अदालत देखाउँदै गृह मन्त्रालय आफैँसँग राख्ने प्रचण्ड रणनीति

हिमाल प्रेस १७ माघ २०७९ १७:३१
36
SHARES
अदालत देखाउँदै गृह मन्त्रालय आफैँसँग राख्ने प्रचण्ड रणनीति

काठमाडौंँ- सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतलाई देखाएर गृह मन्त्रालय आफैँसित राख्ने रणनीति अपनाएका छन्। सरकार निर्माण हुँदा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको थियो।

सर्वोच्च अदालतको फैसलाअनुसार गृह मन्त्रालयको नेतृत्व गरेको उक्त पार्टीका सभापति रवि लामिछानेले पद गुमाएपछि प्रधानमन्त्री प्रचण्ड आफैँले राखेका थिए। रास्वपाले भने लामिछानेबाट उक्त पद गुमे पनि आफ्नो पार्टीले नछाड्ने अडान लिएको छ।

प्रधानमन्त्री प्रचण्ड लामिछानेको नागरिकता विवादसम्बन्धी फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्री रास्वपालाई दिन नसकिने पक्षमा देखिएका छन्। रास्वपाका सभापति लामिछानेलाई सरकार सफल र असफल बनाउने विषय गृह मन्त्रालयको कामकारबाहीसँग जोडिएकाले आफ्नै पार्टीले राख्ने जबाफ दिएका प्रचण्डले माओवादी बैठकमा भने फैसलाको पूर्ण पाठ आएपछि मात्रै मन्त्रालयबारे निर्णय गरिने बताए।

यद्यपि रास्वपाका नेताहरू गृह मन्त्रालयको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा कुनै निर्णय नभएको बताउँछन्। अध्यक्ष प्रचण्डको आसयचाहिँ लामिछानेले नै गृह मन्त्रालय चाहेको भन्ने छ।

त्यसैले गृह मन्त्रालयको नेतृत्व कसले लिने भन्ने विषयमा सत्तारूढ माओवादी र रास्वपाबीच विवाद उत्पन्न भएको छ। यस विषयमा सभापति लामिछानेले मंगलबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै गृह मन्त्रालय नछाड्ने अडान लिएका थिए।

तर प्रचण्डले भने सरकार सफल र असफल बनाउने विषय गृह मन्त्रालयको कामकारबाहीसँग जोडिएकाले आफ्नै पार्टीले राख्ने जबाफ सभापति लामिछानेलाई दिएका थिए। रास्वपालाई भौतिक योजना मन्त्रालय दिन सकिने प्रचण्डको भनाइ थियो।

गृह मन्त्रालय गुमाउनुपरेमा सत्ता गठबन्धनबाटै बाहिरिने चेतावनीसहित सभापति लामिछाने बालुवाटारबाट बाहिरिएका थिए। लामिछानेको सचिवालयका एक सदस्यले भने, ‘सभापतिजीले प्रधानमन्त्रीसँग गृहमन्त्री हाम्रै पार्टीले पाउनुपर्छ भन्ने अडान दोहोर्‍याउनुभएको छ। गृह मन्त्रालय नपाएमा सरकारबाट बाहिरिनेसम्मको कुरा भएको छ।’

यसैबीच माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका बारेमा कुनै निर्णय नलिइने धारणा राखेका थिए। उनले गैरसांसदलाई मन्त्री बनाउँदा अन्य गैरसांसदले पनि इच्छा व्यक्त गर्ने भएकाले लामिछानेलाई तत्काल गृहमन्त्री नबनाइने स्पष्ट पारेका थिए।

अध्यक्ष प्रचण्डले गृह मन्त्रालयकै कारण गठबन्धन टुटाउने पक्षमा आफू नरहेको बताए। माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग अध्यक्ष प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौँ। सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोसिस छ।’ यस्तै पार्टी बैठकमा पनि अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँले राख्न सुझाव आएको प्रचण्डले बताएका छन्।

रास्वपाका एक नेताका अनुसार गृह मन्त्रालय पार्टीको भागमा आएपछि मात्रै सरकारमा पठाइने व्यक्तिको टुंगो लगाइनेछ। उनले भने, ‘पहिला त मन्त्रालय रास्वपाले नछाड्ने भन्ने अडान हो। अनि मात्रै कसलाई पठाउने भनेर पार्टीले टुंगो लगाउनेछ।’

सत्तारुढ अर्को घटक नेकपा एमाले भने सभापति लामिछानेलाई नै गृह मन्त्रालयको नेतृत्व दिनुपर्ने पक्षमा छ। गठबन्धनमा भएको सहमतिअनुसार लामिछाने पुस १० गते उपप्रधान एवम् गृहमन्त्री भएका थिए। सोहीअनुसार लामिछानेले प्रचण्डसँगको भेटमा गृह मन्त्रालय आफैँले पाउनुपर्ने र उपनिर्वाचन जितेर आउने दाबी गरेको बताइएको छ।

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन

गृह मन्त्रालय माओवादी आफैँंले राख्‍ने, रास्वपाको सरकार छाड्ने चेतावनी

 


प्रतिक्रिया

One thought on “अदालत देखाउँदै गृह मन्त्रालय आफैँसँग राख्ने प्रचण्ड रणनीति

  1. टेलिभिजनमा घोक्रो फुट्ने गरी नैतिकताको पाठ सिकाउनेले आफु नैतिकतामा बस्नुपर्दैन ? बहु पासपोर्ट, बहु नागरिक, बहुबिबाह, बहु बालबालिका, नक्कली पीडित खडा गरेर आसुको ब्यापार गर्ने आफै न्याधिस, वकिल र पुलिस भएर अरुलाई बेकुफ वनाउने भि.आई.पी ठग रबि लाम्छानेलाई कडा कार्बाही होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =