गौतमका विषयमा नेपाल र खनालबीच मतभेद

हिमाल प्रेस १३ माघ २०७९ १३:१४
244
SHARES
गौतमका विषयमा नेपाल र खनालबीच मतभेद

काठमाडौँ- वामदेव गौतम एकीकृत समाजवादी प्रवेश गर्ने तयारीमा छन्। समाजवादी अध्यक्ष माधव नेपालकै पहलमा गौतम समाजवादी प्रवेश गर्न लागेका हुन्। गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी छ। समाजवादीका एक नेताका अनुसार गौतमलाई पार्टीको तेस्रो वरीयतामा राखिनेछ।

‘हामीसँग सकारात्मक कुरा गर्नुभएको छ। सम्भवतः निकट भविष्यमै प्रवेश गर्नुहुनेछ,’ गौतमका पूर्व प्रेस सल्लाहकार एवं एकीकृत समाजवादीका नेता विश्वमणि सुवेदीले हिमाल प्रेससँग भने, ‘उहाँ(गौतम)लाई पार्टीमा झलनाथ खनालभन्दा पछाडिको वरीयतामा राखिने भन्ने छ।’

एकीकृत समाजवादी गठन हुँदा नै गौतम प्रवेश गर्ने तयारी गरेका थिए। पार्टीमा जनताको बहुदलीय जनवाद (जवज) नराखेपछि गौतम प्रवेश गरेनन्। अहिले उनी प्रवेश गर्न राजी भएका छन्।
‘सिद्धान्तका बारेमा पार्टीभित्रै गएर संघर्ष गर्ने सहमति छ। जबजको अडान छ नै,’ सुवेदीले भने।

समाजवादीभित्र भने गौतमको विषयलाई लिएर दुईधार बनेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल गौतमलाई जसरी पनि प्रवेश गराउने पक्षमा छन्।

नेपालले आफू निकट नेता मानिने बेदुराम भुसाललाई समेत गौतमसँग सल्लाहका लागि पठाउने गरेका छन्। पार्टीले थ्रेस होल्ड नकाटेको, कार्यकर्ता एमाले फर्किएको विषयमा उनी चिन्तित देखिन्छन्।
तर सम्मानित नेता झलनाथ खनाल पक्ष भने गौतमका विषयमा असन्तुिष्ट छ। पार्टीले जबज छाड्न नहुने र अहिल्यै वामदेव प्रवेश सम्भावना नरहेको भन्दै असन्तुष्ट बनेको छ। खनाल समाजवादीको विधान निर्माणकर्ता हुन्। उनी एमालेमै रहँदा पनि जबजविरुद्ध थिए।

खनालले समाजवादी बनेसँगै जबज ‘समय सान्दर्भिक नभएको’ भन्दै पार्टीमा अटाएनन्। वामदेवको प्रवेशपछि खनाल पक्षसँग विवाद हुने देखिन्छ। खनाल सिद्धान्त त्याग्नै नहुने पक्षमा छन्।
कम्युनिस्ट सिद्धान्त छाड्न नहुने भएकाले पार्टी नेता बढाएर मात्र केही नहुने उनको भनाइ छ।

एकीकृत समाजवादीका एक नेताले भने, ‘विचार नमिलेसम्म आउनु र जानुको केही अर्थ छैन। वामदेवसँग विचार मिलेको छैन।’ गौतमले विचार रूपान्तरण गरेर आएमा पार्टीमा अटाउन सकिने सम्भावना रहेको ती नेताले बताए।

‘अस्थिर र महत्त्वाकांक्षी गौतम’

पार्टीमा गौतमका कारण सधैँ विवाद हुँदै आएको देखिछ। नेताहरू गौतममाथि अस्थिर र महत्त्वाकांक्षी स्वभावका भएकाले सधैँ विवादमा आउने गरेको दाबी गर्छन्। झलनाथ, माधव र केपी शर्मा ओली एकै ठाउँमा रहँदा पनि वामदेवकै कारण विवाद उत्पन्न हुन्थ्यो। कहिले ओलीतिर त कहिले नेपालतर्फ उनी उभिन्थे।

गौतमले आफ्नो प्रवृत्ति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि छाडेनन्। प्रतिनिधिसभा निर्वाचनमा हारे पनि प्रधानमन्त्री बन्ने आकांक्षा राखेका कारण पार्टी नेतृत्व सधैँ तनावमा रह्यो। राष्ट्रियसभा सदस्य बने पनि उनको प्रधानमन्त्री बन्ने आकांक्षा पूरा भएन।

नेकपा विघटनपछि गौतम कतै लागेनन्। समाजवादीका नेताहरूसँग नजिक भए पनि गौतमले नेकपा एकता राष्ट्रिय अभियान नामको पार्टी खोले। पत्नी तुलसा थापालाई पदाधिकारीमा राखेको भन्दै उनको आलोचना भयो।

तुलसा एमालेको समानुपातिक सांसद थिइन्। यतिकैमा गौतमले तत्कालीन पाँचदलीय गठबन्धनबाट चुनाव लड्ने भन्दै प्रचण्ड र माधव नेपालसँग सहमति गरे। तर गठबन्धनले सिट नदिएपछि चुनाव लडेनन्। एक्लिएका गौतम अब समाजवादी प्रवेश गर्न लागेका छन्।

२०५० सालमा एमाले संगठन विभाग प्रमुख भएका गौतम २०५३ मा संसद्‌बाट अनुमोदित महाकाली सन्धिका विपक्षमा उभिएपछि २०५४ मा एमालेबाट अलग भए। त्यसपछि नेकपा माले गठन गरेका गौतम २०५८ मा आइपुग्दा एमालेमै फर्किए। २०५६ को चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि उनी एमाले फर्किएका थिए। त्यतिबेला  सीपी मैनाली लगायतले गौतमको कडा आलोचना गरेका थिए।

शान्तिप्रक्रियापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री भएका बेला उपप्रधानमन्त्री भए गौतम। गौतमकै प्रस्ताव र पहलमा उनका समकालीन नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री बनेका थिए।

२०७४ मा बर्दिया १ बाट चुनाव हारेपछि ओझेलमा परेका गौतम राष्ट्रियसभा सदस्य बनेका थिए। एमालेबाट अलग भएका गौतमले वामपन्थी एकताका लागि राखेको प्रयास पनि सफल हुन सकेन। त्यसैले उनी अहिले कुनै दलमा सक्रिय छैनन्।

विगतमा आफ्नै पहलमा प्रधानमन्त्री बनेका खनाल र नेपाल एकीकृत समाजवादीमा छन्। त्यसैले वामदेवलाई पनि सोही दलमा भित्र्याउने चर्चा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =