हिमाल प्रेस वार्ता

परराष्ट्रलाई थाहै नदिई हुने कूटनीतिक कार्यमा गम्भीर र निर्मम हुनेछु : परराष्ट्रमन्त्री विमला राई पौड्याल [अन्तर्वार्ता]

चन्द्रशेखर अधिकारी ११ माघ २०७९ १०:२७
208
SHARES
परराष्ट्रलाई थाहै नदिई हुने कूटनीतिक कार्यमा गम्भीर र निर्मम हुनेछु : परराष्ट्रमन्त्री विमला राई पौड्याल [अन्तर्वार्ता] फाइल तस्बिर। रासस

हामी दुई ढुंगाको तरुल बनेर बस्ने होइन्। फस्टाउन सक्नुपर्छ। हाम्रो छवि तरुलजस्तो छैन र हुनु पनि हुँदैन। हामी निकै फैलिएका छाैँ र फैलिन सक्छौँ। हामीले आफूलाई भूपरिवेष्टित भन्नु भन्दा भूजडित भन्नु राम्रो हुन्छ। यद्यपि भूजडितबाट फाइदा लिने-नलिने हाम्रो कूटनीतिक र राजनीतिक कौशलमा भर पर्छ।

डा. विमला राई पौड्याल परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्ने तेस्री महिला हुन्। बर्मामा जन्मिएकी उनले विद्यालय शिक्षा विराटनगरमा पूरा गरेपछि चितवन पुगेर कृषिविज्ञान पढिन्। त्यसपछि धनकुटाको पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्रमा काम गर्दै गर्दा बेलायत सरकारको छात्रवृत्तिमा मेनचेस्टर पुगेर स्नातकोत्तर गरिन्। त्यति बेला विमला दम्पतीले नै बेलायतको छात्रवृत्ति पाएका थिए।

विमला हक्की स्वभावकी स्पष्ट वक्ताका रूपमा चिनिन्छिन्। सक्रिय राजनीतिमा संलग्न हुनुअघि पौड्याल एक्सनएड, डिएफआइडी, स्विस विकास सहयोग नियोगजस्ता अन्तर्राष्ट्रिय निकायमा काम गर्थिन्। यसबाहेक विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर अनुभव हासिल गरेकी उनी महिला सशक्तीकरणको अभियन्तासमेत हुन्।

पौड्यालको राजनीतिमा झुकाव भने विद्यार्थीकालदेखि नै थियो। उनीसँग तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अर्थ तथा योजना समिति सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा रहेर काम गरेको अनुभव छ। यस्तै उनी राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सदस्य छिन्। उनले करिब डेढ वर्ष राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरिन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको विकास मामिला विज्ञ सल्लाहकार भइसकेकी पौड्याल राष्ट्रपतिबाटै राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी हुन्। २०७४ मा संसद् प्रवेश गरेकी पौड्याल पहिलोपटक मन्त्री बन्दा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउन सफल भइन्। एमालेका तर्फबाट परराष्ट्रमन्त्री बनेकी उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कूटनीतिक सारथी हुन्। उनै विज्ञ विमलासँग परराष्ट्र मन्त्रालय प्रवेश गर्दाको अनुभव र प्रथामिकतामा केन्द्रित रहेर हिमालप्रेसका  चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :

परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको छ। कस्तो अनुभूति गरिरहनुभएको छ?

परराष्ट्र मन्त्रालय प्रायः महिलाको भागमा परेको थिएन। कतिपय अवस्थामा त परराष्ट्र मन्त्रालय रोजाइमा पनि पर्दैनथ्यो। तर अहिले आफूले पाउँदा गौरवको अनुभूति भइरहेको छ। मैले कूटनीतिक सेवामा काम नगरे पनि विभिन्न विदेशी सहयोग नियोगमा काम गरेको अनुभवका आधारमा कूटनीतिको शैली र प्रक्रिया बुझेकी छु। तर पनि कताकति चुनौती अनुभव हुँदैछ। अलिक बढी जिम्मेवारीबोध भएको छ।

नेतृत्वले दिएको महत्त्वपूर्ण जिम्मेवारीलाई कसरी पूरा गर्ने योजनामा हुनुहुन्छ त?

मेरो सीप र क्षमता परराष्ट्रमा ‘फिट’ हुने देखेर नै नेतृत्वले मलाई जिम्मेवारी दिएको हो। पढाइ र कामको ‘एक्सपोजर’ ले गर्दा म परराष्ट्रसँग सम्बन्धित कतिपय विषय बुझ्छु पनि। साथै कतिपय स्थानमा मैले गरेका कामले पनि प्रभाव पारे होलान्। यो सामान्य जिम्मेवारी होइन। यहाँ आन्तरिक र बाह्य दुवै पक्षको संयोजन गर्नुपर्छ। विगतका राम्रा अभ्यास हेरेर काम गर्ने प्रयास हुनेछ। मैले त नेतृत्व दिएर स्थायी संयन्त्रलाई सक्रिय बनाउने हो। म त्यसमा लाग्नेछु। प्रधानमन्त्री, उपप्रधानमन्त्री सबैसँग समन्वय गरेर कर्मचारीको भूमिका सक्रिय बनाएमा मात्र कूटनीति सफल हुन्छ। एक्लै अघि बढ्दा केही उपलब्धि हासिल हुँदैन। संयोजन गरेर नै म अघि बढ्नेछु। क्षमतालाई डोर्‍याएर लैजानेछु। ‘टिम वर्क’मा विश्वास राख्नेछु।

म कृषि (भुइँमान्छेले गरिरहेका कर्म) को विद्यार्थी हुँ। खासगरी कूटनीतिमा आर्थिक विकास, छिमेकी र अन्य सम्बन्ध, सिमाना, क्रसबोर्डर यातायातको पहुँचलगायतका कुरा आउँछन्। सचेत नागरिकका हैसियतमा मैले पनि केही समस्या देखेकी छु। सर्वप्रथम त्यस्ता स्थानमा ‘हिट’ गर्नेछु। अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति भन्ने विषय बुझेर मात्र हुँदैन, त्यसलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्छ। म त्यो काममा लाग्नेछु।

जिम्मेवारी सम्हालेको पहिलो दिनमै असंलग्न कूटनीतिको प्रसंग उठाउनुभयो। हाम्रो पुरानो कूटनीतिक पहलकदमीलाई ब्युँझाउन खोज्नुभएको हो?

हाम्रो नीति नै असंलग्न हो। हामी कुनै पनि मुलुकको स्वार्थका पक्षमा उभिँदैनौँ। भौगोलिक अवस्था हेरेर पनि ठूलो-सानो वा पक्ष-विपक्ष भनेर बाहिर उत्रन मिल्दैन। असंलग्न नीति हाम्रो कूटनीतिको ‘फ्रेमवर्क’ हो। हाम्रो संविधानमा पनि यही प्रावधान रहेकाले यसमा तत्काल परिवर्तन गर्न सकिँदैन। पञ्चशील, असंलग्न नीति, राष्ट्रसंघको बडापत्र आदिका आधारमा राष्ट्रिय स्वार्थ गाँसिएको सबै विषयमा हामी सजग रहनुपर्छ। तर असंलग्न भन्ने अनि पक्षमा गएर भोट दिने काम गर्नु हुँदैन। द्विविधा हुँदा ‘अब्स्टेन्ट’ गर्ने स्थान हुन्छ। तर हामी कतिबेला असंलग्न नीतिबाहिर रहन्छौँ जुन विषय विश्वको चासोको पक्षमा हुन्छ।

जलवायु परिवर्तनको असर, मानवअधिकार, शान्ति, आतंकवादविरुद्धको अभियान, लागूऔषध नियन्त्रणजस्ता विषयमा हामीमा पक्षमा हुन्छौँ। कुनै मुलुक विशेषको स्वार्थको पक्ष र विपक्ष हुँदा मात्र सन्तुलित हुने हो। शान्ति हाम्रो मूलमन्त्र हो। हामीले त्यसकै वकालत गरेर नेपालको शान्तिप्रक्रियाको ‘मार्केटिङ’ गर्न आवश्यक छ।

प्रतिबद्धता कार्यान्वयनमा केकस्ता रणनीति अपनाउँदै हुनुहुन्छ?

म खासगरी सेवा दिने विषयमा केन्द्रित रहनेछु। लाखौँ नेपाली विदेशमा गएर काम गरिरहेका छन्। नेपालमै अवसर भए पक्कै विदेशी भूमिमा जाँदैन थिए। त्यसैले विदेश जाने प्रक्रिया सहज बनाउने, पासपोर्ट सहज रूपमा बनाउने, कन्सुलर सेवा दिने, विदेशमा रहेका नियोगले पनि नेपालीको समस्यामा चासो दिने जस्ता कार्यलाई चुस्त र दुरुस्त बनाउने योजना छ। परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको समस्या सुन्ने र समाधान गर्ने काम गनुपर्छ। नेपालीले विदेशमा बदमासी गरे पनि उनीहरूलाई नेपालसम्म इज्जतको साथ ल्याउने काम गर्नुपर्छ। बरु यहाँ ल्याएपछि कारबाही गर्ने हो। त्यस्तो सन्देश फैलाउन सक्नुपर्छ।

कूटनीतिलाई अब्बल बनाउनचाहिँ?

हाम्रो कूटनीतिक प्राथमिकता भनेको छिमेक, त्यसपछिका मुलुक, खाडी राष्ट्र, शक्ति मुलुक, विकास साझेदार मुलुकलगायतसँग सहकार्य र समन्वय गर्ने हो। मित्रता सबैसँग राख्ने, शत्रुता कसैसँग नगाँस्ने सोच हुनुपर्छ। त्यही सिद्धान्तमा अडेर कतै नढल्कने गरी काम गर्नेछु। मुलुकको चिनारी दिन बनेको मन्त्रालयको भूमिका पक्कै धेरै हुन्छ। यसलाई सामान्य रूपमा लिएर आफूखुसी भेटघाट गर्ने र सम्झौता हुन्छ भनेर प्रतिबद्धता जनाउने जस्ता कार्य मबाट हुँदैन। त्यसलाई एकद्वार प्रणालीमा ल्याउन आवश्यक छ। म त्यसमा सक्रिय हुनेछु।

विदेशी राजदूतले नेपाली नेतालाई सोझै भेट्न नदिने संयन्त्र बनाउन खोज्नुभएको हो?

त्यति मात्र होइन। पत्राचारसमेत सीधा भएका घटना पाएकी छु। महत्त्वपूर्ण सम्झौतामा पनि परराष्ट्र मन्त्रालयलाई जानकारी नदिईकन एकैपटक सम्झौता हुँदा मात्रै दूतावासबाट प्रतिनिधि बोलाउने गरेको पाइन्छ। यस्ता विषयमा म गम्भीर र निर्मम हुनेछु। हाम्रो नेतृत्वले राजदूतसँग भेट्नै नहुने भन्ने होइन। फुर्सदमा भेटे हुन्छ। तर भेटको सबै अभिलेख कतै त रहनुपर्‍यो नि। त्यससँग सम्बन्धित निकाय परराष्ट्र मन्त्रालय हो। यस्ता भेटघाटमा सधैँभरि राजनीतिक लेनदेन मात्र हुन्छ भन्ने हुँदैन। कतिपय समयमा हाम्रो मुलुकको दीर्घकालीन हितका विषयमा पनि कुरा भएको हुन सक्छ। यस्ता भेटले कतिपय विषयमा सुधार भएका उदाहरण पनि छन्। जस्तै- श्रम क्षेत्र, विद्यार्थी जाने मुलुकमा विद्यार्थीलाई परेको मर्का लगायतका विषय यसमा पर्छन्।

हाम्रो भूराजनीतिक परिस्थिति जति नाजुक भनिए पनि त्यस्तो छैन। बाहिर एक प्रकारको भाष्य बनाइएको छ। त्यसलाई चिर्न सक्नुपर्छ। हाम्रा नागरिक विदेशमा छन्। कतिपय त्यहीँको नागरिक भएका छन्। उनीहरूलाई हाम्रो सेवा खासै चाहिँदैन। तर नेपाली नै भएर रहनेलाई हाम्रो सेवाको ठूलो महत्त्व हुन्छ। पहिलेपहिले राजदूत मात्र विदेशमा हुन्थे तर अहिले त सबै नेपाली हुने भएकाले अलमलिनु हुँदैन। अब त अन्तर्राष्ट्रिय साझा मुद्दामा कसरी हामी अघि बढ्ने भन्ने नै हो।

दुई ढुंगाको तरुल भनेर चिनिँदै आएको नेपाललाई पछिल्लो समयमा कतिपयले ‘बफर जोन’ भन्न थालेका छन्। यसलाई कसरी बुझ्नुहुन्छ?

हामी दुई ढुंगाको तरुल बनेर बस्ने होइन्। फस्टाउन सक्नुपर्छ। हाम्रो छवि तरुलजस्तो छैन र हुनु पनि हुँदैन। हामी निकै फैलिएका छाैँ र फैलिन सक्छौँ। हामीले आफूलाई भूपरिवेष्टित भन्नु भन्दा भूजडित भन्नु राम्रो हुन्छ। यद्यपि भूजडितबाट फाइदा लिने-नलिने हाम्रो कूटनीतिक र राजनीतिक कौशलमा भर पर्छ। हामी सही ‘ट्र्याक’ मा रहेर सम्बन्ध सुदृढ गर्दा आत्मविश्वास बढ्नेछ। हामीले छिमेकीलाई ढुंंगाका रूपमा नलिएर निकै बलियो भनेर सम्झनुपर्छ। छिमेकीसँग भएको राम्रा अभ्यासबाट लाभ लिनुपर्छ। हामी आफैँ चेपिने कुरा गर्नु हुँदैन। हीनताबोध भएर कुरा गर्दा धेरै विषयमा पछि पर्ने हुनाले त्यसमा चनाखो र स्पष्ट हुनुपर्छ। कतिपयले ‘भाइब्रेन्ट पुल’ त कतिपयले दुई मुलुकको ‘ट्रान्जिट’ बन्ने कुरा पनि गर्नुभएको छ। त्यसैले हामी आफैँले आफ्नो महत्त्व देखाउने हो। आफूलाई महत्त्व नदिई अरूको कुरामा ध्यान दिँदा परिस्थिति बिग्रन सक्छ। त्यसैले कुनै राजनीतिक विषयमा भूराजनीतिक कारणले ‘बफर’ भएको अनुभूति गर्न सकिएला तर त्यही मानसिकतामा रहनु हुँदैन। हामी न तरुल भएर खुम्चिएका छौँ न ‘बफर’ हौँ। हाम्रो आफ्नै विशेषता छ।

विदेशस्थित नेपाली दूतावासलाई आफ्नो घर अनुभूति हुने बनाउँछु भन्नुभएको छ। दूतावासको कार्यशैली चुस्त नभएर त्यस्तो भन्नुभएको हो?

म पनि विभिन्न मुलुकमा रहेका हाम्रो दूतावासमा पुगेकी छु। त्यो भन्दा पनि मैले नेपाली श्रमिकहरूले पाएको दुःख अनि न्यायका लागि ओत माग्न खोज्दा भएका घटना पढेकी छु। समस्यामा परेपछि नेपाली नागरिक कुनै पनि मुलुकको आफ्नो दूतावासमा जुनसुकै बेला पुग्न सक्छन्। यस्तो बेलामा हाम्रा कूटनीतिज्ञले उनीहरूलाई आफ्नो घरमा आएको अनुभूति दिलाउन सक्नुपर्छ। हामीले त्यहाँ आवश्यक पर्दा ‘सेल्टर’को समेत व्यवस्था गर्नपर्छ।

हाम्रा श्रमिक जताततै छन्। त्यहाँबाट रेमिट्यान्स पठाइरहेका छन्। उनीहरूको अवस्था ख्याल गर्ने, श्रम सम्झौता गराउँदा विशेष निगरानी गर्ने, नेपालीहरू काम गर्ने कम्पनी भ्रमण गर्ने, समस्या बुझेर सम्बोधनका लागि पहलकदमी गर्ने जिम्मेवारी कूटनीतिक नियोगकै हो। म त्यसलाई दृष्टिगत गरेर काम अघि बढाउनेछु। दूतावास र कूटनीतिक अधिकारीका कारण कुनै नेपालीको शिर निहुरिने अवस्था आएमा म चुप लागेर बस्दिनँ। गल्ती गर्नेलाई छाड्न हुँदैन। दण्डित गर्नैपर्छ।

यहाँबाट काम गर्न जाँदा नेपालीहरूले विदेशको अवस्था बुझेका हुँदैनन्, दूतावासले कोटा ठिक छ त भन्छ तर त्यसमा प्रशिक्षण/अभिमुखीकरणको व्यवस्था हुँदैन। यसबाट कतिपय नेपाली दुर्घटनामा परेका हुन्छन्। अरूले गरेका खराब कामको भागीदार नेपाली नै हुने जस्ता घटना पनि भइरहेका छन्। त्यस्ता पक्षलाई सुधार्न म सबै नियोग प्रमुखहरुसँग कुरा गर्नेछु। मन्त्रालयका महाशाखालाई सक्रिय बनाएर त्यहाँको कामको गतिविधि सूक्ष्म रूपमा नियाल्न निर्देशन दिनेछु। समस्या भए समाधानका लागि केही न केही उपाय निकाल्नेछौँ। दूतावासमा ‘लोकल स्टाफ’ थप्ने कि यताबाट पठाउने, त्यसको फाइदा-बेफाइदा केलाएर निर्णय लिनेछु।

विदेशमा रहेको राजदूत आफैँ नेपाली समुदायसँग सवालजवाफमा उत्रिने होइन, सहजीकरण गर्ने हो। समस्या परेपछि तयसको उपाय खोज्ने काम दूतावासकै हो। दूतावास त्यहाँका लागि घरमूली हो। अभिभावक हो। यस्ता विषय राजदूतको कार्यसम्पादन मूल्यांकनमा जोडिन्छ। बाहिरका हुन् या ‘करिअर’ हुन्।

धेरैको सरोकार रहेको पासपोर्ट वितरण सहज कसरी बनाउने?

पासपोर्ट वितरणमा रहेको समस्याको चुरो फेला परिसकेको छ। अब त्यसलाई चुस्त बनाउन केन्द्रित हुनेछु। नेपाली नागरिकले सहजै पाउँदै आएको पासपोर्टका लागि एमआरपी लिन आउँदा लागेजसरी भीड देखिन्छ। एमआरपी सुरु हुँदा नारायणहिटी अगाडि निकै लामो लाइन देखिन्थ्यो। अहिले त्रिपुरेश्वरमा ई-पासपोर्ट लिनेको भीड देखिएको छ। समयमै सेवा नपाएपछि नियमित काम भएको भनेर बुझिँदैन। जिल्लामा पनि समन्वय हुनुपर्छ। जिल्लाबाट किन कम र राहदानी विभागमा बढी भीड हुनुको कारण पहिचान गरी गृह मन्त्रालयसँग छलफल गरेर टुंगोमा पुग्नेछौँ।

यसबाहेक प्राथमिकतामा रहेका अन्य विषय केही छन् कि?

दुईपक्षीय तथा बहुपक्षीय सहयोगमा निर्माण हुन लागेका विकास आयोजना किन अलपत्र परे? त्यसको काम कसरी अघि बढाउने लगायतका विषयमा छलफल गर्नेछु। विकास सहयोगलाई कसरी साँच्चै विकास गर्नुपर्ने स्थानमा लैजाने भन्ने विषयमा पनि ध्यान दिनुपर्छ। विकास सम्झौता सम्बन्धित मन्त्रालयमार्फत कसरी अघि बढाउने भन्ने पनि समस्या छ। अनि राजनीतिक रूपमा हामी कहाँ छौँ? छिमेक, सार्क र बाँकी विश्वले हामीलाई कसरी हेरिरहेको छ? त्यसमा पनि ध्यान दिनेछु। खाडीमा काम गर्न गएका नेपालीको उद्धारमा ‘जिरो टोलोरेन्स’ हुनुपर्ने मान्यता छ। शव ल्याउन समस्या छ। त्यसलाई समाधानतर्फ लैजानेछु।

परराष्ट्रका कर्मचारीको कार्यशैली कस्तो लागेको छ?

ठिकै लागेको छ। मैले अन्यत्र पनि काम गरेकी छु। अन्यत्रको तुलना गर्दा परराष्ट्रका कर्मचारी अलिक अब्बल हुन् कि जस्तो लागेको छ। तर सबैमा त्यो लागू नहुन सक्छ। यद्यपि अहिलेसम्म राम्रै छ। हाम्रा कर्मचारी कमजोर छैनन् तर प्रशिक्षणको पक्कै अभाव छ। जुन सीप र कौशल प्रयोग गर्नुपर्ने हो त्यो भएको देख्दिनँ। कतिपय विषयमा ‘कम्युनिकेसन ग्याप’ देख्छु। जस्तै : विदेशीसँग कुनै पनि सहयोगमा हस्ताक्षर गर्नुअघि परराष्ट्रले पढ्नैपर्छ। अनि ‘कमेन्ट’ गर्नैपर्छ। यस्तो भएको पाइँदैन।

सोझै डिल गर्ने, छलफल गर्ने, जे पनि हुन्छ भनिदिने परिपाटीले समस्या निम्त्याएको हो। परराष्ट्रका अधिकारीहरूसहित भएर ‘डेभलपमेन्ट कोअपरेसन’ मा संलग्न हुनुपर्छ। त्यसले काममा थप स्पष्टता ल्याउनेछ। काममा ‘टिमवर्क’ को मज्जा नै फरक हुन्छ। अहिले अस्ट्रेलियामा ‘केस’ परिरहेको छ। यस्ता मसिना विषयमा ध्यान दिन थालेपछि ठूला समस्या बिस्तारै समाधान हुनेछन्।

हामीले भाषा, धर्म, संस्कृति, पर्यटनलगायतका दर्जनौँ विषयमा छलफल राखेर सहकार्य अघि बढाउन सकिन्छ। यस्ता विषयमा ध्यान दिएर अघि बढ्न जरुरी छ। म यस्तै सानातिना काम गर्नेछु। हामीले आवश्यक परेमा दूतावास/नियोगहरूमा सहयोगका रूपमा अन्य देशले झैँ कूटनीतिक सेवा र अन्य सेवाका कर्मचारीलाई ‘मिक्स’ गर्न पनि सक्छौँ।

राजदूत फिर्ता बोलाउने या आफूले भनेअनुरूपको कसैलाई कतै पठाउने सोच बनाउनुभएको छ कि?

पहिला म सबैसँग अन्तरक्रिया गर्छु। सबै राजदूतले अहिलेसम्म गरेको कामको एकएक फाइल अध्ययन गर्छु। आवश्यक परे नजिक रहनेहरूबाट बुझ्छु। अनि निष्कर्षमा पुगेर प्रधानमन्त्रीज्यूसँग छलफल गर्छु। उहाँ पनि अलमलमा हुनुहुन्छ भने स्पष्ट पारेर फिर्ता बोलाउने र अर्को पठाउने भन्ने हुन्छ। सरकारसँग भन्दा अन्य दलसँग वा बाहिर बढी सम्पर्कमा रहनेका विषयमा पनि ध्यान दिनेछौँ। प्रतिशोध साध्ने वा सरकारमा जानेबित्तिकै निर्णय लिएर बोलाउने काम हुन्न। यी सबै विषयमा म अध्ययन गरेर मात्र निष्कर्षमा पुग्नेछु। किनकि म ब्रिफिङकै क्रममा छु। अध्ययन पनि गरिरहेकी छु।

विद्यमान राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ?

विद्यमान राजनीतिक अवस्था बिस्तारै स्थायित्वतर्फ अघि बढेको छ। आमनागरिकको चाहनामा परिवर्तन आएको छ। यो परिवर्तन पनि आमनागरिकले ल्याएका हुन्। त्यसमा गर्व गर्नुपर्छ। यसबाट पछि हट्ने होइन अग्रगमन तिर जानुपर्छ। अन्यथा प्राप्त उपलब्धि खेर जाने हुनाले हामीले सचेत भएर काम गर्नुपर्छ। विदेशीले के गर्छ हाेइन हामीले के गर्ने स्पष्ट हुनुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =