घारखोला जलविद्युत्‌बाट चैतभित्र उत्पादन सुरु हुने

हिमाल प्रेस १२ माघ २०७९ १५:२६
6
SHARES
घारखोला जलविद्युत्‌बाट चैतभित्र उत्पादन सुरु हुने

काठमाडौँ-  म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धन रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ।

आयोजनाले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ। हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परीक्षण गर्ने तयारी भएको आयोजना कार्यालयले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिला बगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ। बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) बनाइएको छ।

डिसेन्डरदेखि सुरुङसम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ। बाँध, डिसेन्डर र एप्रोच क्यानलको पहिलो चरणको परीक्षण सफल भएको आयोजनाको भनाइ छ। अमिला काफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान भएको छ। आउटलेटदेखि विद्युत्गृहको दुरी १ हजार २०० मिटर र उचाइ ४८५ मिटर छ।

विद्युत्गृहमा टर्बाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकलतर्फका उपकरण जडान भइरहेको छ। इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका छन्।

सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले ९८ प्रतिशत भौतिक संरचना निर्माण सकेको बताएको छ। पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म ८ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्न थालिएको छ।

२०७४ चैतमा सुरु भएको घारखोला २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको आयोजनाले जनाएको छ। २ अर्ब ४२ करोडको लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकको नेतृत्वमा एनआइसी एशिया, कुमारी र प्राइम कर्मसियल बैंकले कर्जा लगानी गरेका छन्।

प्रकाशित: १२ माघ २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =