राष्ट्रपतिमा प्रचण्डको अपेक्षा : एमालेबाटै होस्, ओलीको ‘एस म्यान’ नहोस्

किरण पौडेल १८ माघ २०७९ १८:४४
358
SHARES
राष्ट्रपतिमा प्रचण्डको अपेक्षा : एमालेबाटै होस्, ओलीको ‘एस म्यान’ नहोस् प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

‘हिजो भएको सहमति आज फेरबदल भयो। संसद्को सबैभन्दा ठूलो दलले विश्वासको मत दिएपछि हामीले नैतिकताका आधारमा पनि राष्ट्रिय सहमति गर्नुपर्छ’, नेकपा माओवादी  केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल भन्छन्, ‘हामीले कांग्रेसकै उम्मेदवार भनेका छैनौँ। सबैको मिल्दो जोकोहीलाई राष्ट्रपति बनाउनुपर्छ।’

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै राजनीतिक दलहरू उम्मेदवार चयनका लागि आन्तरिक परामर्शमा जुटेका छन्। राष्ट्रपति चुनावका लागि एक दलको मत पर्याप्त नहुँदा आपसी गठजोड गरेर उम्मेदवारी दिनुपर्ने अवस्था छ। राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले मतदान गर्न पाउँछन्।

प्रतिनिधिसभा र प्रदेशसभामा कुनै पनि दलको बहुमत नरहेकाले दलहरूबीच कसलाई अघि सार्ने भन्ने विषयमा छलफल जारी छ। आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २५ गते मतदान हुनेछ।

राष्ट्रपतिको चुनाव गोप्य हुन्छ। यसैले राजनीतिक दलको ‘ह्विप’ भन्दा बाहिर गएर जनप्रतिनिधिले मत हाल्ने सम्भावना उत्तिकै छ। राष्ट्रपति एमालेले पाउने विषयमा सत्तारूढ दल एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र जनमत पार्टीबीच सहमति भइसकेको छ।

पुस १० मा यी दलबीच माओवादीले प्रधानमन्त्री तथा एमालेले सभामुख र राष्ट्रपति पाउने सहमति भएको थियो। सोहीअनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए। सभामुख एमालेले पाएको छ। संसद्को चौथो दल स्वतन्त्र पार्टीबाट इन्दिरा राना उपसभामुखमा निर्वाचित भएकी छन्।

राष्ट्रपतिका विषयमा भएको सहमति कार्यान्वयन हुनेमा अन्योल छ। किनकि पछिल्लो समय सत्तारूढ गठबन्धनमा संकट देखिन थालेको छ। मुख्यतः सत्ता गठबन्धनमा दुई विषयले फाटो देखिएको हो। पहिलो, प्रधानमन्त्रीमा नेपाली कांग्रेसले विश्वासको मत दिएको छ। दोस्रो, स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरण।

प्रधानमन्त्री एवम् मओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमालेले राष्ट्रपति पाउने सहमति भएको भनिए पनि कांग्रेसले विश्वासको मत दिएपछि घटनाक्रम बदलिएको माओवादी नेताहरू बताउँछन्। कांग्रेसले ‘ह्विप’ जारी गरेर विश्वासको मत दिएको थियो।

‘ओलीसँग भागबन्डा गर्दा कांग्रेसले विश्वासको मत दिँदैन भन्ने विश्वासले गरिएको थियो,’ माओवादी सचिव दीनानाथ शर्माले भने, ‘तर कांग्रेसले समेत विश्वासको मत दिएपछि अब सबै दलको एक्लो उम्मेदवार बनाउनुपर्छ। जुन कांग्रेससहितको हुनेछ।’

शर्माको मात्र होइन, माओवादीका अधिकांश नेताको भनाइ यही छ। निरन्तरजसो बसिरहेको माओवादी पदाधिकारी र स्थायी समिति बैठकमा बोल्ने नेताहरूले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन्।

‘हिजो भएको सहमति आज फेरबदल भयो। संसद्को सबैभन्दा ठूलो दलले विश्वासको मत दिएपछि हामीले नैतिकताका आधारमा पनि राष्ट्रिय सहमति गर्नुपर्छ,’ माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल भन्छन्, ‘हामीले कांग्रेसकै उम्मेदवार भनेका छैनौँ। सबैको मिल्दो जोकोहीलाई राष्ट्रपति बनाउनुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणले पनि गठबन्धनमा संकट देखिएको छ। नागरिकतासम्बन्धी मुद्दाकै कारण लामिछाने उपप्रधानसहित गृहमन्त्री, प्रतिनिधिसभा सदस्य र पार्टी सभापति पद गएको छ। लामिछाने नागरिकता पुनः प्राप्त गरी पार्टी सभापति बनेका छन्।

उनी गृहमन्त्री नछाड्ने अडानमा छन्। लामिछानेका पक्षमा सत्तारुढ दल एमालेका अध्यक्ष ओलीसमेत देखिएका छन्। तर प्रधानमन्त्री दाहाल सकारात्मक छैनन्। लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री अनिच्छुक भएकाले पनि सत्तारुढ दलमा खटपट छ।

‘सरकार गठनका बेला भएको सहमति यति छिट्टै भुल्नुहुने छैन भन्ने विश्वासमा दृढ छु।’ -एमाले अध्यक्ष केपी शर्मा ओली

‘हामीले रविजीको नागरिकताको मुद्दाको अन्तिम फैसलाको पूर्णपाठ आएपछि मात्र गृहमन्त्री बनाउने भनेका हौँ। अहिले नै दिँदा जनताको भावनाविपरीत हुन्छ भनेका हौँ,’ माओवादी केन्द्रका नेता माधव सापकोटाले भने, ‘उहाँ त हिजो आफू फरक धारको राजनीति गर्ने, वैकल्पिक राजनीतिकर्मी भन्ने व्यक्ति हो। आजै तत्काल मन्त्री बन्नुपर्छ भन्नुहुन्छ भन्ने मलाई लाग्दैन।’ यही खटपटका कारण राष्ट्रपति चुनावमा सत्तारूढ दल एक नहुने देखिन्छ।

प्रचण्ड राष्ट्रपतिका विषयमा कांग्रेससँग पनि परामर्शमा छन्। ‘सर्वसम्मति’बाट राष्ट्रपति चुनिनुपर्ने उनको प्रस्ताव छ। एमाले भने आफ्नो अडानबाट टसमस भएको छैन। प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेको भागमा परेको राष्ट्रपति पदबाट आफू नभाग्ने बताउँदै आएको छ।

‘अहिले त्यस्तो के आइपर्‍यो र राष्ट्रपति सर्वसम्मति चाहियो,’ एमाले केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘हिजोका राष्ट्रपतिमा सर्वसम्मति भएका थिए र? अथवा एमालेकै उम्मेवारमा मात्र सर्वसम्मति गर्नुपर्ने हो र?’
रिजाल प्रतिप्रश्न गर्छन्, ‘उपराष्ट्रपति माओवादीको भागमा परेको छ। त्यो कांग्रेसलाई दिएर सर्वसम्मति गर्दा के हुन्छ?’ सत्तारुढ दलबीच राष्ट्रपतिकै विषयले तिक्तता बढेको छ।

यही कमजोरीमाथि खेलेर राष्ट्रपति हत्याउने दाउमा कांग्रेस छ। सर्वसम्मति गर्दै राष्ट्रपति कांग्रेसले पाउनुपर्ने नेताहरू बताउँदै आएका छन्। निर्वाचनमा माओवादीको सहयोगबाट आफ्नो उम्मेदवार जिताउने चाहना कांग्रेसको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले नै अघि सारेका व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्ने दाबी गर्दै आएका छन्।

यसै कारण कांग्रेसले प्रतिनिधिसभादेखि प्रदेशसभासम्म माओवादीलाई विश्वासको मत दिएको हो। ‘हामीले सरकार स्थिर बनाउन र सहज तरिकाले चलाउन विश्वासको मत दिएका हौँ। गठबन्धन फुटोस् भन्ने आशय हुँदै होइन’, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उहाँहरूको गठबन्धन कति भरपर्दो छ। त्यो त हामीलाई थाहा भएन।’

कांग्रेसले सभामुख निर्वाचनबाटै गठबन्धन फुटाउन चाहेको थियो। सभामुखमा पनि ‘आफूहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले गुन तिर्नुपर्ने’ कांग्रेस नेताहरूको माग थियो। तर त्यसो भएन।

के चाहन्छन् प्रचण्ड?

राष्ट्रपति निर्वाचनलाई लिएर प्रचण्ड सबैतिर परामर्शमा छन्। उनले यसबारे पार्टीभित्र यसबारे गम्भीर छलफल गरिरहेका छन्।

तीन दिनसम्म बसेको स्थायी समितिको बैठकमा अधिकांश नेताले एमालेलाई राष्ट्रपति दिनै नहुने अडान राखेका थिए। अब फेरि बिहीबार स्थायी समिति बैठक डाकिएको छ। पार्टीभित्रबाटै प्रचण्डलाई यस्ता अभिव्यक्ति दिएपछि प्रचण्ड अप्ठ्यारोमा छन्।

उनी एमालेसँगको पुरानो सहमति कार्यान्वयन गर्ने या नगर्ने भन्ने दोधारमा छन्। तर पनि पटकपटक प्रचण्ड र ओलीबीच छलफल भइरहेको छ। ओलीले भेटमा पुरानो सहमति कार्यान्वयन गर्न अनुरोध गरिरहेका छन्।

यस विषयमा बुधबार पनि ओली र प्रचण्डबीच छलफल भएको छ। बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सहमतिका आधारमा ख्यातिप्राप्त व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव गरेका छन्। अध्यक्ष प्रचण्डको भनाइ उधृत गर्दै उनी निकट स्रोतले भन्यो, ‘राष्ट्रिय सहमतिका आधारमा कुनै ख्यातिप्राप्त व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने नै हाम्रो प्रस्ट कुरा हो।’

जबाफमा ओलीले सरकार गठनका बेला एमालेलाई राष्ट्रपति दिने विषयमा भएको समझदारी स्मरण गराएका थिए। उनले भनेका थिए, ‘सरकार गठनका बेला भएको सहमति यति छिट्टै भुल्नुहुने छैन भन्ने विश्वासमा दृढ छु।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बालुवाटारमा भएको भेट। तस्बिर : ओलीको सचिवालय

प्रचण्ड निकट स्रोतका अनुसार भरसक सर्वसम्मतिबाट उम्मेदवार चुन्ने पक्षमा उनी छन्। ‘राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री सबैतिर मिलाएर जानुपर्छ भन्नेमा हुनुहुन्छ। उहाँ सर्वसम्मत चाहनुहुन्छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘मुलुकको आर्थिक संकट टार्न र समृद्धिको यात्रामा अघि बढ्न प्रधानमन्त्री सबैसँग सल्लाहमा हुनुहुन्छ।’

एकातिर कांग्रेसको विश्वासको मतले गर्दा प्रचण्ड अघि बढ्न सकेका छैनन्। उनी कांग्रेसलाई ‘गुन तिर्न’ पनि चाहन्छन्। उनी पुरानो सहमतिबाट पछि हटे वर्तमान गठबन्धन फुट्ने त्रासदीमा पनि छन्।तर  पछिल्लो एक महिनामा ओलीले विभिन्न विषयमा अंकुश लगाएको गुनासो प्रचण्डको छ।

उनले पार्टी पदाधिकारी बैठकमा पनि ओलीले हस्तक्षेप गरेको बताएका थिए। ‘हामीलाई चुनावमा चाहिँ एमाले सहज हुन्छ। सत्ता साझेदारी गर्दा कांग्रेस सहज हुँदो रहेछ,’ प्रधानमन्त्रीका सल्लाहकार गजुरेलले भने, ‘ओलीजीको शैली पनि त्यस्तै खालको छ। अरू नेताको जस्तो गुण छैन।’ तर सल्लाहकारले यसो भने पनि प्रचण्ड गठबन्धन फुटाइहाल्ने पक्षमा नदेखिएको माओवादीका नेताहरू बताउँछन्।

ओलीसँगको सहकार्य फुटाएमा प्रचण्डमाथि ‘वामपन्थी एकता’ भाँडेको आरोप लाग्ने निश्चित छ। यस्तै सहमति कार्यान्वयन नगरेको आरोप पनि उनले सहनुपर्नेछ। दोस्रो दर्जाका नेताको अथक प्रयासपछि एक भएका ओली-प्रचण्ड फेरि विभाजित हुनुहुन्न भन्ने पक्षमा एमाले-माओवादी नेता छन्।

‘ओली कमरेडलाई बाहिर्‍याउन बालुवाटारले अनेक खेल खेल्यो। अन्ततः शेरबहादुरजीले प्रधानमन्त्री नदिएपछि प्रचण्ड बालकोट पुग्नुभएको सत्य हो,’ एमाले नेता भानुभक्त ढकाल भन्छन्, ‘अब प्रधानमन्त्री बन्नेबित्तिकै हामीबाट बाहिर जानु हुन्न भन्ने मलाई लाग्दैन।’ ढकाल वामएकता हुनुपर्ने पक्षमा छन्। तर प्रचण्डलाई अहिले सरकार चलाउन सकस छ। उनी आफैँले यो विषय उठाएका छन्।

प्रचण्डले सोमबारको पदाधिकारी बैठकमा प्रभावशाली मन्त्रालय आफ्नो हातबाट फुत्किँदा ‘घेराबन्दी’ मा परेको बताएका थिए। तर पार्टी नेताहरू एमालेबाट बाधाबिनाको सहकार्य चाहेको बताउने गरेका छन्। सोही कारण प्रचण्ड ‘सर्प पनि मर्ने, लठ्ठी पनि नभाँच्चिने’ अस्त्र प्रयोग गर्ने दाउमा छन्।

‘मैले कतै/कसैलाई राष्ट्रपति बन्छु भनेको छैन,’ एमाले नेत्री गोमा देवकोटा भन्छिन्, ‘बाहिर चर्चामा आइरहेको छ। अचम्ममा छु। तर पार्टीले उठाए तयार छु।’

‘एमालेबाटै सबैले चाहेको उम्मेदवार भए एकदम सहज हुन्थ्यो भन्ने हो,’ माओवादीका एक पदाधिकारीले भने, ‘पहिलेका राष्ट्रपति पनि कार्यकारीको छाया जस्ता देखिए। अब त्यस्तो छान्नु हुँदैन।’
माओवादी एमालेसँगको पूर्वसहमतिबाट भाग्न हुँदैन भन्ने छ। तर यसमा एमालेले परिपक्व उम्मेदवार चयन गरे सहज हुने प्रचण्डको प्रस्ताव छ।

‘परिपक्व र खारिएको/मानिएको व्यक्ति राष्ट्रपति बनाउनुपर्छ भन्ने हो। यसका लागि कमरेड प्रचण्ड पनि तयारीमा हुनुहुन्छ। त्यस्तो पात्र एमालेमै भए अझ राम्रो,’ माओवादी प्रवक्ता एवं उपाध्यक्ष कृष्णबहादुर महरा भन्छन्, ‘एमालेको उम्मेदवार हुँदैन भन्ने पक्षमा हामी छैनौँ। तर उपयुक्त हुनुपर्छ।’

प्रचण्डको इच्छा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीजस्ता व्यक्ति भए उपयुक्त हुने देखिन्छ। ‘भोलिका दिनमा ओलीसँग सहकार्य नहोस् भन्ने बुझाइ (उहाँ)को छ,’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपतिको स्तरअनुसारको नेता भए मान्न तयार हुनुपर्छ।’

ओलीको इच्छामा बेखुस प्रचण्ड

ओली भने भरसक आफ्नै ‘किचन क्याबिनेट’को कसैलाई राष्ट्रपति बनाउन चाहन्छन्। प्रधानमन्त्री प्रचण्डलाई पनि ‘चेक एन्ड ब्यालेन्स’ गर्न आफ्नो निकट व्यक्ति राष्ट्रपति बनाउने चाहना ओलीको छ। एमालेमा अहिले ईश्वर पोखरेल, डोरमणि पौडेल, सोमनाथ अधिकारी ‘प्यासी’, गोमा देवकोटाजस्ता पात्र चर्चामा छन्।

चर्चामा रहेका पात्र भने आफू निकटका नेताले हल्ला गरेको बताउँछन्। ‘मैले कतै/कसैलाई राष्ट्रपति बन्छु भनेको छैन,’ एमाले नेत्री गोमा देवकोटा भन्छिन्, ‘बाहिर चर्चामा आइरहेको छ। अचम्ममा छु। तर पार्टीले उठाए तयार छु।’ देवकोटाजस्तै अन्य पात्र पनि उम्मेदवार भन्न तयार छैनन्।

यिनीहरूलाई पार्टीको नेताहरूले ‘चेपुवा’का रूपमा अघि सारेका हुन्। तर यी कुनै पनि पात्र प्रचण्डले चाहेका छैनन्। हुन त एमालेबाट राष्ट्रपति विद्यादेवी भण्डारी तेहेरिने चर्चा पनि छँदैछ। तर उनीप्रति पनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक छैनन्। अघिल्लो र हालको कार्यकालमा गरेका निर्णयले प्रचण्ड उनलाई फेरि निर्वाचित गर्ने पक्षमा छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =