सहिदको सपना पूरा गर्न हातेमालो गरेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री

हिमाल प्रेस १६ माघ २०७९ ७:१६
2
SHARE
सहिदको सपना पूरा गर्न हातेमालो गरेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित उल्लेख गर्दै उनले सहिदका सपना पूरा गर्न आह्वान गरेका हुन्।

सहिद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘सहिदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने संकल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु’, सन्देशमा भनिएको छ।

प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास पनि लिएका छन्।

उनले दिवसको ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित सहिदको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वान गरेका छन्।

प्रकाशित: १६ माघ २०७९ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =