नवौँ सभामुख बने देवराज घिमिरे

हिमाल प्रेस ५ माघ २०७९ १५:३६
4
SHARES
नवौँ सभामुख बने देवराज घिमिरे संसद भवन नयाँ बानेश्वरमा बिहीबार प्रतिनिधिसभाका सभामुख पदका लागि उम्मेदवार देवराज घिमिरे मतदान गर्दै। तस्बिर : रासस

काठमाडौँ- देवराज घिमिरे नेपालको नवौँ सभामुख निर्वाचित भएका छन्। प्रतिनिधिसभामा बिहीबार भएको मतदानमा उनी निर्वाचित भएका हुन्। बैठकमा उपस्थित २६८ सांसदमध्ये बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित भएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरेका हुन्।

घिमिरेका क्षमा १६७ मत आएको छ भने कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गरेकी थिइन्। एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो।

पहिलो आमनिर्वाचन २०१५ सालदेखि २०७९ सम्मको संसद्‌मा नौजना सभामुख भएका छन्। तीमध्ये नेपाली कांग्रेसका चार र वामपन्थी दलका तर्फबाट पाँचजना सभामुख भएका छन्।

२०१५ सालमा सम्पन्न आमनिर्वाचनपछि पहिलो सभामुख कांग्रेस नेता कृष्णप्रसाद भट्टराई भए। २०४८ मा दमननाथ ढुंगाना, २०५१ मा रामचन्द्र पौडेल, २०५६ मा तारानाथ रानाभाट सभामुख भएका थिए। यी चारै जना कांग्रेसबाट सभामुख भएका हुन्।

२०६४ को संविधानसभा निर्वाचनपछि सुवास नेम्बाङ संविधानसभा अध्यक्ष र सभामुख दुवैको भूमिकामा थिए। उनी एमालेका हुन् भने २०७२ सालमा ओनसरी घर्ती, २०७४ कृष्णबहादुर महरा र २०७५ मा अग्निप्रसाद सापकोटा सभामुख भएका छन्। घर्ती, महरा र सापकोटा माओवादीतर्फबाट सभामुख भएका हुन्।

यसैगरी प्रतिनिधिसभा सभामुखका लागि दोस्रोपटक निर्वाचन भएको हो। २०५१ सालमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सीपी मैनालीबीच प्रतिस्पर्धा हुँदा पौडेल निर्वाचित भएका थिए। त्यसअघि २०१५ सालमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका थिए। त्यसपछिको संसद्‌मा पनि दलीय सहमतिका आधारमा सभामुख निर्विरोध निर्वाचित हुँदै आएका थिए।

घिमिरेको राजनीतिक यात्रा

२०१३ जेठ १३ मा ताप्लेजुङको सिकैंचामा जन्मिएका घिमिरे स्नातकसम्म अध्ययन गरेका छन्। २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट घिमिरे नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा आएका हुन्। २०३२ मा उनी कोअर्डिनेसन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भए। २०४७ सालमा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चुनिएका थिए। उनको संसदीय यात्रा भने २०५६ सालमा सुरु भएको हो।

२०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उनी लामो समय संसदीय राजनीतिमा देखिएनन्। हाल नेकपा एमाले स्थायी कमिटी सदस्य रहेका घिमिरे प्रदेश १ को इन्चार्जसमेत हुन्। १२ वर्ष भूमिगत राजनीति गरेको उनी पटकपटक हिरासतमा बसेका छन्। ४ मंसिरमा भएको निर्वाचनमा घिमिरे झापा–२ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

घिमिरे २०५३ मा भएको महाकाली सन्धि हुँदा एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य थिए। सो अवस्थामा उनको मत निर्णायक बनेको थियो। एमालेको तत्कालीन मेची अञ्चल इन्चार्ज रहेका घिमिरे ०५१ सालदेखि झापामा सक्रिय पार्टी राजनीतिमा थिए। ०३२ सालदेखि नै तत्कालीन कोर्डिनेशन केन्द्रका सदस्य रहेका उनी ०३६ सालदेखि मालेहुँदै एमालेमा क्रियाशील रहँदै आएका थिए।

 

प्रकाशित: ५ माघ २०७९ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =