लामिछानेका पक्षमा ओलीको दबाब, फर्कलान् त गृह मन्त्रालय?

हिमाल प्रेस १८ माघ २०७९ १४:१६
70
SHARES
लामिछानेका पक्षमा ओलीको दबाब, फर्कलान् त गृह मन्त्रालय? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लचक देखिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबपछि प्रधानमन्त्री प्रचण्ड लामिछानेलाई गृहमन्त्री बनाउने मनस्थितिमा पुगेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा ओलीले लामिछानेलाई गृहमन्त्रीमा पदस्थापन गर्नुपर्नेमा जोड दिएका थिए। जबाफमा प्रचण्डले लामिछानेमाथि अभियोग लागेर एउटा प्रक्रियामा रहेको अवस्थामा प्रक्रिया पूरा नहुञ्जेलसम्म गृहमन्त्रीमा पदस्थापन गर्दा त्यसले राम्रो सन्देश नजाने बताएका थिए।

तर ओलीको दबाबपछि प्रचण्ड लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिन सहमत भएको उनी निकट स्रोतले जानकारी दियो।

यसअघि लामिछानेसँग पटकपटक भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारको सफलता/असफलताका लागि गृह मन्त्रालयको कामकारबाहीको भूमिका रहने भएकाले आफ्नै पार्टीले राख्ने अडान लिएका थिए। यस्तै माओवादी बैठकमा भने उनले लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय नहुने धारणा राखेका थिए।

नागरिकता विवादसम्बन्धी परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेका सांसद पद खारेज गरिदिएको थियो। अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्ति प्रक्रियामा त्रुटि रहेपछि लामिछानेको मन्त्री र पार्टी सभापति पद गुमेको थियो।

आइतबार नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भइसकेका छन्। पार्टी सभापतिमा पुनः बहाल भएका लामिछाने गृह मन्त्रालय नछाड्ने अडानमा कहिले बालकोट र कहिले बालुवाटार धाउँदै आएका छन्। अन्य दलका नेताजस्तै पदीय लोलुपता देखाएको भन्दै लामिछानेको सर्वत्र आलोचना भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =