राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति जुटाउन खोज्नुका दुई कारण

हिमाल प्रेस १३ माघ २०७९ २३:१९
46
SHARES
राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति जुटाउन खोज्नुका दुई कारण फाइल तस्बिर

काठमाडौँ– राष्ट्रपति निर्वाचनका लागि सत्तारूढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको एउटै बटमलाइन देखिएको छ। माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसले औपचारिक रूपमा कुनै निर्णय नगरे पनि नेताहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। माओवादीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने निर्णय गरेपछि कांग्रेसका नेताहरू थप आशावादी बनेका छन्।

उपराष्ट्रपति भने जनता समाजवादीलाई दिन माओवादी र एमाले करिबकरिब सहमत भइसकेका छन्। सत्तारूढ दलहरूबीच भने राष्ट्रपति एमालेलाई दिने सहमति छ। यस्तो अवस्थामा सजिलै राष्ट्रिय सहमति जुट्ने देखिँदैन। माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोज्नुका प्रमुख दुई कारण यस्ता छन् :

१. कांग्रेस नचिढ्याउने प्रचण्ड रणनीति

माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेस राष्ट्रपति आफूले पाउने आसमा छ। प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुअघि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए।

उक्त भेटमा पदीय लेनदेनका विषयमा गोप्य सहमति गरिएको भन्दै कांग्रेस वृत्तमा नेतृत्वको आलोचना हुने गरेको छ। सोही भेटमा भएको सहमतिका आधारमा प्रचण्ड कांग्रेसलाई राष्ट्रपति पद दिन तयार छन्। सीधै निर्णय गर्दा सत्ता गठबन्धन अन्य घटकको साथ नपाउने बुझेका प्रचण्डले राष्ट्रिय सहमतिको मुद्दा अघि सारेका हुन्।

सोही आधारमा शुक्रबारको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति जुटाउने पहल गर्ने निर्णय गरेको हो। बैठकमा बोल्ने नेताहरूले राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्ने विषयमा आआफ्ना धारणा राखेका थिए।

बैठकपछि पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको बताए। बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोहीअनुसार अघि बढ्ने नीति लिएको उनको भनाइ छ।

उपाध्यक्ष महराले भने, ‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ। राष्ट्रिय सहमति कहाँ हुन्छ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ।’ माओवादीले राष्ट्रिय सहमतिका लागि अन्य दलसँग पनि छलफल गर्ने भएको छ। राष्ट्रिय सहमित गर्दा एमालेलाई धोका नहुने महरा बताउँछन्।

२. ओलीलाई थप शक्तिशाली बन्न नदिने!

पुस १० मा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दा एमाले अध्यक्ष केपी शर्मा ओली निकै शक्तिशाली ठानिएको थियो। संघीय सरकारको नेतृत्वमा प्रचण्डलाई छाडेर राष्ट्रपति, सभामुखसहित मुख्य पद र प्रदेश सरकारमा एमालेले वर्चस्व कायम गर्ने ओलीको चाहना थियो।

तर पुस २६ मा प्रचण्डले विश्वासको मत लिने दिनसम्म आइपुग्दा ओलीको शक्ति बिस्तारै कमजोर हुन पुग्यो। यसका दुई कारण छन्। पहिलो, नेपाली कांग्रेसले अप्रत्यासित रूपमा प्रचण्डलाई विश्वासको मत दिनु, दोस्रो, प्रदेशका सभामुख/उपसभामुख चयन र सरकार गठनमा पनि माओवादीबाट सोचेजति साथ नपाउनु।

यही बीचमा ओलीले अघिल्लो कार्यकालमा आफूले संसद् विघटन गरेको विषयलाई वैधानिकता दिन खोजेपछि माओवादी र कांग्रेस झस्किएका छन्। विगतमा ओली ‘प्रतिगमन’ तर्फ लागेको कुरा कांग्रेस माओवादीले भुलेका छैनन्।

राष्ट्रपति एमालेको भएमा प्रचण्ड सरकार ढलिहालेमा ओली सत्तामा आउन सक्छन् र अघिल्लो कार्यकालमा जस्तै राष्ट्रपतिसँग मिलेर असंवैधानिक गतिविधि गर्न सक्छन् भन्ने त्रास माओवादी र कांग्रेस दुवैमा छ। त्यसैले माओवादी सकेसम्म एमालेलाई राष्ट्रपति दिने पक्षमा छैन।

माओवादी निर्णयले कांग्रेसलाई बल!

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राष्ट्रलाई बचाउन सबै दलहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताएका थिए।

संविधान जोगाउन पनि सबै एक ठाउँमा रहनुको विकल्प नरहेको उनको भनाइ थियो। पौडेलले संविधान जोगाउन र निष्ठाको राजनीतिका लागि राष्ट्रिय सहमतिको कुरा उठाए पनि त्यसको मर्म भने राष्ट्रपतिमा सहमति होस् भन्ने बुझाइ कतिपयको छ।

पौडेल आफैँ राष्ट्रपतिका आकांक्षी हुन्। उनका समकक्षी नेताहरू प्रधानमन्त्री वा राष्ट्रपति भइसक्दा पनि पौडेल उपप्रधानमन्त्री र सभामुखसम्म भएका छन्। त्यसैले उनी यसपल्ट आफू राष्ट्रपति बन्ने पक्षमा छन्। विपक्षी दलसँग राष्ट्रपतिका लागि मत नरहेकाले उनले राष्ट्रिय सहमतिको कुरा अघि सारेका हुन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले अघि सारेका व्यक्ति नै राष्ट्रपति निर्वाचित हुने दाबी गर्दै आएका छन्। अर्का महामन्त्री गगनकुमार थापा पनि शक्ति सन्तुलनका लागि कांग्रेसले नै राष्ट्रपति पद पाउनुपर्ने पक्षमा छन्। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरकफरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतिमा कांग्रेसले राष्ट्रपति पाउनुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले भनेका छन्, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि स्वाभाविक रूपमा कांग्रेसका उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा सघाउनुपर्छ।’
माओवादीसँगको सम्बन्ध नबिग्रियोस् भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी बैठक पटकपटक सार्दै आएका छन्।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

पार्टी बैठक रोकेर विवाद टार्ने देउवा रणनीति

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =