सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १७ माघ २०७९ १७:५४
10
SHARES
सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने,’‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ। यसपटक हामीले उक्त गल्ती दोहोर्‍याउनु हुँदैन। विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।’

‘यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’, प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो। राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो।’

राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ

सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने बताए। ‘मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीहरूको उर्जा र सम्मानलाई जोड दिनेछु। तपाईंहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस्,’ उनले भने, ‘मैले पनि अभिभावकीय भूमिका खेल्छु। तपाईंहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ। राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ। तपाईंहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस्।’

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका १२ वटा निकाय तथा कार्यालयका प्रमुखहरूले आ–आफ्नो निकाय र कार्यालयहरूको कार्यादेश, नीतिगत र संरचनागत स्थिति, प्राप्त उपलब्धि, सीमा, समस्या र सरकारसँग गरिएको अपेक्षाबारे संक्षेपमा बिफ्रिङ गरेका थिए।

प्रकाशित: १७ माघ २०७९ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =