अनधिकृत संरचनामा डोजर चलाइरहेको काठमाडौँ महानगरले देखेन आफ्नै भवनका टहरा

हिमाल प्रेस १५ माघ २०७९ १०:२४
36
SHARES
अनधिकृत संरचनामा डोजर चलाइरहेको काठमाडौँ महानगरले देखेन आफ्नै भवनका टहरा राष्ट्रिय सभागृहको भवनमाथि टिनले बारेर राखिएको वडा कार्यालय सँगै रहेका टहराहरू। तस्बिर-हिमाल प्रेस

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र शाहले जिम्मेवारी सम्हालेसँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काउने अभियान जारी छ। सहरका सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाइएकाे छ भने थापाथलीमा रहेको सुकुम्बासी बस्ती, अनामनगर देवीनगरमा रहेको अनधिकृत संरचनामा डोजर चलाइसकिएको छ। यस्तै वीर अस्पताल र ट्रमा सेन्टरको सडक फुटपाथमा चिया बेच्ने साना व्यापारीलाई पनि महानगरपालिकाले हटाइसकेको छ।

तर आफ्नै स्वामित्वको राष्ट्रियसभा गृहसँगै जोडिएको सिटी मार्केटको माथिल्लो तलामा रहेका टिनका टहरा भने महानगरपालिकाले हटाउन सकेको छैन।  आफ्नै भवन राष्ट्रियसभा गृहको पछाडि माथि फोहोर देखिने गरी बनाइएका टिनका टहरामा महानगरको आँखा पुगेको छैन।

उक्त टहरामा पुरानो बसपार्कमा निर्माणधीन काठमाडौँ भ्यू टावर निर्माणमा लगानी गरेका व्यवसायी मनोज भेटवालका कर्मचारी बस्दै आएका छन्। उनीहरूले त्यहाँ कार्यालय बनाएका छन्।

‘सर्वसाधारण व्यवसायीलाई सिटी मार्केटबाट महानगरपालिकाले हटाउन केही समय पहिले सूचना टाँसेको थियो। तर भेटवालका प्रतिनिधिहरू मार्केटको माथिल्लो तलामा अफिस राखेर बसिरहेका छन्। यसतर्फ महानगरपालिका किन मौन?,’ सिटी मार्केटमा व्यवसाय गर्दै आएका एक व्यवसायीले भने।

आफूहरूले महानगरपालिकाबाट स्वीकृति लिएरै व्यवसाय सञ्चालन गरेर बसेको भए पनि महानगरपालिकाले अनावश्यक दबाब दिएर हटाएको व्यवसायीहरूको गुनासो छ।

‘हामीले मार्केटमा व्यापार गर्न पाएनौँ। महानगरकै भवनमा उसकै अधिकार लाग्ने भएकाले हामी यसबाट हट्यौँ। तर हामीजस्तै व्यापारी भने सोही मार्केटको माथि कार्यालय नै खडा गरेर बसेको छ। यसबाट महानगरको गरिबमारा प्रवृत्ति देखिएको छ,’ ती व्यवसायीले भने, ‘हामीलाई हटाउन सक्ने महानगरले आफ्नै भवन माथिका फोहोर देखिने ती टहरा हटाउन किन नसकेको हो?’

अस्थायी रूपमा टिनले बारेर बनाइएका टहरा टुँडिखेलमा आयोजना हुने विभिन्न कार्यक्रममा आउने पाहुनाले प्रत्यक्ष देख्ने हुँदा यसले राष्ट्रियसभा गृहको सौन्दर्यमाथि प्रश्न उठ्नसक्ने देखिएको छ।

मेयर बालेन्द्र शाह र प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष रहेको सभागृहकै भवनको छतमा सो टहरा रहँदासमेत उनीहरूले किन त्यसलाई त्यहाँबाट हटाउन सकेनन् भन्ने देखिएको छ।

‘अरू तिरका अनधिकृत टहरा हटाउने तर आफ्नै भवनमाथि त्यस्तो टहरा हुँदासमेत मेयर बालेन किन चुप छन्? यसमा के रहस्य छ?,’ ती व्यवसायीले भने, ‘अगाडि त्यत्रो भ्यु टावर बनाउनसक्ने महानगरले छेउमा रहेको आफ्नै कार्यलायमा भने टिनको टहरा बनाएर किन सहरी सौन्दर्य बिगारेको हो? त्यसरी सरकारी भवनमाथि टिनले बारेर टहरा बनाउँदा त्यसले बाहिर कस्तो सन्देश दिन्छ?’

 महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारी भने मनोज भेटवालको जलेश्वर स्वच्छन्द निर्माण कम्पनीलाई महानगरपालिकाले त्यहाँ अस्थायी रूपमा कार्यालय राख्न सहमति दिए पनि हाल त्यहाँबाट सो टहरा हटाउन निर्देशन दिइसकेको बताउँछन्।

‘सिटी मार्केटको माथि रहेको वडा २८ को कार्यलयसँगै रहेको निजी कम्पनीको टहराहरू त्यहाँबाट हटाउन हामीले पत्र पठाइसकेका छौं। केही दिनमा नै त्यो कार्यालय त्यहाँबाट सर्छ,’ अधिकारीले हिमाल प्रेससँग भने।

उक्त निजी कार्यालय महानगरपालिकासँग स्वीकृति लिएर नै बसेको उनले बताए। अबको केही समयमा त्यहाँबाट सो कार्यालय हटाएर वडा कार्यालयले दिने सेवाहरू पञ्जीकरण, राष्ट्रिय परिचय पत्र वितरण जस्ता काममा त्यो ठाउँ उपयोगमा ल्याइने प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए।

‘त्यो ठाउँ वडाले नै मागिरहेको छ। केही समयमा नै ती टहराहरू हटाएर त्यहाँ वडा कार्यलयले दिने सेवा विस्तार गर्छौं,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eleven =