लुम्बिनीमा ‘शून्य पोलोथिन’ अभियान सुरु

हिमाल प्रेस १५ माघ २०७९ १६:२९
लुम्बिनीमा ‘शून्य पोलोथिन’ अभियान सुरु

बुटवल- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान सुरु भएको छ। आइतबार रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले अभियानको शुभारम्भ गरेका हुन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक सहयोगमा ग्रीनरी नेपाल संस्थाले सञ्चालन गरेको यो अभियान ६ महिनासम्म चल्नेछ।

पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ। सांसद घिमिरेले यसअघि आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शून्य खुला पोलिथिनमुक्त नगर बनाउन एक लाख बढी नगरबासीलाई सरसफाई अभियानमा सहभागी गराएको बताए।

उनले लुम्बिनीपछि रुपन्देही क्षेत्र नं. ५ का अन्य स्थानीय तहलाई समेत शून्य पोलोथिन बनाउन पहल गर्ने स्पष्ट पारे ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसाई लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएकाले शून्य पोलोथिन अभियानले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे । अभियानलाई सफल बनाउन ‘माई पकेट : माई फष्ट डष्टबिन’ अवधारणालाई लुम्बिनीमा पनि कार्यान्वयन गराइनुपर्नेमा उनको जोड छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले पोलिथिनजन्य फोहोरले पर्यावरण र जलवायु परिवर्तनमा नकारात्मक असर परेकोले सचेतना जरुरी रहेको बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले ६ महिनासम्म सरसफाई अभियान सञ्चालन गरी नगरलाई पोलिथिन शून्य बनाउने बताइन्। ग्रीनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा आफ्नो संस्थाका २२ जना स्वयंसेवक सचेतना अभिवृद्धिका साथै फोहोर संकलन, फोहोर वर्गीकरण र फोहोर बिसर्जनमा खटिने बताए।

प्रकाशित: १५ माघ २०७९ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =