रामचन्द्र पौडेलको प्रश्न, संविधान जोगाउन सबै दल किन एक ठाउँमा नउभिने?

हिमाल प्रेस १० माघ २०७९ १५:०७
8
SHARES
रामचन्द्र पौडेलको प्रश्न, संविधान जोगाउन सबै दल किन एक ठाउँमा नउभिने?

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरुलाई एकताबद्ध भएर अघि बढन आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताएका हुन्।

पौडेलले संविधान जोगाउन पनि सबै एक ठाउँमा रहनुको विकल्प नरहेको भनाइ राखे। उनले भने, ‘यो संविधान ल्याउनका लागि देशभित्र र बाहिर सबैबाट षड्यन्त्र भइरहेको छ। यसलाई बचाउनका लागि सबै दलहरु एक ठाउँमा हुने कि नहुने? यसलाई जोगाउनका लागि एक ठाउँमा हुने कि नहुने?’

उनले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरु एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने तर्क गरे। उनले वर्तमान संविधानमाथि देशभित्र र बाहिरबाट समेत प्रहार भइरहेको भन्दै त्यसलाई जोगाउन पनि कांग्रेस र कम्युनिस्ट एक हुनैपर्ने बताए।

वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेस र कम्युनिस्ट एक ठाउँमा मिल्ने कि नमिल्ने? यी दुइटा ल्याएको यो व्यवस्था हो। त्यसकारण यतातिर पनि हामी गम्भीर हुन जरुरी छ।’ वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे।

उनले भने, ‘राजनीतिक अस्थिरताबाट देशलाई जोगाउनु छ। अराजतकताबाट देशलाई बचाउनु छ। विभिन्न राजनीतिक सत्ताको खेलबाट लोकतन्त्र जकडिएको अवस्थामा छ। यो जकडिएको लोकतन्त्रलाई कसरी जोगाएर सबल बनाएर अगाडि बढाउने। यसका लागि पनि सहमतिको खोजी गर्नुपर्छ कि पर्दैन?’

नेता पौडेलले हाम्रो सामाजिक, सांस्कृतिक स्खलन पनि डरलाग्दो रूपमा रहेको बताए। सामाजिक मूल्य र सांस्कृतिक मूल्यहरुको स्खलन त्पनि एउटा राष्ट्रिय संकटका रूपमा देखा परेको उनको भनाइ छ।

उनले भने, ‘यो संकटबाट मुक्त हुनका लागि एक हुने कि नहुने? नकारात्मक प्रवृत्तिहरु जुन किसिमले आइरहेका छन्। यसलाई हामीले कसरी सकारात्मक दिशा दिने, कसरी ती असन्तुष्टिहरुलाई ठिक ठाउँमा ल्याउने दायित्व पनि हाम्रो हो कि होइन?’

उनले यति बेला मुलुकमा राष्ट्रिय नेतृत्वको अभाव महसुस भइरहेको बताए। पौडेलले भने, ‘भनौँ कि नभनौँ– नेतृत्वको अभाव जस्तो अनुभव हुँदैछ, राष्ट्रिय नेतृत्वको अभाव।’ यस्तै राष्ट्रिय आत्मविश्वासको पनि अभाव देखिएको उनले बताए।

उनले भने, ‘यहाँ सानासाना कुरामा पनि हामी आत्मविश्वास छैन। आफूप्रति विश्वास छैन।’ सत्ताको राजनीतिको दबदबा र निष्ठाको राजनीति किनारा लाग्दै जाँदा राष्ट्रिय असन्तुष्टिहरू देखिएको उनको भनाइ छ। पौडेलले भने, ‘हामीले यतापट्टि निष्ठाको राजनीतिलाई जोगाउनका लागि पनि एकताको खोजी गर्ने कि नगर्ने? आज नेतृत्वले विश्वास गुमाएकै अवस्था हो। त्यसलाई हामीले महसुस गरौँ।’

प्रकाशित: १० माघ २०७९ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =