धनुषाबाट फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँच जनाको खोजीकार्य जारी

हिमाल प्रेस १६ माघ २०७९ २१:३७
4
SHARES
धनुषाबाट फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँच जनाको खोजीकार्य जारी

धनुषा– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए।

हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ।

सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो। मिथिला नगरपालिका-६ का २८ वर्षीय महतोलाई सोमबार बेलुका पुनः पक्राउ परेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए। उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ। महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो।

महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो। प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको डीएसपी क्षेत्रीले बताए।

हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन्।

लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए। पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =