दुई निःशुल्क अन्तरबैंक एटीएम कारोबारको व्यवस्था खारेज, हरेक पटक १५ रुपैयाँ लाग्ने

हिमाल प्रेस १७ माघ २०७९ १५:१८
22
SHARES
दुई निःशुल्क अन्तरबैंक एटीएम कारोबारको व्यवस्था खारेज, हरेक पटक १५ रुपैयाँ लाग्ने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटीएम कारोबारमा रहेको मासिक दुईवटा निःशुल्क व्यवस्था खारेज गरेको छ।

राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा हरेक कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको हो।

यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक दुईवटा कारोबारसम्म निःशुल्कको व्यवस्था थियो।

दुईवटा निःशुल्क व्यवस्था खारेज गरेको राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क भने घटाएको छ। यसअघि मासिक २ वटाभन्दा बढी अन्तरबैंक एटीएम कारोबारमा २० रुपैयाँसम्म शुल्क लिन सकिने व्यवस्था थियो।

अब बैंक तथा वित्तीय संस्थाले हरेक अन्तर बैंक एटीएम कारोबारमा बढीमा १५ रुपैयाँसम्म शुल्क लिन पाउने भएका छन्।

मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढेको छ। मोबाइल बैंकिङ (क्यूआर कोड समेत) बाट यसअघि दिनमा २ लाखसम्म कारोबार गर्न सकिन्थ्यो। संशोधित व्यवस्थामा ३ लाख रुपैयाँ बनाइएको छ।

राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तरको सीमामा पनि संशोधन गरेको छ। यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार अब प्रतिदिन २ लाख रुपैयाँसम्म रकम पठाउन सकिने भएको छ।

त्यस्तै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन २ लाखसम्म पठाउन सकिने छ।

एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजारसम्म मात्रै पठाउन सकिने व्यवस्था थियो। उक्त व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले ५० हजार पुर्‍याइएको छ। वालेटबाट प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत् छ।

प्रकाशित: १७ माघ २०७९ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =