महिला सांसदले उठाए फोहोर व्यवस्थापन, शीतलहर र भ्रष्टाचारका मुद्दा

हिमाल प्रेस १० माघ २०७९ १४:०९
2
SHARE
महिला सांसदले उठाए फोहोर व्यवस्थापन, शीतलहर र भ्रष्टाचारका मुद्दा राष्ट्रियसभा बैठकतस्बिर- रासस

काठमाडौँ- राष्ट्रियसभाका महिला सांसदहरूले गुणस्तरहीन औषधि वितरणमा रोक लगाउन, सहरको फोहोर व्यवस्थापन गर्न, शीतलहर पीडितलाई राहत दिन र घुससहित पक्राउ परेका कर्मचारीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन्।

राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहीन औषधि उत्पादन र बिक्रीवितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

मंगलबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले बजारमा गुणस्तरहीन औषधिको उत्पादन र बिक्रीवितरण भइरहेको बताएकी हुन्। उनले यस्ता गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको परीक्षण गर्नुपर्नेमा जोड दिइन्। गुणस्तरहीन औषधि बिक्रीवितरण रोक्नुपर्ने उनको माग छ।

यस्तै राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकामाथि नराम्रो व्यवहारका घटना बढिरहेकाले उनीहरुमा सुरक्षा जोखिम बढेको बताइन्। उनले महिला र बालबालिकाको शान्तिसुरक्षामा ध्यान दिन सरकारसँग माग गरिन्।

अर्काी सदस्य तुलसाकुमारी दाहालले बन्चरेडाडाँमा फोहोर व्यवस्थापनको समस्या बल्झिन नदिन सरकारको ध्यानाकर्षण गराएकी छन्।

उनले भनिन्, ‘सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले समन्वय गरेर बन्चरे डाँडामा जुन फोहोरको व्यवस्थापन गरेको थियो। यो समस्या फेरि बल्झिने समस्या आइरहेको छ। त्यसकारण बेलैमा यसतर्फ सोचियोस् र हिजोजस्तो जनता र सुरक्षाकर्मीका बीचमा झडप नहोस्।’

अर्की सदस्य भवगती न्यौपानेले सरकारी अस्पतालको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले आमनागरिकले सरकारी अस्पतालमा बेड पाउन समेत नसक्ने भन्दै यसलाई सहज गराउनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘सरकारी अस्पतालमा बेड पाउन सकिएन। प्राइभेट अस्पतालमा उपचार गर्ने आर्थिक हैसियत छैन भन्ने समस्या छ। सरकारी अस्पतालमा वर्षौंदेखिको स्तरोन्नति हुन सकेको छैन। बेड उपलब्ध हुन सक्दैन। सस्तो सुलभ सहज रुपले देशले उपचार गर्नसक्छ भनेर गरिबले महसुस कहिले गर्ने? राज्यको ध्यान जाओस्।’

राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले देशभर शीतलहर चलेका कारण जनजीवन प्रभावित भएको भन्दै गरिब, निमुखा र जेष्ठ नागरिकलाई न्यानो कपडा दिन सरकारसँग माग गरिन्।
उनले भनिन्, ‘अहिले देशैभर शितलहर चलिरहेको छ। जाडोमा गरिब, निमुखा, ज्येष्ठ नागरिक, बालबच्चाहरु अत्यन्तै पीडित छन्। तिनीहरुलाई खाना, न्यानो लुगा कपडाको राहत दिन अध्यक्षज्युमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

अर्की सदस्य सुमित्रा बीसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन्। उनले भनिन्, ‘त्रिभुवन विमानस्थलमा भर्खरै कर्मचारीले आठ लाख र केही रक्सीका बोतलहरुसहित पक्राउ परेको कुराहरु समाचारमा आइराखेको छ। यस्ता भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्न चाहन्छु।’

प्रकाशित: १० माघ २०७९ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =