एकीकृत समाजवादीले तत्काल कुनै दलसँग एकीकरण नगर्ने!

हिमाल प्रेस १४ माघ २०७९ ११:०१
22
SHARES
एकीकृत समाजवादीले तत्काल कुनै दलसँग एकीकरण नगर्ने!

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पनि राजनीतिक शक्तिसँग एकीकरण नगर्ने भएको छ। एकीकरणका लागि विभिन्न दलसँग जारी वार्ता तत्कालीन कार्यगत एकताका लागि मात्रै रहेको नेकपा एकीकृत समाजवादीका एक शीर्ष नेताले हिमाल प्रेससँगको कुराकानीमा बताएका हुन्।

यद्यपि विचार मिल्ने वामपन्थी शक्तिहरूसँग पार्टी एकीकरणका लागि ढोका खुला राख्ने नीति एकीकृत समाजवादीको छ। माओवादी केन्द्र, जनता समाजवादी, एमालेलगायतसँग एकीकरणका लागि एकीकृत समाजवादीले पहल जारी राखेको चर्चा भइरहेका बेला ती नेताले यस्तो दाबी गरेका हुन्। ती नेताले भने, ‘पार्टी संगठन बलियो बनाएर मात्र विचार मिल्नेसँग शक्तिसँग एकताका लागि पहल हुनेछ। त्यसमा विचार मिल्ने वामपन्थी शक्ति प्राथमिकतामा पर्नेछन्।’ तत्कालका लागि कार्यगत एकता भने जनसुकै पक्षसँग गर्न सक्ने एकीकृत समाजवादीको नीति छ।

एमालेबाट चोइटिएर २०७८ भदौ २ गते निर्वाचन आयोगमा दर्ता भएको एकीकृत समाजवादीले स्थानीय तथा प्रदेशसभा एवम् प्रतिनिधिसभा निर्वाचनमा सोचेजति परिणाम ल्याउन सकेको छैन। कांग्रेस, माओवादीसँग चुनावी एकता गर्दा पनि संघीय संसद्‌मा राष्ट्रिय दल बन्न सकेपछि एकीकृत समाजवादीको अस्तित्व संकटमा परेको टिप्पणी गर्न थालिएको छ। सोही कारण पनि कुनै दलसँग एकीकरण गर्नैपर्ने दबाबमा नेताहरू छन्। तर आफ्नो विगत भुलेर तत्काल कुनै शक्तिमा मिल्ने सम्भावना नरहेको स्वयं नेताहरू बताउँछन्।

एकीकृत समाजवादीका ती नेता भन्छन्, ‘पार्टीमा कम्युनिस्ट आन्दोलनको लामो अनुभव भएका नेताहरू छन्। आफ्नो अनुभवलाई किनारा लगाएर गैरकम्युनिस्टसँग एकता गर्ने सम्भावना नै छैन।’ वैज्ञानिक समाजवाद भन्ने आफ्नो दलको लक्ष्यमा मिसिन आउने शक्तिसँग मात्रै एकीकरण हुन सक्ने ती नेताले बताए।

‘उपेन्द्र समाजवादी हुन सक्दैनन्’

पछिल्लो समय एकीकृत समाजवादीले वार्ता जारी राखेको एउटा दल हो उपेन्द्र यादव नेतृत्वको एकीकृत समाजवादी पार्टी। उपेन्द्र वामपन्थी पृष्ठभूमिको भए पनि उनको लक्ष्य समाजवादतर्फ नरहेको बुझाइ एकीकृत समाजवादीका नेताहरूको छ। तर उपेन्द्रलाई परिवर्तनकारी शक्तिका रूपमा भने एकीकृत समाजवादीले स्वीकार गरेको छ।

उपेन्द्रले पार्टीको नाम समाजवादी राखे पनि समाजवादमा पुग्ने लक्ष्य उनको नरहेको एकीकृत समाजवादीका नेताहरू बताउँछन्। परिवर्तनकारी भए पनि समाजवादमा पुग्न नचाहेन र व्यक्तिगत स्वार्थको राजनीतिमा सक्रिय भएकाले उपेन्द्रलाई एकीकृत समाजवादीका नेताहरू पत्याएका छैनन्।

आफू कमजोर भएपछि एकताका लागि जुनसुकै दलसँग पनि हात पसार्ने प्रवृत्ति उपेन्द्र यादवको छ। तर उनीसँग एकता गरेका दलका नेताहरू कि त पार्टीबाट कमजोर भएका छन् या त पार्टीबाटै अलग भएका छन्।

कुनै बेला आफूसँगै रहेका डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतो यति बेला उपेन्द्र यादवसँग छैन।

प्रचण्डलाई बालुवाटार प्रवेश गरेपछि मात्रै एकता चाहिने!

एकीकृत समाजवादीका नेताहरूले माओवादी केन्द्रसँग पनि तत्काल एकताको सम्भावना देखेका छैनन्। माधव नेपाल पक्ष प्रचण्डसँग नजिक हुन खोजे पनि पार्टीका अधिकांश नेताहरू माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्याउने पक्षमा छैनन्। एकीकरणका लागि माओवादीले हल्ला मात्रै फिँजाइरहेको एकीकृत समाजवादीका नेताहरू बताउँछन्।

ती नेताले भने, ‘अहिले एकताको कुरा गर्नु आफू शक्तिशाली बनेर हालीमुहाली गर्ने प्रचण्डको रणनीति मात्रै हो।’ चुनावअगाडि एकीकृत समाजवादीले माओवादी र जसपासहित विचार मिल्ने शक्तिबीच मोर्चा बनाउने प्रस्ताव गरेको थियो।

माओवादी अध्यक्ष प्रचण्डले त्यसलाई अस्वीकार गर्दा मोर्चा बन्न सकेन। पहिला वामपन्थी शक्तिबीच मोर्चा बनाएपछि कांग्रेसलगायतका दलसँग चुनावी एकता गर्ने समाजवादीको प्रस्ताव थियो।

एकीकृत समाजवादीका ती नेता भन्छन्, ‘हामीले चुनावभन्दा अगाडि वामपन्थीहरूबीच जसपासहित मोर्चा बनाऔँ अनि त्यसै आधारमा अरूसँग चुनावी सहकार्य गरौँला भनेर प्रस्ताव गरेका थियौँ। प्रचण्डले सुनेनन्।

जब बालुवाटार प्रवेश गरे त्यसपछि वामपन्थी एकताका कुरा उठाउनु जायज होइन।’ सत्तामा जानुअगाडि एकताका लागि पहल नगरेको तर सत्तामा पुगेपछि वाम एकताको ‘लोभ’ देखाएर प्रचण्ड आफू मात्रै शक्तिशाली बन्न खोजेको बुझाइ एकीकृत समाजवादीका नेताहरूको छ।

समाजवादी क्रान्ति अवलम्बन गर्नसँग एकता हुन्छ : खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित अध्यक्ष झलनाथ खनाल भने कांग्रेससँग त कार्यगत एकता गरेर आएको अवस्थामा वामपन्थी शक्तिसँग कार्यगत एकताका लागि पहल हुनु स्वाभाविक रहेको बताउँछन्। तर पनि गैरकम्युनिस्टसँग एकता गर्ने कुरा कल्पना गर्नै नसकिने उनको भनाइ छ। खनालले भने, ‘कम्युनिस्ट सिद्धान्त अवलम्बन गरेको शक्तिसँग एकता हुन सक्छ।’

एकीकृत समाजवादी पुँजीवादी क्रान्ति सकिएको निष्कर्षमा पुगेको छ। पार्टी अब समाजवादी रूपान्तरणको यात्रामा छ। ‘यही विचारसँग मिल्न आएमा एकीकरण हुन सक्छ। संवाद अगाडि बढ्दै जाँदा त्यस्तो अवस्था पनि आउन सक्छ।’

उनले अबको पाँच वर्ष उथुलपुथल, अनिश्चिय र अस्थिरताको समय भएकाले सम्भावनाका बारेमा सीमारेखा कोन नहुने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, ‘राजनीतिमा सम्भावना अनेकौँ हुन सक्छन्। समाज परिवर्तन चाँडाचाँडो भइरहेको छ। मानिसका आवश्यक अनन्त हुन्छन्। त्यसको प्रभाव राजनीतिक समीकरणमा पनि पर्न सक्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =