मनाइयो कुष्ठरोग दिवस

सामाजिक डरकै कारण खुल्दैनन् कुष्ठरोगी

हिमाल प्रेस १५ माघ २०७९ १९:४६
10
SHARES
सामाजिक डरकै कारण खुल्दैनन् कुष्ठरोगी

भक्तपुर-‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आइतबार भक्तपुरका ७० औँ विश्व कुष्ठरोग दिवस विविध कार्यक्रम गरी मनाइएको छ।

सो अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरले अन्तर्क्रियामा जिल्लामा कुष्ठरोगको विद्यमान अवस्था, समस्या र चुनौतीबारे सरोकारवालासँग छलफल गर्‍यो। कार्यक्रममा भक्तपुरमा तीन कुष्ठरोगी नियमित उपचारमा रहेको जानकारी दिँदै स्वास्थ्य कार्यालयका कुष्ठरोग फोकल पर्सन भोला पौडेलले ती तीनै जना जिल्लाबाहिरका स्थायी बासिन्दा भएको बताए।

उनले समाजमा अझै पनि कुष्ठरोगबारे अन्धविश्वासी धारणा रहेकाले सामाजिक विभेदको डरले कुष्ठरोगी सार्वजनिक रूपमा खुल्न नसकेको बताए। सामाजिक विभेदको डरकै कारण भक्तपुरका कुष्ठरोगी आनन्द वनलगायतका उपचार केन्द्रबाट नियमित औषधि सेवन गरिरहेको बताए।

उनले भक्तपुरमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा ० दशमलव ०२ जना रहेको र पत्ता लागेका नयाँ बिरामीको दर प्रति एक लाख जनसंख्यामा ० दशमलव ४६ जना रहेको जानकारी दिए।

भक्तपुरमा कुष्ठरोगको रोकथामका लागि सक्रिय बिरामीको खोजी गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कुष्ठरोगबाट हुने अपांगता रोकथामलगायतका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सेवाप्रदायकको क्षमता अभिवृद्धि, बहुऔषधि व्यवस्थापनलगायत कार्य गर्दै आइरहेको जानकारी दिए।

कार्यक्रममा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वपः अस्पतालका प्रमुख डा. रत्नसुन्दर लासिवाले भक्तपुरका कुष्ठरोगीले जिल्ला बाहिर कहाँ, कसरी उपचार गरिरहेको छ त्यसको विस्तृत विवरणसहितको तथ्यांक स्वास्थ्य कार्यालयले राख्नुपर्ने सुझाव दिए।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भक्तपुरमा अझै पनि जनचेतनाको अभावमा कुष्ठरोग, क्षयरोगजस्ता बिरामी लुकेर बस्ने गरेको बताउँदै अझै पनि सामाजिक चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औँल्याए।

प्रकाशित: १५ माघ २०७९ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 19 =