उपमहानगरमै हात्ती आतंक : त्रासमा नागरिक, रमिते स्थानीय सरकार

विवेक विवश रेग्मी ८ माघ २०७९ ११:२१
204
SHARES
उपमहानगरमै हात्ती आतंक : त्रासमा नागरिक, रमिते स्थानीय सरकार फाइल तस्बिर

इटहरी- इटहरीमा जंगली हात्तीले आतंक मच्चाउन थालेका छन्। अहिले जंगली हात्तीको बथान दैनिक रूपमा इटहरी-२, शान्तिनगरस्थित मानव वस्तीमै आउने गर्छ।

भारतबाट आएका हात्ती मानव बस्तीमा पसेपछि आफूहरू रातभर जाग्राम बस्न बाध्य भएको स्थानीय रोशन अधिकारी बताउँछन्। उनका अनुसार छावासहित दर्जन बढीको संख्यामा आएका हात्ती लगातार तीन दिनदेखि मानव वस्ती आइरहेका छन्।

‘साँझ ७ बजेदेखि नै हात्तीको बथान आउँछ, हामी रातभर जाग्राम बसेर हात्ती खेदाउन थाले पनि दैनिकी उस्तै छ,’ अधिकारीले भने, ‘बिहान ४ बजेसम्म ठाउँठाउँमा आगो बालेर हो–हल्ला गरेर हात्ती धपाउने प्रयास गरिरहेका छौँ।’

स्थानीय सरकार मूकदर्शक बन्दा आफूहरू अन्धकारमा रातभर जाग्राम बस्न बाध्य भएको उनको गुनासो छ।

‘वडा क्षेत्रभित्रका अधिकांश बत्तीहरू बल्दैनन्, बिजुलीको पोलमा तारमात्रै झुण्डिएका छन्,’ उनले भने, ‘हामीले वडा कार्यालय र प्रहरी प्रशासनमा जानकारी गराएका छौँ, दैनिक हात्ती मानव वस्तीमा आउँदा समस्या भएको छ।’

इटहरी क्षेत्रमा अधिकांश ठाउँमा बिजुलीको पोलमा बत्ती नबल्ने हुँदा अन्धकार हुँदै आएको छ, जसकारण रातबिहान हिँडडुल गर्न पनि समस्या हुने अधिकारीको भनाइ छ।

खासगरी शान्तिनगर सामुदायिक वन क्षेत्रमा पर्ने चारकोसे जंगलबाट हात्तीको बथान आउने उनले बताए। उनका अनुसार यो क्षेत्रमा पर्ने पानीपयादेखि पीपलचौकसम्म २० वटा बत्ती छ। जसमध्ये कुनै बल्दैनन्।

‘यसअघि हामीले आफ्नै खर्चमा लगाएका थियौँ, वडाका अन्य क्षेत्रमा पनि बत्ती बल्दैन,’ उनले भने, ‘जंगलको क्षेत्रमा त्रास छ, बिहान कलेज, स्कुल जान विद्यार्थीहरूलाई समस्या छ, अहिले जाडोको समय भएकाले हुस्सु पनि लाग्ने हुँदा झनै समस्या हुन्छ।’

स्थानीय ध्रुव नेपालले रातको १० बजेसम्म एक सय बढी मानिसहरू भेला भएर रुँग्ने काम भइरहेको बताए। ‘रात छिप्पिँदै गएपछि घरैपिच्छेका युवा निस्केर आगो बाल्दै हात्ती खेदाइरहेका छौँ,’ नेपालले भने, ‘हामीले रातभर रुँगेर अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन, भोलिका दिनमा क्षति हुन नदिनका लागि प्रशासनसँग सहयोग माग गरेका छौँ।’

यता इटहरी २ का वडाध्यक्ष माधव कोइरालाले हात्तीको बथान दैनिक आएकाले स्थानीयको ज्यान जोखिममा रहेको बताए। ‘हात्तीले आतंक नै मच्चाइरहेको छ, भगाउने कुरामा वन समितिसँग पनि सहकार्य भइरहेको छ,’ कोइरालाले भने, ‘मेयरज्यूसँग पनि भेटेर यस विषयमा कुरा गर्ने तयारी भइरहेको छ।’

उनले पोलमा बत्ती लगाउने कुरामा आफू सकारात्मक भए पनि उपमहानगरले खरिद गरेको बत्ती प्रक्रियामा नआएको बताए।

जंगली हात्तीको बथान सुनसरीको बराहक्षेत्र, चतरा, नडाहा, चक्रघट्टी, धरान लगायतका स्थानका मानव बस्तीमा प्रवेश गरी आतंक मच्चाएको थियो।

प्रकाशित: ८ माघ २०७९ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =