प्रजातन्त्र दिवस विशेष

राजा त्रिभुवनको पहिलो अन्तर्वार्ता

'अब नेपालको उन्नति शीघ्र गतिले दगुर्छ'

सन्तोष खडेरी ७ फागुन २०७९ ८:०९
766
SHARES
राजा त्रिभुवनको पहिलो अन्तर्वार्ता

नेपालमा २००७ सालमा प्रजातन्त्र घोषणा हुनुअघि श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारमा खोपीका देवतासरह थिए। मुलुकको सम्पूर्ण कार्यकारी अधिकार श्री ३ महाराज अर्थात् राणा प्रधानमन्त्रीमा निहित थियो। राजा दरबारमा मात्रै सीमित थिए। राजामाथि राणाहरूको जासुसी पनि उत्तिकै थियो। त्यस्तो अवस्थामा आममानिस वा कुनै पनि सम्पादकसँग राजाको भेट हुनु असम्भवजस्तै थियो।

२००७ फागुन ७ गते प्रजातन्त्र घोषणा भयो। त्यसपछि तत्कालीन राजा त्रिभुवन राणाहरूको शताब्दी लामो शासनकालमा गुमेको आफ्नो शक्तिसहित सतहमा देखिए।

त्यतिखेर मुलुकमा अखबार गोरखापत्रमात्र थियो। जुन सातामा तीन दिन प्रकाशित हुन्थ्यो। साहित्यिक पत्रिकाका रूपमा शारदा मासिक थियो। त्यस्तै शिक्षा विभागले प्रकाशित गर्ने नेपाल शिक्षा मासिक थियो। उद्योग विभागबाट उद्योग मासिक प्रकाशित हुन्थ्यो।

प्रजातन्त्र घोषणा हुनु तीन दिनअघि काठमाडौँबाट ‘जागरण’ नामक साप्ताहिक पत्रिका प्रकाशन सुरु भएको थियो। सम्पादक थिए, लेखक साहित्यकार हृदयचन्द्रसिंह प्रधान। पत्रिकाको उपसम्पादकमा केदारनाथ न्यौपाने ‘राम’ थिए। सञ्चालकमा बालकृष्ण श्रेष्ठ थिए भने व्यवस्थापकमा ठाकुरलाल मानन्धर। प्रकाशक ‘जागरण’ सञ्चालक समिति सन्देश गृह नेपाल थियो। मुद्रक श्री बागीश्वर छापाखाना थियो।

प्रजातन्त्र घोषणा भएको अर्को दिन अर्थात् फागुन ८ मा सिद्धिचरण श्रेष्ठको सम्पादकत्वमा ‘आवाज’ नामक दैनिक पत्रिका प्रकाशन सुरु भएको थियो।

नेपालमा प्रजातन्त्र घोषणा भएको पाँच दिनपछि नारायणहिटी राजदरबारमा जागरणका सम्पादक हृदयचन्द्रसिंह प्रधान र राजा त्रिभुवनबीच भेट भएको थियो। सम्भवत : राजा त्रिभुवनको त्यो पहिलो अन्तर्वार्ता थियो। त्यसअघि राजा त्रिभुवनको अन्तर्वार्ता छापिएको कुनै जानकारी छैन। उक्त अन्तर्वार्तामा राजा त्रिभुवनसँग २००७ सालको प्रजातन्त्रपछिको अवस्थाबारे चर्चा गरिएको छ।

राजा त्रिभुवनले भेटघाटका लागि सम्पादक प्रधानलाई राजदरबारमा बोलाएका थिए। उनीहरूबीच करिब ३५ मिनेट कुराकानी भएको थियो। कुराकानी जागरणको वर्ष १, अंक ३, २०१८ साल फागुन २० गतेको अंकमा छापिएको थियो। सोही कुराकानी यहाँ प्रस्तुत छ :

राजा त्रिभुवन : एउटै सहरमा बसेर पनि तिमीजस्ता प्रसिद्ध लेखक र सम्पादकलाई चिन्न नपाउनु बडो अफसोसको कुरा हो। अफसोसभन्दा पनि मलाई लाज बढ्ता लागेको छ। तर तिम्रो व्यक्तित्वलाई त मैले राम्रै चिनेको छु। मुस्किलले प्राप्त गरेर तिम्रा पुस्तक पढेको छ। तिम्रो ‘शब्द-शुद्धि-विचार’ त अझ राम्रो पढेको छु।

हृदयचन्द्रसिंह प्रधान : अहिले मैले ‘सरकार’ भनेर सम्बोधन गरिरहेछु तापनि लेखापढीमा ‘तपाईं’ भन्ने व्यवहार चलाइरहेछु। सरकारलाई पनि सायद ‘तपाईं’ नै मीठो लाग्ला कि भन्ने अनुमान गर्दछु। यही व्यवहार मलाई बेस जस्तो लाग्यो। सरकार त्यति अगाडि बढिबक्सने जस्तो पनि देख्छु।

राजा त्रिभुवन : मलाई यो व्यवहार मीठो लागेको छ।

हृदयचन्द्रसिंह प्रधान : हर प्रकारको त्याग, तपस्या र बलिदानले हामी प्रजातन्त्रका प्रजा हुन पायौँ। त्यसको निम्ति हामीसित बधाई दिनलाई शब्द छैन।

राजा त्रिभुवन : तिम्रो कुरा सुन्दा मलाई लाज लाग्यो। त्यति तारिफयोग्य म छैन। तिमीहरूकै त्याग, तपस्या र जागृतिले मात्र सफल हुन सकेको हो। मलाई पनि तिमीहरूले नै घँचेटेका हौ।

हृदयचन्द्रसिंह प्रधान : प्रजातन्त्र शासन प्राप्त भएको समस्त श्रेय सरकारलाई मात्रै दिइरहेको होइन। यति त हामीले अवश्यै कबुल गर्नैपर्छ। यस कार्यमा सरकारको त्याग र तपस्या केही कम छैन। चाँडै प्रजा-राजा आएकोमा सरकारलाई पूरा श्रेय छ।

राजा त्रिभुवन : तिम्रो ‘शब्द-शुद्धि-विचार’ लाई अलि व्यंग्यजस्तो हानेर गो.प.मा एउटा लेखेको मलाई याद छ। शासन-पद्धति नराम्रो भएकाले नै मानिसको मनोवृत्ति बिग्रेको हो। तर खुसीको कुरा छ कि तिमीहरूको कुदरतले गर्दा अब म/तिमीजस्ता योग्य मानिसले पूरा कदर पाउने बेला आइरहेको छ। हामीलाई एउटा कोटको जरुरत पर्‍यो अथवा अरू मालको खाँचो भएमा हामी बालगिरी वा उधारो लिएर टाथ्र्यौँ। यस्तरी कुल्चिएको नेपालबाट तिमीहरू जस्ता लेखक, कवि हामीले पाइरहेछौँ। नत्र, लेखकहरूको पनि हामीले बालगिरी लिनुपर्ने थियो।

हृदयचन्द्रसिंह प्रधान : सरकारलाई यतिको शिष्ट, विनयी र विकास रूपमा पाउन सकूँला भन्ने मैले आशा गरेको थिइनँ। मैले ठानेको थिएँ, पिँजराको चराजस्तै कुँजिएको जीवन होला, धृष्टतालाई माफ राखिबक्सेला। अझ मैले ठानेको थिएँ, सरकारमा यतिको बौद्धिक विकास नपाइएला। सरकारको विनयले त मलाई लज्जितै बनायो।

राजा त्रिभुवन : म पिँंजरैमा जस्तै थिएँ। देशको स्थिति समयको माग र तिमीहरूले उठाएको हुनाले मात्र मैले सेवा गर्न सकेको हुँ।

हृदयचन्द्रसिंह प्रधान : अहिले मेरो व्यक्तिगत विषयमा मात्र कुरा भइरहेको छ। अब म सम्पादकको हैसियतमा राजनीतिक विषयमा सरकारसित केही प्रश्न गर्छु।

राजा त्रिभुवन : (हाँसेर) के सोध्न चाहेको भन।

हृदयचन्द्रसिंह प्रधान : प्रजातन्त्र पाए हामीले वास्तवमा के पायौँ वा पाउनेछौँ? हामीले हेर्दा त अहिलेसम्म हामीले केही पाएका छैनौँ। प्रधानमन्त्री मोहनशमशेरको पौष २४ गतेको घोषणा गो.प.मा निस्केको इस्तिहार नै अहिलेसम्म विधान मानिइन्छ भने हामीले नाउँ मात्रको प्रजातन्त्र पायौँ। त्यसबाट त बोल्न-चल्न त्यत्तिकै बाँधिएको छ। त्यसभित्र त हामीलाई कुनै हालतमा पनि रहन सक्ने धैर्य आउँदैन अथवा अर्को घोषणा चाँडै हुनेछ?

राजा त्रिभुवन : मन्त्रिमण्डलमा यस विषयलाई नै लिएर दुई दिन बहस चलिसकेको छ। त्यही घोषणा मान्य भए त कसरी जनराज्य पाएको भन्ने? मोहनशमशेरले आफ्नो घोषणामा लिएको म्यादभन्दा पनि चाँडै विधान तयार हुनेछ भन्ने मैले पूरा आशा गरेको छु। हामीले मात्र गरेर हुँदैन। तिमीहरूले पनि सहयोग दिनुपर्छ। किनभने एक हातले ताली बज्दैन।

हृदयचन्द्रसिंह प्रधान : कमसे कम लेखन, भाषण र प्रकाशन स्वतन्त्रताको मात्र भए पनि चाँडै विधान निस्कनुपर्छ। नत्र, कसरी हामीले बाटो लाग्ने! पौष २४ गतेको घोषणा र इस्तिहारमा चाँडै सुधार भएन भने अप्ठ्यारै हुन्छ। त्यो घोषणा र इस्तिहार मुताबिक चल्न त हामीलाई गाह्रै हुन्छ। सहयोगको कुरालाई म र मेरो ‘जागरण’को नीति त अन्तरिम सरकारलाई सहयोग दिएर नेपाललाई चाँडै उठाउनु नै हो। यस कारण ‘जागरण’ले सहयोगको निम्ति अपिल पनि गर्नेछ। कुनै प्रकारको असहयोग आन्दोलन ‘जागरण’ ले गर्ने छैन। तर ‘जागरण’ले कुनै दलको सरासर पक्षपातको रीति पनि अपनाउने छैन। सत्यको आधारमा यसको निम्ति सबै दल आफ्नो हुन्छ। यसले त्रुटि भेट्टायो भने अन्तरिम सरकारलाई समेत बाँकी राख्ने छैन। तर यसको आक्षेप सुधारतिर अग्रसर गराउनैसम्ममात्र सीमित हुन्छ।

राजा त्रिभुवन : तिम्रो भनाइ मलाई बडो मीठो लाग्यो। भूलको त आलोचना गरेर सावधानी गराउनैपर्छ। अस्ति घोषणाको दिन सम्पादकलाई बैठकमा नबोलाएकोमा जो तिमीले आलोचना गर्‍यौ, बहुत ठीक गर्‍यौ, मेरो भूल म राम्रै कबुल गर्छु।

हृदयचन्द्रसिंह प्रधान : सरकारबाट निर्माण गरिबक्सेको अन्तरिम सरकारले आखिरमा कस्तो सरकार बनाउँछ?

राजा त्रिभुवन : तिमीहरू सबैको सहयोग पाएर एउटै वैधानिक परिषद् झट्टै खुल्छ। सुन्दर तथा उत्तरदायी प्रजातन्त्र सरकारका निम्ति छिट्टै निर्वाचन गर्छ। अनि म सम्झन्छु- एउटा खासा जनताको सरकार निर्माण हुन्छ। राणा सरकारले १०४ वर्ष शासन चलाइसक्यो। वर्षको एकएक इन्ची मात्र उन्नति भएको भए पनि १०४ इन्ची नेपाल उठिसक्थ्यो। आशा छ, अब नेपालको उन्नति शीघ्र गतिले दगुर्छ। ३ बजे मैले एक जनालाई समय दिइराखेको छु। पछिपछि पनि भेट पाई नै रहनेछु भन्ने आशा गरेको छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =