१५औं महाधिवेशनमा शेखरलाई सभापतिको उम्मेदवार बनाउन धनराज प्रस्तावक, गगन समर्थक

हिमाल प्रेस ८ माघ २०७९ १४:५८
134
SHARES
१५औं महाधिवेशनमा शेखरलाई सभापतिको उम्मेदवार बनाउन धनराज प्रस्तावक, गगन समर्थक

काठमाडौँ– आन्तरिक किचलोमा रहेको नेपाली कांग्रेसको इतरसमूह १५ औं महाधिवेशनमा सभापति कसलाई उम्मेदवार बनाउने भन्ने छलफल गरेको छ। कांग्रेसका उपसभापति धनराज गुरुङले १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार डा.शेखर कोइरालालाई बनाउने प्रस्ताव गरेका छन्। महामन्त्री गगनकुमार थापा भने शेखरको उम्मेदवारीको समर्थक बस्ने भएका छन्।

आज आइतबार काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको उक्त समूहको बैठकमा महामन्त्री थापासँग सल्लाह गरेर उपसभापति गुरुङले कोइरालाई सभापतिको उम्मेदवारमा प्रस्ताव गरेका हुन्।

पार्टीको १४औं महाधिवेशनमा गुरुङ कोइराला समूहबाटै उपसभापति र थापा महामन्त्रीको उम्मेदवार भएर निर्वाचित भएका हुन्। पुस्तान्तरण र रुपान्तरणको मुद्दालाई मुख्य विषय बनाएर जाने विषयमा छलफल भएको उपसभापति गुरुङले जानकारी दिए।

‘पार्टीलाई रुपान्तरण र पुस्तान्तरण नगरी सुख छैन। कांग्रेसलाई बलियो बनाउनु भनेको देशलाई नै बलियो बनाउनु हो। हामी त्यसकै लागि तयारी गर्न लागिपरेका छौँ,’ गुरुङले भने, ‘अब हामीले १५औं महाधिवेशनमा सभापतिमा शेखर कोइरालालाई सभापतिको उम्मेदवारको रुपमा अघि सारेर अहिलेदेखि नै तयारी गरौँ। अहिले नै सहमति गरौँ एक ढिक्का भएर अघि बढौँ। शंका हुने गतिविधिमा कोही नलागौँ।’

उनले अहिले समूहमा भएकाहरूबीच मत भिन्नता नहुने गरी अघि बढ्न र नेतृत्व लिन शेखर कोइरालालाई आग्रह गरेका थिए। गुरुङले महामन्त्री थापाको नाम लिँदै भने,’अहिले हामी एक भएर अघि नबढे भोलि को कता को कता उभिने अवस्था नआउला भन्न सकिन्न कि के हो गगन जी?’

गगनले पनि गुरुङको भनाइमा समर्थन जनाउँदै भने, ‘हामी आजदेखि नै त्यसको तयारीमा लागौँ चित्त नबुझेका कुराहरूलाई सल्टाउँदै जाउँ भोलिको दिन हामीले सहज बनाउनु छ त्यसैले सबै एक हौँ।’

त्यसो त कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा शेखरले आफू पछि हटेर गगनलाई समर्थन गरेका थिए। त्यसबेला गगनलाई संसदीय दलको उम्मेदवार बन्न पनि गगनले आगामी महाधिवेशनमा शेखरलाई सहयोग गर्न सम्झौता गरेको नेताहरूले नै बताउँदै आएका छन्। कोइराला १४ औं महाधिवेशनमा पनि कांग्रेसको सभापतिको उम्मेदवार थिए। उनलाई शेरबहादुर देउवाले हराएका हुन्। आजको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको, विपक्षी गठबन्धन बनाएको लगायतको विषयमा छलफल भएको नेताहरूको भनाइ छ।

शेखर समूहमा छलफल : कांग्रेस अझै किन ‘कन्फ्युजन’मा?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =