माओवादी र एकीकृत समाजवादीबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति

हिमाल प्रेस १० माघ २०७९ ८:०८
20
SHARES
माओवादी र एकीकृत समाजवादीबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकता गर्ने विषयमा नेताहरू सहमति नजिक पुगेका छन्। पार्टी एकता गर्ने विषयमा गठित कार्यदलमा दुई दलबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति जुटेको नेताहरूले बताएका छन्।

कार्यदलका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले दुई दलका नेताबीच पटकपटक भएको छलफलपछि पार्टीको नाम परिवर्तन गरेर नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने सहमतिमा पुगेको बताए।

उनले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने विषयमा सहमति नजिक पुगेका छौँ। पदीय जिम्मेवारीका विषयमा पछि छलफल हुने भए पनि अहिले सैद्धान्तिक रूपमा एकता प्रक्रिया अघि बढाउने सहमति भएको छ। हामी पार्टीको नाम परिवर्तन गर्ने तर समाजवाद उन्मुख नयाँ कम्युनिस्ट पार्टीको निर्माण गर्ने विषयमा निष्कर्षमा पुगेका छौँ।’

केही दिनमा एउटा खाका तयार गरेर कार्यदलले प्रतिवेदन बुझाउने र सोही आधारमा पार्टी एकता प्रक्रियाले मूर्तरुप पाउने उनको भनाइ छ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट वार्ता समितिका संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडेल लगातार छलफलमा छन्।

संसदमा माओवादी केन्द्रका ३२ र एकीकृत समाजवादीका १० सांसद छन्।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेपछि नेकपा एमाले र माओवादी केन्द्र दुई दल पुरानै अवस्थामा फर्किएका थिए। त्यसलगत्तै अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै माधवकुमार नेपाल समूह एमालेबाट अलग भयो। अनि नेपालकै अध्यक्षतामा नेकपा एकीकृत समाजवादी पार्टी बनेको हो।

नेकपाभित्र आन्तरिक शक्ति संघर्ष  हुँदा तत्कालीन नेकपाका अध्यक्ष ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल एउटै कित्तामा उभिएका थिए।

माओवादी र एकीकृत समाजवादी कांग्रेसहितको गठबन्धन गरेर स्थानीय, संघ र प्रदेशको निर्वाचनमा सहभागी भएको थियो। तर नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन। आफ्नै कार्यकर्ता पंक्तिबाट पार्टी नेतृत्वको आलोचना हुन थालेपछि नेकपा एसले जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग पार्टी एकताका लागि पहल गरिरहेको छ।

माओवादी केन्द्र पनि एकीकृत समाजवादीसँग पार्टी एकता गरेर नेकपा एमाले र समाजवादीबीच पार्टी एकताको ढोका बन्द गरेर एमालेलाई संसद्को पहिलो शक्ति बन्न नदिने दाउमा छ। अहिले नेकपा एमालेका ७९ सांसद छन्। एकीकृत समाजवादीले प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिए पनि आफूलाई विपक्षी दलका रूपमा उभ्याएको अवस्था छ।

नेता पोखरेलका अुनसार नेकपा एसबाहेक अन्य समाजवाद उन्मुख राजनीतिक दलसँग पनि पार्टी एकता र मोर्चाबन्दी गर्ने विषयमा छलफल जारी छ।

उनले भने, ‘हामीले जनता समाजवादी पार्टीसँग पनि छलफल गरेका छौँ तर पार्टी एकताभन्दा पनि मोर्चाबन्दी गरेर अघि जाने र एकता प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको छ। फेरि अर्को चरणको छलफलबाट एउटा निष्कर्षमा पुग्न सक्ने अवस्था बन्छ। नयाँ पार्टी निर्माण गर्ने विषयमा उहाँहरू पनि सकारात्मक हुनुहुन्छ।’

संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेको जसपाले दाहाल नेतृत्वको सरकार निर्माणमा सहयोग गरेको छ तर सरकारमा भने सहभागी भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =