राष्ट्रपति निर्वाचन तोकिएको समयमै गर्न कांग्रेसको ध्यानाकर्षण

हिमाल प्रेस ९ माघ २०७९ १२:३६
2
SHARE
राष्ट्रपति निर्वाचन तोकिएको समयमै गर्न कांग्रेसको ध्यानाकर्षण फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन निर्धारित मितिमै गर्न सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसले कानुनी समस्या समाधान गरी राष्ट्रपति निर्वाचन समयमै गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।

सभापति शेरबहादुर देउवा निवासमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। साथै पार्टीले अघि सारेका उम्मेदवारलाई जिताउने गरी लाग्न भ्रातृ संगठन परिचालन गर्ने निर्णय भएको छ।

‘समयमै निर्वाचन गर्न ध्यानाकर्षण गर्ने निर्णय भएको छ,’ बैठकपछि प्रवक्ता डा. महतले हिमाल प्रेससँग भने, ‘बैठकले राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ।’

राष्ट्रपति निर्वाचनमा उठाइने उम्मदेवारबारे भने निर्णय गरिएको छैन। यसबारे पछि टुंगो लगाइने प्रवक्ता महतले जानकारी दिए।

बैठकले पाँचवर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो।

संविधान र ऐनमा निर्वाचनबारे केही विरोधाभास देखिएकाले त्यसलाई हटाई समयमै राष्ट्रपतिको निर्वाचन हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई कांग्रेसले सचेत गराएको हो। यस्तै राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका लागि सम्पूर्ण तागत लगाउने निर्णय बैठकले गरेको छ।

संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदैछ। त्यो दिन नयाँ राष्ट्रपति हामीले पदबहाली गर्न मिल्ने गरी संविधान र कानुनअनुसार अर्को राष्ट्रपति पु¥याउने गरी निर्वाचन गर्नुपर्ने पक्षमा कांग्रेस छ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकताबद्ध हुन पार्टीका नेताहरुलाई निर्देशन दिएका थिए। नेपाली कांग्रेस सत्तारुढ नेकपा (माओवादी केन्द्र) को साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीतिमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =