दुर्घटनाग्रस्त विमानको अध्ययनका लागि फ्रान्सेली टोली पोखरामा

हिमाल प्रेस ४ माघ २०७९ १७:५२
8
SHARES
दुर्घटनाग्रस्त विमानको अध्ययनका लागि फ्रान्सेली टोली पोखरामा दुर्घटनाग्रस्त विमानको अवलोकन गर्दै फ्रान्सबाट आएको विज्ञ टोली। तस्बिर- विजय उत्सव/हिमाल प्रेस

पोखरा– यति एअरलाइन्सको जहाज दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली पोखरा आएको छ। टोलीले बुधबारदेखि नै घटनास्थल पुगेर अध्ययनसमेत थालेको छ।

टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै सरोकावालासँग भेटी दुर्घटनाको कारण पत्ता लगाउने जनाइएको छ। एटिआर विमान निर्माता कम्पनीबाटै पोखरा आएको टोलीले बुधबार दिउँसोदेखि नै अध्ययन थालेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

टोलीमा ९ सदस्य छन्। नेपालमा पहिलो पटक यसरी एटिआर विमान दुर्घटना भएकोले निर्माण कम्पनीले नै चासो दिएको हो। फ्रान्सेली विज्ञ टोलीले दुर्घटनास्थल सेती खोंच आसपासको अध्ययन गर्नुका साथै प्रत्यक्षदर्शी र सरोकारवालासँग कुराकानी गर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। टोलीले अध्ययनका लागि सुविधासम्पन्न आवश्यक सामग्री बोकेको छ।

नेपाल सरकारले पनि दुर्घटनाको छानविन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ। समितिलाई अध्ययनका ४५ दिनको समय दिइएको छ। सो टोलीले पनि पोखरामै आएर अध्ययन थालेको छ। दुर्घटना जाँज आयोगको सदस्यमा हवाई विज्ञ उपरथी दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, हवाई मर्मतविज्ञ एकराज जंग थापा र सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

चालक दलका ४ सहित ७२ जना सवार विमान गएको आइतबार बिहान सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो। त्यसमध्ये १५ जना विदेशी नागरिक र अन्य नेपाली थिए। दुर्घटनामा परेकामध्ये हालसम्म् ७१ जनाको शव फेला परेको छ। १ जनाको खोजी कार्य मंगलबार पनि भएको प्रहरी प्रवक्ता खड्काले बताए।

ज्यान गुमाएकामध्ये २२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि परिवारका सदस्य तथा आफन्तलाई बुझाइएको छ। अन्यको शव परीक्षणको लागि काठमाडौं पठाइएको थियो।

सन् २००७ सालमा निर्मित एन एएनसी कल साइनको एटिआर७२-५०० सिरिजको दुर्घटनामा परेको यति एअरको सो जहाजले १५ वर्षदेखि उडान भर्दै आएको थियो।

प्रकाशित: ४ माघ २०७९ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =