्ण तीर्थस्थल हो, जहाँ कालले पनि तपस्या गरेको थियो भन्ने किम्बदन्ती छ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सतिदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर विश्वभ्रमण गर्दा हालको कालेश्वरमा आई कण्ठ पतन भएको थियो।

प्राचीनकालमा त्यस ठाउँमा काल पुरूषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कठोर तपस्या गर्दा गोटीखेलको घडघडा नदी र मसानखोलाको संगमस्थलमा रहेको वैतरणी नदीको जल र सिसवनमा रहेको अलौकिक चुनढुंगाको चन्दन घोटी लगेर यस पहाडको टुप्पोमा चढाउने गर्दथ्यो।

तपस्या थालेको धेरै वर्षपछि पौष शुक्ल नवमीको मध्यरातमा महादेव प्रकट भई कालपुरुषको तपस्याबाट प्रभावित भएर तिमीले स्थापना गरेको शिवलिंग तिम्रै नाममा प्रख्यात हुनेछ भनी वरदान दिएको र उसैको नामबाट स्थापित भएकोले कालेश्वर महादेव भनिएको भन्ने भनाइ छ।

कालेश्वर महादेवलाई ललितपुरको प्यांगाउँवासी आफ्ना आराध्यदेवका रूपमा लिएर कुलदेवताका रूपमा पुज्ने गर्दछन्। समुद्र सतहबाट करिब २ हजार ९ सय मिटरको उचाइमा रहेको यस मन्दिरमा हरेक चैत पूर्णिमाका दिन मेला लाग्ने गर्दछ। यस दिन प्याङगाउँलगायत ललितपुर, काभ्रे तथा मकवानपुर जिल्लाका हजारौँ भक्तजन दर्शनका लागि उपस्थित हुने गर्दछन्।

प्याङगाउँमा रहेको आंगःछे (देवस्थल) मा हरेक महिनाको औँसी र चतुर्थीको दिनको दुई पटक पूजा हुन्छ, जुन कालेश्वर महादेवकै आंगःछे हो। यसलाई कालेश्वर महादेवकै प्रतिमूर्तिको रूपमा ल्याएर प्रतिस्थापन गरिएको हो। तर यहाँभित्र जोसुकै जान मिल्दैन, यसका निश्चित नीतिनियम छन्। आंगःछे भित्र मूल पूजारी, गुठियार तथा नाइकेहरू मात्र जान पाउँछन्।

प्यांगाउँका नेवार पहिले ललितपुरको शंखु (हाल कोञ्ज्योसोम गाउँपालिका-२) मा बसोबास गर्थे। पौराणिककालमा प्यांगाउँलाई शंगु भनिन्थ्यो। हाल प्यांगाउँमा रहेको पाटी (फल्चा)मा अरिमल्लको पालाको शिलापत्र भेट्न सकिन्छ।

गाउँमा बसी आएकालाई नेवारहरूले गामों भन्दछन्। प्यांगाउँवासीलाई पनि चापागाउँ बजार, ठेचो, पाटनलगायतकाले पहिले पहिले गामों वा गामल भन्थे। पछि ०२१ सालतिरदेखि उनीहरूलाई गामोंको सट्टा ज्यापू वा महर्जन भन्न थालियो।

पौराणिक इतिहासअनुसार भक्तपुरमा बसोबास गर्ने मल्लराजाका सन्तान व्यापार वा सिकारको सिलसिलामा ललितपुरको शंखुमा गई बसोबास गर्दै गर्दा त्यहीँकी एक युवतीसँग प्रेम बस्न गई शारीरिक सम्बन्ध रहन गयो र सन्तान उत्पत्ति भए।

राजाका रखौटी श्रीमतीपट्टिका सन्तान भएकाले दरबारमा नस्वीकारिएपछि यस ठाउँमा बसेर संसारमा कतै नभएको अनौठो प्याङ (बाँस) को पाथी बनाएर बेचबिखन गरी खान लालमोहर लगाएर आदेश भएअनुसार यहाँ यो बस्ती बसेको र प्याङपाथी बनाउने चलन चलेको जनविश्वास रहिआएको छ।

शंखुमै रहँदाबस्दा एक दिन घुम्दै गिम्दीमा रहेको देउता खोला पुग्दा एकजना गामलले लहराबाट दूधजस्तै सेतो पदार्थ तपतप चुहिरहेको देखे। त्यसलाई पच्छ्याउँदै माथि माथिसम्म आउँदा कालेश्वर महादेवको शिवलिंग भेट्टाएको ऐतिहासिक कथा पनि छ।

कालेश्वरको टुप्पोबाट नै बग्दै गएको खोलालाई देउता खोला भनिन्छ। यसै बेलादेखि नै यस स्थानमा अवस्थित महादेवलाई शक्तिको रूपमा पूजा गर्न थालिएको बताइन्छ।

‘कालेश्वरको शिवलिंग धेरै पछिसम्म पनि खुला रूपमा रहेको थियो। यातायातको असुविधा, निकै ठूलो उचाइमा रहेको र बस्ती पनि नरहेको यस स्थानमा विकासका पूर्वाधार पुर्‍याउने र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सम्भाव्यताबारे सरकारी निकायलगायत सम्बन्धित कसैले पनि सोच्न सकेका थिएनन्,’ कालेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष चर सुन्दर महर्जनले भने,’आफ्नो कुलदेवता खुला रहेको र संरक्षण नभएको पाएपछि ०५२ सालतिर प्याङगाउँका १/२ जनाले गएर मूर्तिलाई बीचमा पर्ने गरी चारैतिर ढुंगाको गाह्रो लगाए। २ ढोका र झ्याल राखे। ५/६ घण्टा टाढा तल रहेको बागमती नदीबाट बालुवा र पानी बोकाएर माथि ढलान गरे।’

महर्जनका अनुसार ०७१ सालमा उक्त मन्दिरको भवन भत्कियो। प्याङगाउँवासी हेर्न आउँदा बिजोग लाग्दो स्थिति देखियो। उतिबेला गोटीखेल गाविस थियो, गाविसले पनि प्याङगाउँवासीको देउता भनेर बेवास्ता गरिराखेको अवस्था थियो।

अहिले पनि गोटीखेलवासीलगायत स्थानीय जनप्रतिनिधिले यो प्याङगाउँवासीको हो भनेर हेला गर्ने गरेको अध्यक्ष महर्जन बताउँछन्। विकासका पूर्वाधार पुर्‍याउन सके स्थानीय तहलाई नै पर्यटन व्यवसायमार्फत फाइदा पुग्नसक्छ, तर यहाँको पर्यटकीय सम्भावनाबारे स्थानीय सरकारसमेत ज्ञात छैन।

अहिले सिसवनमाथि देउराली भन्ज्याङसम्म सडक त पुगेको छ, तर थप पर्यटकीय पूर्वाधार पुर्‍याउन सम्बन्धित निकायको ध्यान पुग्ननसकेको स्थानीयवासी बताउँछन्। आफ्ना कुल देउताको संरक्षण र मन्दिरको पुनःनिर्माणमा कसैको चासो पुग्न नसकेपछि प्याङगाउँमा सम्बन्धित गुठियार र सरोकारवालाको भेला राखियो।

भेलाबाट साधारण तरिकाले भए पनि मन्दिर निर्माण गर्ने सल्लाहबमोजिम कम्तीमा पनि ८/९ लाख रूपैयाँ पर्ने इस्टिमेट निस्कियो। प्रत्येक घरधुरीबाट १/१ हजार रूपैयाँ अनिवार्य उठाउने निर्णय गरियो। सामग्री मन्दिरसम्म पुर्‍याउनका लागि पालैपालो सबै बोकेर जाने निर्णय भयो।

कालेश्वरको देब्रेपट्टि अग्लोडाँडा छ जसलाई बुर्जाडाँडा भनिन्छ। त्यहाँ ग्रीष्म ऋतुमा पनि चिसो हुने र तुवाँलो लाग्ने गर्दछ। जहिले पनि आफूभन्दामाथि बस्ने गुनासो गरेपछि उक्त डाँडो महादेवले आफू बस्ने कालेश्वरडाँडाभन्दा अग्लो हुने गरी पार्वतीका लागि बनाइदिएको भन्ने कथन छ।

त्यहाँबाट हिमालको दर्शनका साथै अनेकौं हरिया थुम्का देखिन्छन्। कालेश्वर जाने बाटोमा पर्ने सिसवन भीरमा ठूलो चट्टान सानो चट्टानमा अडिएको देख्न सकिन्छ।

यसरी पुग्न सकिन्छ

कालपुरुषले यही चट्टानमा चन्दन घोटेर कालेश्वर महादेवमा चढाउने गरेको धार्मिक विश्वास रही आएको छ। सोही चुनढुंगालाई स्थानीय तामाङ समुदायले चुनदेवीको रूपमा पुज्ने गर्छन्। देख्दै अचम्म लाग्ने उक्त बडेमानको ढुंगा ०७२ सालको महाभुइँचालो जाँदा पनि कसरी अडिएको होला भन्ने उत्सुकता जो कोहीलाई लाग्ने गर्दछ।

कालेश्वर मन्दिरको फेद देउरालीसम्म गाडी पुग्छ। गाडीबाट ओर्लेर थुम्को माथि रहेको मन्दिर पुग्न झन्डै २० मिनेट उकालो छ। गोटीखेलबाट कालेश्वर मन्दिर जाने बाटोमा रहेको सिसवन ‘होमस्टे’ मा बास बसेर बिहानै मन्दिरमा पूजा गर्न जान सकिन्छ। यस्तै गोटीखेलमा अत्याधुनिक सुविधासहित सहकारी रिसोर्ट (कोप रिसोर्ट) सञ्चालनमा छ। रिसोटैमा करिब ५० जना बस्न सक्ने सुविधा छ। त्यहाँबाट ३०/४० मिनेट गाडी यात्रापछि देउराली पुगिन्छ। अनि २० मिनेट पैदल हिँडेर मन्दिर पुगिन्छ।

लगनखेलबाट गोटीखेल करीब ५० किमिको दूरीमा रहेको छ। लगनखेलबाट ललितपुरको प्याङगाउँ बसपार्क हुँदै लेले, नल्लु, भारदेउ, सिमभञ्ज्याङ (चौघरे), कतवन भएर गोटीखेल जाने बस छुट्छन्। वैकल्पिक मार्गका रूपमा बनेपा पनौतीबाट खोपासी ढुंखर्क हुँदै कालेश्वरको फेदीबाट चन्दनपुर, गोटीखेल जान सकिन्छ। गोटीखेलबाट कालेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्दैनन्। कालेश्वर पुग्न गोटीखेलबाट करिब ४ घण्टा उकालो चढ्नुपर्छ भने ओर्लन करिब २ घण्टा समय लाग्छ।

कालेश्वरको टुप्पोबाट तराईलगायत काभ्रे, मकवानपुरका अधिकांश क्षेत्रका साथै गणेश र लांटाङ हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ। ऐतिहासिक धार्मिक महत्त्व बोकेको कालेश्वर पछिल्लो समय एक उत्कृष्ट र सम्भावनायुक्त पर्यटकीय क्षेत्रको रूपमा परिचित हुँदै गइरहेको छ। -राससको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =