विश्वकप ट्रफी आफैँले मलाई बोलाएको हो : लियोनल मेस्सी

हिमाल प्रेस १७ माघ २०७९ १३:२१
8
SHARES
विश्वकप ट्रफी आफैँले मलाई बोलाएको हो : लियोनल मेस्सी

काठमाडौँ- लियोनल मेस्सीले विश्वकप ट्रफीले आफूलाई विजेता चुनेको अभिव्यक्ति दिएका छन्। अर्जेन्टिनाको एक स्थानीय रेडियोसँगको अन्तरवार्तामा मेस्सीले भनेका छन्, ‘सुनले बनेको त्यो ट्रफीले मलाई निम्तो दियो, मलाई लैजाऊ भन्यो।’

कतारी भूमिमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वकप च्याम्पियन बन्दा ३५ वर्षीय मेस्सीले दुई गोल गरेका थिए। निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि मेस्सीले गोल गरे।

‘ट्रफी आफैँले मलाई बोलाएको हो। त्यो सुन्दर रंगशालामा राखिएको मनमोहक ट्रफीलाई चुम्न मलाई कुनै अप्ठ्यारो भएन,’ मेस्सीले भने।

मेस्सी पाँचौँ प्रयासमा विश्वकप विजेता बनेका हुन्। मेस्सी नेतृत्वको अर्जेन्टिना सन् २०१४ को उपाधि भिडन्तमा जर्मनीसँग हारेको थियो। विश्वकपमा मात्र होइन कोपा अमेरिकामा पनि मेस्सी बारम्बार असफल भएका थिए। सन् २०२१ मा अन्ततः कोपा अमेरिका च्याम्पियन बनेको मेस्सीसम्मिलित अर्जेन्टिना त्यसअघि कोपा फाइनलमा तीनपल्ट पराजित भएको थियो।

‘मैले धेरै फाइनल हारेँ। यसरी लगातार असफल हुँदा कति पीडा हुन्छ भनेर बयान गर्न गाह्रो छ। हुनसक्छ त्यत्तिका पटक पीडा दिएपछि भगवानले मेरा लागि विश्वकप ट्रफी राखिदिएका हुन्,’ मेस्सीको भनाइ थियो।

मेस्सी सन् १९८६ पछि अर्जेन्टिनालाई विश्वकप जिताउने पहिलो कप्तान हुन्। यसअघि अर्जेन्टिना डिएगो म्याराडोनाको कप्तानीमा विश्व विजेता बनेका थियो।

‘म्याराडोनाको हातबाट विश्वकप ट्रफी लिने इच्छा थियो। तर उनले अर्जेन्टिना फेरि एकपटक विश्वकप विजेता बनेको हेर्न पाएनन्,’ मेस्सीले भने, ‘उनी हामी माझ छैननन्। तर मलाई लाग्छ उनले माथिबाटै मलाई शक्ति दिए।’

विश्वकप जितेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने अनुमान गरिएको थियो। तर उनले तत्काल संन्यास नलिने बताएका छन्। यद्यपि त्यसको नजिक पुगेको उनले स्वीकार भने गरेका छन्।

‘मैले जित्न बाँकी केही छ जस्तो लाग्दैन। अर्जेन्टिना र बार्सिलोनाबाट मैले लगभग सबै उपलब्धि हासिल गरेको छु,’ चार पटक च्याम्पियन्स लिग र १० पटक ला लिगा जितेका मेस्सीले भने।

प्रकाशित: १७ माघ २०७९ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =