इटहरीमा सार्वजनिक जग्गा मिचेर बनेका १४ घर भत्काइयो

विवेक विवश रेग्मी १७ माघ २०७९ १८:५१
296
SHARES
इटहरीमा सार्वजनिक जग्गा मिचेर बनेका १४ घर भत्काइयो

इटहरी- इटहरीमा चार दिनको समयमा उपमहानगरले १४ वटा घर भत्काएको छ। सार्वजनिक जग्गा मिचेर बनेका १४ वटा घरमा उपमहानगरले डोजर चलाएको हो। शुक्रबारदेखि उपमहानगरका मेयर हेमकर्ण पौडेलकै उपस्थितिमा घर तथा संरचनामा डोजर चलाइएको हो। इटहरी ९ मा रहेका १४ वटा घरमा उपमहानगरले डोजर चलाएको छ।

‘इटहरी ९ नम्बर वडाका १४ वटा घरमा अहिलेसम्म डोजर चलाइएको छ,’ मेयर पौडेलले भने, ‘अब ६ नम्बर वडामा रहेका सार्वजनिक जग्गामा पर्ने संरचनामा डोजर चलाउने तयारी भइरहेको छ।’ सोमबारसम्म १४ वटा घर भत्काइएको र मंगलबार भने भत्किएका घर आसपास पन्छाउने काम भएको उनले बताए। उनका अनुसार इटहरीका सबै वडामा सार्वजनिक जग्गा मिचेर बनेका संरचनामा उपमहानगरले डोजर चलाउनेछ।

यसअघि उपमहानगरले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गामा पर्ने संरचना हटाउनका लागि अनुरोध गरेको थियो। अटेर गरेको अवस्थामा सबै ठाउँमा कडा नियम लागू गर्दै संरचना हटाइने मेयर पौडेलले बताए। सडक क्षेत्राधिकारभित्र बनेका संरचना खाली गराउनका निम्ति पटक–पटक जानकारी गराइएको उनले बताए।

‘इटहरी वडा नं. ९ र ६ को सडक खण्डमा पर्ने अनाधिकृत घर, टहरा, पसल वा अन्य कुनै प्रकारको निर्माण गरिएको संरचना सम्बन्धित धनीले आफ्नै खर्चमा हटाउनुहुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ को उपदफा ३ बमोजिम यो आदेश जारी गरिएको छ,’ उपमहानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूचना बमोजिम म्यादभित्र कुनै प्रकारको संरचना नहटाइए उपमहानगर आफैँले हटाउने हुँदा सार्वजनिक सूचना प्रकाशित गरिएको छ।’

(कुलो) पैनी मिचेर बनेका संरचना हटाइने तयारी भइरहेको उपमहानगरले जनाएको छ। इटहरीको ट्याङ्ग्रा र खेती खोला आसपास रहेका संरचनाले कुलो नै मिचेका कारण वर्षेनी बाढीको समस्याले इटहरीलाई पिरोल्दै आएको छ। इटहरीमा वर्षेनी बाढीको समयमा डुबान हुँदै आएको र उक्त बाढी नियन्त्रण गर्ने मुख्य एजेन्डा बनाएर चुनाव जितेका मेयर पौडेलले आफूँ डुबानमुक्त इटहरी बनाउन सकारात्मक र गम्भीर रहेको बताए।

६ लेन सडक विस्तारमा सहज 

निर्माणाधीन ६ लेन सडक परियोजनाका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवनले निर्माण कार्यमा असर पुर्‍याएको देखिएकाले तत्काल सडक क्षेत्राधिकारभित्रका भवन भत्काइने र चाँडै पैनी मिचेर बनाइएका संरचना भत्काइने उपमहानगरले जनाएको छ। घर भत्काउन सम्बन्धित धनीले अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनमा रहेको झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन। मुख्य चौकदेखि उत्तरतर्फको तरहरासम्मको ४ किलोमिटरभन्दा बढी क्षेत्रमा ६ लेन सडक विस्तार भइसकेको छ।

६ लेन सडक विस्तार आयोजनाकी इञ्जिनियर अस्मिता सुवेदीका अनुसार विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटर सडकमध्ये अब तरहराको पानीपियादेखि धरानसम्म विस्तार हुन बाँकी छ। जसमध्ये धरानको तीनकुनेदेखि सेउतीसम्म हाल निर्माणको काम भइरहेको सुवेदीले बताइन्।

२०६९ अन्तिमतिरदेखि निर्माण सुरु भएको ६ लेन सडक २०८० सालसम्म सक्ने आयोजनाले जनाएको छ। सात वर्षभित्र सक्ने लक्ष्य राखिएपनि पछिल्लोपटक २०८० सालसम्मका लागि समय थप गरिएको बताइएको छ।

यो पनि 

इटहरी उपमहानगर : सरकार नै नभएको अनुभूति!

 

राजमार्गमा पर्ने भवनमा इटहरी उपमहानगरले चलायो डोजर

 

 

प्रकाशित: १७ माघ २०७९ १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =